मेरो कौसी खेती- गमलामै एभोकाडो, आँप, हलुवावेद फलाउँछु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मेरो कौसी खेती- गमलामै एभोकाडो, आँप, हलुवावेद फलाउँछु

सारांश

  • -गणेश शाक्य हिजो आज कौसी खेती वारे मोफसलमा निकै चर्चा परिचर्चा सुन्न पाइछ ।
  • हुन त नेपालको परिवेशमा कौसी खेती कुनै नौलो आयाम हैन ।
  • हाम्रा बाजे वराजुका पालामा पनि केही न केही हल्काफुल्का वोट विरुवा (फूल-तरकारी) गमलामा हुर्काएकै हुन्थे ।

-गणेश शाक्य

हिजो आज कौसी खेती वारे मोफसलमा निकै चर्चा परिचर्चा सुन्न पाइछ । हुन त नेपालको परिवेशमा कौसी खेती कुनै नौलो आयाम हैन । हाम्रा बाजे वराजुका पालामा पनि केही न केही हल्काफुल्का वोट विरुवा (फूल-तरकारी) गमलामा हुर्काएकै हुन्थे । नेपालमा मात्र नभई विश्वको विभिन्न शहरहरुमा पनि कौसी खेती गर्ने गरेको छ ।

विश्वमा कौसी खेतीको कुरा गर्नु पर्दा अमेरिकाको ‘गोथम ग्रीन’को नाम अग्रपंक्तिमा आउछ । यो संस्था सिकागो राज्यमा अवस्थित छ । ‘गोथम ग्रीन’ विश्वकै सवभन्दा ठूलो कौसी खेती गर्ने कम्पनीको रुपमा परिचित छन् । यो ठाउँमा ७५ हजार वर्ग मिटर क्षेत्रफलमा कौसी खेती गरिएको छ भने ५० जना कामदार कार्यरत छन् । विभिन्न प्रकारका हरियो सागपात तथा जडिवुटी उत्पादन गर्ने यस कम्पनीमा किट्नाशक औषधी प्रयोग गरिदैन साथै एक से एक उत्पादित वस्तुहरु नम्वरी स्तरका छन ।

यसैगरी ‘बोस्तन हाइयर ग्राउन्ड फार्म’ कौसी खेतीको वरियता क्रममा विश्वको दोश्रो स्थानमा रहेको छ । यो पनि अमेरिकाकै वोस्तन राज्यमा पर्छ । यसको क्षेत्रफल ५५ हजार वर्ग मिटर छ । यहांको प्रमुख उत्पादन भनेको गोलभेडा, हरियो सलादहरु र जडिवुटी हुन ।
माथि उल्लेखित दुवै संस्थाहरु कौसी खेती प्रविधिमै आधारित भएतापनि ती दुबै संस्थाले व्यावशायिक रुपमै खेतीगर्ने गरेको छ । उत्पादित प्रायः सबै वस्तुहरु नजिकको स्थानीय हाटेल रेष्टूराँहरुमा एक नम्वरको स्थानीय उत्पादनको रुपमा बिक्री हुन्छ ।

अमेरिका वाहेक युरोप र एशियामा पनि कौसी खेती प्रविधि व्यापकरुपमा छाएका छन । एशियाकै कुरागर्नु पर्दा जापानको राजधानी शहर टोकियोमा पनि कौसी खेती प्रशिद्ध छ । टोकियोका ‘ग्रीन पोटाटो’ नामक आयोजनाले कौसीमा सखरखन्द खेतीलाई आम्दानीको श्रोत मात्र वनाएका छैनन्, टोकियो शहरको जल्दोबल्दो तापक्रमलाई केही हदसम्म कम गर्न र वातावरण मैत्रीय हरियाली छाउन समेत सघाएको छ । भारतकै कुरा गर्ने हो भने त्यहां पनि कौसी खेती विकासलाई राज्यस्तरबाटै विशेष पहल गरेको छ । भारतको कर्नाटका, केरला, बैङ्गलोर, हरयाना, मुम्बई जस्ता स्थानहरुमा कौसी खेती धेरै अगाडि पुगिसकेका छन ।

विश्वमा कतै छिटो छिटो त कतै सुस्त रुपमै भएपनि विकासको क्रम निरन्तर रुपमा अगाडि वढ्ने क्रम जारी छ । सम्भवतः यो क्रम कहिल्यै बन्द हुने छैन । परिणमस्वरुप, कुृषि योग्य भूमिको तीव्रगतिमा विनाश हुदै गइरहेको छ चाहे त्यो कंक्रिट भवन निर्माणको कारणले होस् वा सडक निर्माण । उद्योग कल कारखानाको निर्माणले गर्दा होस् वा अन्य कुनै भौतिक पूर्वाधार विकासको कारण ।

यसरी, कौसी खेतीको कुरा गर्दै गर्दा मेरो आफ्नै कौसी खेतीबारे केही अनुभव प्रस्तुत गर्न खोजेको छु । कौसी खेती तर्फ मेरा आकर्षण बाल्यकाल देखिनै थियो । घरको गमलामा आमा बुबाले लगाई राखेका बोट विरुवाहरुमा गोडमेल गरी पानी हाल्ने जस्ता कार्यमा रमाउथें । उमेर बढ्दै जानुका साथसाथै कौसी खेती तर्फको लगाव बढ्दै गए । साथी भाइ छरछिमेक कहाँबाट मागेर होस् वा चोरेरै भए पनि वोट विरुवाहरु लगाउन थालें । यसरी अनेकन गरी ल्याई रोपेका वोटविरुवाहरु मध्ये कति सप्रिन्थे भने कति ओलिएर जान्थे । विरुवा मर्दा साह्रै दुःख लाग्थे । समय बित्दै गए र सौभाग्यवश एकदिन सरकारी नोकरी गर्ने अवसर पाएँ त्यो पनि कृषि बजार सेवा विभागमा । सरकारी कामकाजको सिलसिलामा विभिन्न जिल्ला गाउँ, ठाउँ जानु पथ्र्यो र त्यही बेला गाउँ ठाउँ अनुसारको विभिन्न कृषि उपजबारे जानकारी लिने अवसर पनि पाएँ ।

यसरी गर्दागर्दै अहिले आएर कौसी खेती मेरो शोखभन्दा पनि एउटा अभिन्न अंगकै रुपमा स्थापित भइसकेको छ । कौसी खेतीको कुरा गर्दा मेरो एउटा अनौठो बानी छ । म सकेसम्म मैले लगाएको वोट विरुवा अरुले लगाएको भन्दा पृथक किसिमको होस् भन्ने चाहन्छु । त्यसैले म नौलो नौलो तरकारी फलफूलको खोजी गरिरहन्छु । जस्तैः म ब्रसेल्स स्प्राउट, केल, ब्रकली, लिमा बिन जस्ता तरकारी फलाउन चाहन्छु । गमलामै एभोकाडो, अलमोण्ड, आँप, जापानिज हलुवावेद जस्ता फलफूलहरु फलाउने प्रयास गर्दछु ।

कौसी खेती गर्नु सोचे जति सजिलो भने पक्कै पनि छैन । माटोमा वीउ पानी हाल्ने बित्तिकै त्यतिकै वोटविरुवा ह्वारह्वारती बढ्दैन । यसको लागि केही मेहनत त गर्नैपर्छ । त्यसैले म बेलाबेलामा कृषि प्राविधिकसँग सल्लाह लिने गर्छु । नर्सरीवालासँग पनि सम्पर्क राखिराख्छु । त्यसैगरी, कृषि सामाग्री बिक्रेताहरु (एग्रो भेट) सँग सम्पर्क राखी नयाँनयाँ वीउबिजन, मलजल, काँटछाँट प्रविधिबारे जानकारी लिन्छु । यसको अलावा आफुलाई आवश्यक प्राङ्गारिक मल आफै वनाउछुं । त्यसैगरी, वोटविरुवालाई नभई नहुने एनपिके अर्थात नाइट्रोजन, फस्फोरस, पोटासियम पनि घरेलु तवरमै बनाउँछु । अण्डाको बोक्रामा नाइट्रोजन र फस्फोरस पाईन्छ भने केराको बोक्रामा पोटासियम तत्व पाईन्छ । (केराको बोक्रालार्ई २÷३ दिन घाममा सुकाई हातले भाँच्न सक्ने भएपछि ससाना टुक्रा वनाउने र अण्डाको वोक्रालाई पनि ससाना टुक्रा वनाई दुबैलाई ग्राइण्डरमा पिसी हल्का ढुलो बनाई एनपिके तयार पार्न सकिन्छ ।) मलको अलावा कहिलेकांहि फलफूलको बेर्ना पनि आफै उत्पादन गर्छु । यसको लागि म एयर लेयरिङ र प्रपोगेसन प्रविधि अपनाउँछु ।

यसरी उत्पादित तरकारी फलफूल फल्दा र खाँदा जुन आनन्द आउछ त्यसको वर्णन गरिसाध्य छैन । अझ आफ्नो कौसी खेती साथीभाइ, आफन्त, छरछिमेकलाई देखाउँदा र अलि अलि चखाउन पनि दिंदा त हर्षको सीमा नै रहन्न ।

हिजो आज राज्यले पनि कौसी खेती प्रवद्र्धनको कार्य अगाडि सारेको छ । स्थानीय निकाय अन्तरगत कतिपय वडाहरुमा कौसी खेती सम्वन्धि तालिम सम्पन्न भईसकेका छन् भने वाँकी वडाहरुमा पनि तालिम दिने क्रममा छ । यो सह्रानीय काम हो । तर, तालिम दिने बित्तिकै सबै कुरा सकियो भन्ने हुन्न । कति तालिम लिने सहभागीहरुले कौसी खेतीलाई निरन्तरता दिई रहेका छन् सो को अनुगमन हुनु पर्छ । शौखको लागि मात्र तालिम लिने तर व्यवहारमा नगर्ने भए तालिमको के औचित्य रहन्छ ? आयोजनाको लागि आयोजना भने जस्तै तालिम प्रदान गर्ने निकायले पनि तालिम दिई हाल्यो, सकिहाल्योनि भनी चुप लागेर वस्ने हो भने त्यो तालिमको के अर्थ रह्यो र? यसबारे मेरो तीतो अनुभव छ । मैले पनि दुई तीन विभिन्न संस्थाहरुले संचालन गरेका कौसी खेती तालिममा प्रशिक्षकको रुपमा काम गर्ने मौका पाएका थिएं जस्मा तीनैवटा तालिम गरी करिव १०० जनाको सहभागिता थिए । तर दुःखका साथ भन्नुपर्दा मैले अनौपचारिक रुपमा बुझ्दा अहिले मुश्किलले १० प्रतिशतले मात्र आफुले पाएका तालिमको सदुपयोग भइरहेको छ ।

अन्तमा, कौसी खेती गर्न थाल्नुभएका तथा यसमा अभिरुची राख्ने सबै मित्रहरुलाई म के भन्न चाहन्छु भने कौसी खेती नेपालमा विषेशतः शहरी क्षेत्रमा बस्नेको लागि अति उपयुक्त काम हो । तर, यो काम त्यति सजिलो पनि छैन । यसको लागि अभिरुचि मात्र काफी छैन । सफल कौसी खेतीको लागि समय तथा धैर्यताको उतिकै खाँचो छ । कमसेकम पनि दिनको एक डेढ घण्टा समय खर्चनै पर्छ । अनि मात्र मेहनतको फल लिन सम्भव रहला ।

(यदि कुनै मित्रलाई मबाट कौसी खेती वारे केहि जान्ने इच्छा भएमा सम्पर्क गर्नु होला, मैले जाने बुझेका कुरा बाँड्न तयार छु)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?