मापदण्ड विपरितको होटल उद्घाटनमा गएनन् प्रधानमन्त्री ओली
सारांश
- नक्सा पास नगरिन निर्माण भएको पोखरा लेकसाइडको होटलको पूर्वनिर्धारित उद्घाटन प्रधानमन्त्री केपी ओलीले छलेका छन् ।
- स्विस इन्टरनेसनल होटल सरोवरमा पुगे पनि केही बेर आराम गरी उद्घाटनबिना नै प्रधानमन्त्री फर्किएका हुन् ।
- पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा गठित प्रतिष्ठान, स्काउटको सम्मेलन र उक्त होटल उदघाटनका लागि प्रम ओली शनिबार पोखरा आइपुगेका थिए ।
नक्सा पास नगरिन निर्माण भएको पोखरा लेकसाइडको होटलको पूर्वनिर्धारित उद्घाटन प्रधानमन्त्री केपी ओलीले छलेका छन् । स्विस इन्टरनेसनल होटल सरोवरमा पुगे पनि केही बेर आराम गरी उद्घाटनबिना नै प्रधानमन्त्री फर्किएका हुन् । पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा गठित प्रतिष्ठान, स्काउटको सम्मेलन र उक्त होटल उदघाटनका लागि प्रम ओली शनिबार पोखरा आइपुगेका थिए । बाँकी दुई कार्यक्रममा प्रमुख अतिथि बनेका ओलीले होटल उद्घाटन भने गरेनन् ।
प्रधानमन्त्रीले होटल उद्घाटन गर्ने कार्यक्रमसहितको निम्तो बाँडि सकिएको थियो । त्यस्तो निम्तो देखिएपछि राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र पत्रकारहरुले मापदण्ड विपरीतको होटल प्रधानमन्त्रीबाट उद्घाटन गरी चोख्याउन लागिएको भन्दै आलोचना गरेका थिए । आलोचनाको सूचना नेकपाका नेताहरुले गराएपछि प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रम रद्द गरेका हुन् ।
उक्त होटल उद्घाटन बिहान साढे १० बजेका लागि तय गरिएको थियो । होटल उद्घाटनका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा लगायत अतिथिहरु मञ्चमा धेरैबेर कुर्दा पनि प्रधानमन्त्री गएनन् । समारोह कक्षमा उपस्थित थुप्रै अतिथि र सहभागीहरु पनि खाना खाएर फर्किए । स्काउटको कार्यक्रममा जान सरोवर होटलको कोठामा प्रधानमन्त्री ओलीले पोसाक फेरे । स्काउटको पोसाक लगाएर निस्किए ।
पोखरा महानगरपालिकाभित्र साढे २ तलाको घर तथा भवनमात्रै निर्माण गर्न पाइने मापदण्ड थियो । उक्त मापदण्ड परिवर्तन गर्न महानगरपालिकाले गठन गरेको समितिका संयोजक प्राडा इन्जिनियर भरत पहारी नै होटल सरोवरका सञ्चालक हुन् ।
नयाँ मापदण्ड आउनुअघि नै उनको होटल ९ तला अग्लो बनिसकेको थियो । साढे २ तलाभन्दा बेसीको नक्सा महानगरपालिकाले पास नगर्ने बेलामै उक्त होटल बनेको हो । मापदण्ड विपरीतको होटल बनाउनेलाई नै मापदण्ड निर्धारण समितिको संयोजक बनाइएको भनेर मेयर मानबहादुर जिसीको आलोचना हुँदै आएको छ । पहारीको समितिले गरेको सिफारिस अनुसार अहिले पोखरा महानगरपालिकामा अग्ला घर तथा भवन बनाउन पाइने भने भएको छ । तर उचाइअनुसार दायाँबायाँ खाली जमिन छाड्नुपर्ने नियम छ ।
नयाँ मापदण्डअनुसार पनि होटल सरोवरले दायाबायाँ छाडेको जमिन पुग्दैन । पोखरा ६ लेकसाइडका वडाध्यक्ष जगत पहारीले होटल सरोवरको मापदण्ड पूरा नभएको पुष्टि गरे । सरोवरलगायत मापदण्डविपरीत बनेका थुप्रै होटललाई करको दायरामा ल्याउन महानगरपालिकाले सूचना प्रकाशित गरिसकेको छ । अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया