एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!

सारांश

  • काठमाडौं, २० फागुन – एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् ।
  • संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् ।
  • आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

काठमाडौं, २० फागुन – एमाले र माओवादीले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल केन्द्रित गरेका छन् । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना कस्तो बनाउने भन्ने अनौपचारिक छलफलमा उनीहरू व्यस्त छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

एकीकृत पार्टीको केन्द्रीय कमिटीको आकार १ सय ५० कि ३ सय ५० सदस्यीय भन्नेमा छलफल चलिरहेको कार्यदलका एक सदस्यले बताए । १ सय ५० सदस्यीय नभए अहिलेको एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या थपेर ३ सय ५० सदस्य पुर्‍याउने तर्कमाथि छलफल भइरहेको उनले बताए ।

२ सय ६ लाई ६० प्रतिशत मान्दा माओवादीका तर्फबाट १३७ जना नेता केन्द्रीय कमिटीमा थपिन सक्छन् । २५ फागुनभित्र एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदनसँगै अन्तरिम विधान र सांगठनिक स्वरूपको प्रारम्भिक खाका तयार हुनेगरी दुईवटा छुट्टाछुट्टै कार्यदलले गृहकार्य गरिरहेका छन् ।

राजनीतिक र सांगठनिक खाकापछि एकता घोषणासभा
७ फागुनमा पार्टी एकीकरणका लागि दुई पार्टीबीच भएको सातबुँदे सहमतिअनुसार १० फागुनमा दुई कार्यदल गठन भएका थिए । राजनीतिक कार्यदलमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेल छन् । यस्तै, अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य छन् । दुवै कार्यदलले दुई चरणको बैठक सकाएर उपसमितिहरूमार्फत् अनौपचारिक गृहकार्य गरिरहेका छन् । यी दुवै कार्यदलले प्रस्ट खाका बनाइसकेपछि पार्टी एकता संयोजन समितिबाट अनुमोदन गरी एकता घोषणासभाको मिति तय गरिने तयारी छ । नेताहरूले २५ फागुनभित्र खाका तयार गरी ढिलोमा चैतको पहिलो साताभित्र एकता घोषणासभा गरिसक्ने बताउँदै आएका छन् ।

केन्द्रीय कमिटीमा ६०/४० अनुपात
दुवै पार्टीका अध्यक्ष सुरुमा एकीकृत पार्टीको कमिटीको संख्या दुई अंकको राख्न सकारात्मक थिए । तर, माओवादीको स्थायी समिति सदस्यको संख्या नै ८३ सदस्यीय भएकाले त्यस्तो संरचना सम्भव नभएको निष्कर्षमा दुवै पार्टीका नेता पुगेका छन् । जबकि एमालेको स्थायी समिति पदेन–१, आमन्त्रित–३ सहित २६ सदस्यीय मात्र छ भने पोलिटब्युरो ६६ सदस्यीय छ । त्यसैले दुवैलाई मिलाएर केन्द्रीय कमिटीको आकार दुई अंकमा सिमित गर्न धेरै जटिलता देखिएको कार्यदलको निष्कर्ष छ । ‘यही जटिलताका कारण अब १ सय ५० सदस्यीयसम्म होइन, एमालेका सबै केन्द्रीय सदस्यहरूको घटुवा नहुने गरी माओवादीबाट बढीमा ४० प्रतिशत थपेर ३ सय ५० सदस्यीयसम्मको केन्द्रीय कमिटी बनाउने मुडमा धेरै नेता देखिनुभएको छ’, एक नेताले भने, ‘दुवै पार्टीका नेता घटुवा हुँदा असन्तुष्ट भएर अन्त कतै जाने वा निष्क्रिय बन्ने स्थिति नबनोस् भन्नेतर्फ कार्यदलका नेताहरूको विशेष ध्यान गएको छ ।’ यद्यपि, ओली र प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने सकभर १ सय ५० जनाको केन्द्रीय कमिटी बनाउने पक्षमा छन् ।

केन्द्रीय कमिटीको आकारपछि स्थायी र पोलिटब्युरो
केन्द्रीय कमिटीको आकारबारे अनौपचारिक तहको छलफलमै ठोस प्रगति नभइसकेकाले कार्यदलमा स्थायी समिति र पोलिटब्युरोको आकारको विषयले प्रवेश नै पाएको छैन । ‘अहिले हामी मस्यौदा कस्तो बनाउने छलफलमै रहेकाले कुनै निक्र्यौलमा पुगिसकेका छैनौँ’, कार्यदलका सदस्य एमाले सचिव गोकर्ण विष्टले भने । ३ सय ५० जनासम्मको केन्द्रीय कमिटी बन्दा त्यसको एक तिहाइ अर्थात् १ सय सदस्यीयभन्दा केही ठूलो पोलिटब्युरो र ३५ सदस्य हाराहारीको स्थायी समिति बन्ने सम्भावना छ । माओवादी केन्द्रको स्थायी समिति ८३ सदस्यीय, पोलिटब्युरो २ सय ९९ सदस्यीय छ भने केन्द्रीय सदस्यको संख्या ४ हजार भनिए पनि यकिन तथ्यांक छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    TR Ghimire

    150

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?