वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
१८ पटक हेरिएको
Shares
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे

सारांश

  • धरान ।
  • धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् ।
  • उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकी छन् ।

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी  लगायत अन्यत्र बिक्री गर्दै आएकी छन् । उनले भनिन्“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।”

नेपाली विषयमा स्नातकोत्तर गरेकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । उनले भनिन् “केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिए । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले ।”

विगत छ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी उनी रु ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउछिन् । थोरै  लगानीबाट धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “मैले त छ वर्षअघि रु २५/३० हजार लगानीबाट सुरु गरेकी थिएँ । यसबाट सोचेभन्दा राम्रै फाइदा भयो”, उनी भन्छिन्, “अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।”

उनले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आएकी छन् । उनले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसकेकी छन् । उनी भन्छिन्, “आफ्नै गाउँघरमा  पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।” फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उहाँको बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उहाँको धारणा छ ।

“थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्”, उनी भन्छिन्, “हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ  । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।”  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?