मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३० पटक हेरिएको
Shares
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’

सारांश

  • काठमाडौं, ७ फागुन – यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर ।
  • यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने ।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, ७ फागुन – यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने । आजको नागरिक दैनिकमा खबर छ ।

उनले मन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, ‘म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो । संगठित गिरोह धेरै छन् भनियो । मैले सोधें– कस्तो संगठित गिरोह ? जवाफ आयो– क्रसरवालातिर पनि हेर्नुहोला ।

पुराना गाडीवालातिर पनि हेर्नुहोला ।’उनले त्यसको जवाफ मन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रममा शनिबार साँझ सम्बोधन गर्दै दिए, ‘लालबाबु पण्डित आएको छ । हिम्मत गरेर आएको छ ।’ उनले थपे, ‘भेडाको नेता सिंह बनाइदियो भने भेडा पनि सिंह हुन्छ । सिंहको नेतृत्व भेडालाई दियो भने त्यो सिंह पनि भेडा हुन्छ । नेतृत्व कायल र डरपोक भयो भने उसले दिनमात्र बिताउँछ, परिवर्तन गर्दैन । हिजो के भयो, मलाई थाहा छैन । अब त्यस्तो हुनेछैन । जसले वातावरण बिगार्छ त्यसलाई दण्डित गर्नुपर्छ ।’

मन्त्री पण्डितले नेपाल वातावरण पत्रकार समूह र युएसएडको संयुक्त आयोजनाको ‘पानी अभियान शुभारम्भ’  कार्यक्रममा आफ्नो प्रतिबद्धता र अभियान सुनाएका हुन् । उनले आफूले आइतबारबाट मन्त्रालयको जिम्मेवारी सम्हालेर ब्रिफिङ लिने र नीतिगत र अन्तर्राष्ट्रिय प्रतिबद्धताको अध्ययन गर्ने बताएका थिए ।

उनले वागमती प्रदूषणको उदाहरण दिँदै पोलिथिनको स्रोत बन्द गर्ने काममा आफूलाई सहयोग गर्न आग्रह गरे । पोलिथिनले वातावरण बिगार्न मद्दत गरिरहेको छ । ती स्रोतलाई बन्द गर्नका निम्ति मलाई सहयोग र साथ दिनुहोस्’, पण्डितले भने ।

उनले आफू प्रशासनमन्त्री भएपछिको अनुभव सुनाउन पनि छुटाएनन्, ‘म पहिला सामान्य प्रशासन मन्त्रालय पुग्दा मन्त्रीलाई त कुर्सीबाट थुतेर बाहिर लगेर जस्तोसुकै दण्ड दिन्छन् है राष्ट्रसेवकले भनी केहीले सुनाएका थिए ।’ उनले त्यसको जवाफ अहिले जस्तैगरी दिएका थिए, ‘लालुबाबु पण्डित आएको छ ।  कोही त्यस्तरी हिम्मत गर्ने भेटिँदैन । यसपटक वातावरण सुधार्न आएको छ । सबैको आशा विश्वास गरेर आएको छ । हिम्मत गरेर आएको छ ।’

सर्वसाधारणको जिज्ञासा पण्डितले सुनाए, ‘काठमाडौंमा कतिदिन पछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ ।’ उनले काठमाडौंलाई बुझेको पनि ४२ वर्ष भएछ । पण्डित भन्छन्, ‘४२ वर्षअघिदेखि म काठमाडौं देखिरहेको छु ।’उनले विगतका शासकले सबै कुरा काठमाडौंमा केन्द्रीकृत गरेर सबैको आकर्षण यही बनाइदिएको उल्लेख गर्दै भने, ‘काठमाडौंबाहेक अरु होइन भनेर जुन इतिहास बनाइयो त्यसको दीर्घकालीन असर यहाँ देखिएको छ ।

काठमाडौंसहित मुलुकका अन्य सहरलाई पनि कसरी छिटो मास्क लगाउनुनपर्ने स्थितिमा पु¥याउन सकिन्छ भन्नेबारे विस्तृत योजना बनाउने उनको प्रतिबद्धता छ । पण्डितले भने, ‘किनभने काठमाडौंका कतिपय ठाउँमा सुत्ने बेलामा मात्र मास्क निकाल्ने स्थिति छ ।’

त्यसो त उनले आफूलाई व्यंग्य गरेर सुनाएको कविता वाचन गर्न पनि छुटाएनन्, भने, ‘म एक वर्षअघि कन्या क्याम्पसमा गएको थिएँ । मलाई एउटा व्यङग्यात्मक कविता सुनाइयो । त्यसको भाव थियो– हामी त युवती, युवतीले पनि मुख देखाउन नहुने । युवकको पनि मुख हेर्न नसकिने, कि मास्क कि हेलमेट । जिन्दगीमा हाम्रो कसरी मिलन हुन्छ ? हामी कसरी अगाडि बढ्छौं, बताइदिनुहोस् त मन्त्रीज्यू । मैले यो कुरा बिर्सिएकै छैन । एकले अर्काको अनुहार देख्न पाउन वातावरण छिटो बनाउने मेरो लक्ष्य छ । यहाँहरुको साथसहयोग चाहिन्छ ।’

कार्यक्रममा वातावरणमन्त्री पण्डित र युएसएडका मिसन प्रमुख पिटर ए मलनाकले नेपाल वातावरण पत्रकार समूहले तयार पारेको पहिलो भिडियो पत्रिका पानीको शुभारम्भ गरेका थिए । यसैगरी पूर्वसिँचाइमन्त्री सञ्जय गौतमले मल्टिमिडिया न्युज पोर्टल डब्लुडब्लुडब्लु डट हाकाहाकी डट ओआरजी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव  बेल्बासेले रेडियो कार्यक्रम पानीको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Pandit ji aba dherai na bolaun kaam garera dekhaune tira laagnus mero shubhakamna xa.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?