मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
सारांश
- काठमाडौं ।
- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ।
- नेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ। नेकपानिकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो।
कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष दाहालले तत्कालीन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरे। उनले आफूभन्दा अघि बोलेका नेता नेपाल र सचिवालय सदस्य पोखरेलका अभिव्यक्तिको खण्डन गरेका थिए। केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको उनको दाबी थियो। ‘मलाई अस्थिर भन्ने र विचार स्पष्ट भएन भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो। मेरै प्रस्तावमा एमालेका तीनतीनजना नेताहरु प्रधानमन्त्री हुनुभएको हो’, उनले भने।
उनले आफू समयअनुसार चल्ने नेता भएको दाबी गरे। आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै उनले आफूलाई साथ दिन तत्कालीन एमालेका नेता कार्यकर्तालाई आग्रह गरे। माधव नेपालको नामै लिएर उनले भने, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो। उहाँ संसद्मा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो। सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ।’
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया