मनीषा कोइरालाको जीवनः ‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मनीषा कोइरालाको जीवनः ‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’

सारांश

  • पाँच वर्ष बितिसके ।
  • क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् ।
  • क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन ।

पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ ।

अाजको अन्नपूर्णमा खबर छ-यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ- भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ ।

र, यस्तो बेलामा क्यान्सरले मलार्ई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्‍याइए पनि अकल्पनीय पीडा भोगेँ मैले । त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ ।

अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने ? यस्तो सपना देख्न थालेँ ।

उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो । मलार्ई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो ।

मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्‍यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्‍यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए ।

अन्ततः एक लामो संघर्षपछि जब म क्यान्सरबाट पूर्णतः मुक्त भएँ, मैले आफूलाई सकारात्मक दृष्टिकोणबाट बाँधेर राखेँ । म जीवनलाई सकारात्मक आँखाबाट हेर्न थालें । दुई कुरामा म आफूलाइ धेरै भाग्यमानी मान्छु । मैले मद्दत माग्न सिकेँ । लिसा रेले भनिन्, ‘मनीषा, मद्दत माग । मान्छे छन् । मद्दत गर्छन् ।’

जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ-आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो।

नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ ।

आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ ।

क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ ।

क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ ।

जब म कुनै उदास मुहार देख्छु, उसको पीडा महसुस गर्ने कोसिस गर्छु । उसको निम्ति कुनै तरिकाले सहयोगी हुन सके मलाई खुसी लाग्छ । कुनै दिन मलाई कसैले सहयोग गरेका थिए, आज म कसैलाई सहयोग गर्न सके आफूलाई सार्थक महसुस गर्छु । आजभोलि म कुनै पनि कुराप्रति झ्वाट्टै प्रतिक्रिया व्यक्त गर्दिनँ, जसरी क्यान्सर लाग्नुअघि गर्थें । यो रोगले मलाई दुःख मात्र दिएको छैन, धेरै कुरा सिकाएको पनि छ ।

क्यान्सरको उपचार गराइरहेका मेरा साथीहरू वा भर्खरै आफ्नो शरीरमा क्यान्सर छ भन्ने सूचना पाएका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति जीवन सकिएको छैन । हामीले जीवनलाई अलि फरक दृष्टि राखेर हेर्नुपर्ने नयाँ स्थिति उत्पन्न भएको छ । हरेक मान्छेका निम्ति जीवन एक ठूलो अवसर हो । तर, जीवन जस्तोसुकै भए पनि एक दिन यो समाप्त हुनेछ । ढिलो वा चाँडो । क्यान्सर लागेर वा नलागेर । समाप्त अवश्य हुनेछ । त्यसैले मृत्युको भयलाई सकेसम्म टाढा राख्नुपर्छ । मलाई थाहा छ, यो लेख्न सजिलो छ, भन्न सजिलो तर गर्न गाह्रो छ । तर, मलाई यो पनि थाहा छ, हामीले कोसिस गरे, मनोभावलाई सकारात्मक राखे भयलाई टाढा राखेर पनि बाँच्न सकिन्छ । कोसिस गर्न त पक्कै सकिन्छ । हमेसा नसकिएला, तर सकिन्छ । रोग हाम्रो हातमा छैन तर रोगप्रति हामीले कसरी आफ्नो प्रतिक्रिया जनाउने भन्ने कुराचाहिँ हाम्रै हातमा छ । हामी आफ्नो ध्यान र कर्म सकारात्मक कुराहरूपट्टि लगाउन सक्छौं । मैले त्यसै गरें । सकारात्मक सोचमा हामीले अनुमान गरेभन्दा धेरै शक्ति छ । मैले जीवनका स-साना कुराहरूबाट खुसी लिन सिकेँ । मेरो जीवनमा त्यस्ता उपलब्धिको कमी छैन, जसलाई मान्छेहरू ठूला उपलब्धि भन्छन् । आज जोखेर हेर्ने हो भने, म भन्न सक्दिनँ, तराजु कतापट्टि भारी हुनेछ भनेर । क्यान्सर मेरो यस्तो शिक्षक बन्यो, जसबाट मैले जीवनका पाठहरू सिकें । मेरो भौतिक शरीर, मेरो मानसिक शरीर र मेरो भावनात्मक शरीर, तीनै थरीको मद्दतले म क्यान्सर रोगबाट मुक्त भएँ ।

आजकाल म क्यान्सर रोगबारे सचेतना अभियानहरूमा संलग्न छु । सबैलाई भन्न चाहन्छु कि उपचारभन्दा रोकथाम निको हो । बेलैमा परीक्षण गराए क्यान्सरबाट बच्न सजिलो हुन्छ । पाठेघरको क्यान्सर विषयमा सचेतना मात्र भए, धेरै कुरा नियन्त्रण हुन सक्छ ।

म आफ्नो जीवनप्रति धेरै अनुग्रहित छु । मेरो जीवनले मलाई आकाश छुने शिखर र अध्यारा खाडलहरू, दलदलहरू देखायो । मलाई सम्मान र अपमान दुवै यथेष्ठ दियो । म आफ्नो जीवनलाई समग्रमा अँगालो मार्न चाहन्छु । म मेरा सफलता र असफलता दुवैलाई अँगालो मार्न चाहन्छु । दुवैप्रति म कृतज्ञ छु । मलाई लाग्छ मैले जीवनमा शिखरमा हुँदा जति सिकें, खाल्डोमा भासिँदा त्योभन्दा धेरै सिकें ।

म आफ्नो परिवार, साथीहरू, शुभेच्छुकहरूप्रति कृतज्ञ छु, जो मैले जीवन गुमाउन लाग्दा मेरो साथ खडा रहे, जसले मेरो जीवन फर्काउन मलाई साथ दिए । क्यान्सरपछिको, मेरो जीवन तपाईंहरूको उदारताको परिणाम हो । क्यान्सर रोगबारे सचेतना जगाउने अभियानहरूमा मेरो साथ रहने छ । म सबैप्रति आभारी छु । क्यान्सरप्रति पनि, जो मेरो जीवनमा एक कठोर शिक्षक भएर आयो । केही पाठ सिकायो । र, गयो । आखिर जीवन पनि त्यही होइन र ? त्यो आउँछ अनि जान्छ । तर, त्यसलाई सकारात्मक आँखा राखेर हेर्न सके धेरै फरक पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री किरातीले भने : गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो
मन्त्री किरातीले भने : गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ हो
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
How come Women Are Looking For Marriage Lovers
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल
राज्य सञ्चालनको लागि कडा सरकारको आवश्यक : नेता नेपाल
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?