मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
सारांश
- पन्चायतकालमा सीपी मैनालीसँगै नख्खु जेल ब्रेक गरेर चर्चामा आएका पुराना वाम नेता धर्म घिमिरे शुक्रबार काठमाडौंबाट बेपत्ता भएका छन्।
- लामो समयदेखि डिप्रेसनको बिरामी रहेका ७४ वर्षीय घिमिरे काठमाडौं गौरिघाटबाट शुक्रबार ११ बजेदेखि हराइरहेको उनका भाइ नरेन्द्रप्रसाद घिमिरेले नेपालखबरलाई बताए।
- घिमिरे झापा आन्दोलनका सक्रिय नेतामध्ये एक थिए।
पन्चायतकालमा सीपी मैनालीसँगै नख्खु जेल ब्रेक गरेर चर्चामा आएका पुराना वाम नेता धर्म घिमिरे शुक्रबार काठमाडौंबाट बेपत्ता भएका छन्।
लामो समयदेखि डिप्रेसनको बिरामी रहेका ७४ वर्षीय घिमिरे काठमाडौं गौरिघाटबाट शुक्रबार ११ बजेदेखि हराइरहेको उनका भाइ नरेन्द्रप्रसाद घिमिरेले नेपालखबरलाई बताए।
घिमिरे झापा आन्दोलनका सक्रिय नेतामध्ये एक थिए। पछिल्लो समय माओवादीमा सक्रिय घिमिरे ०६४ को संविधानसभा निर्वाचनमा झापा १ विजयी भएका थिए। डिप्रेसन बल्झिएपछी उनलाई केहिदिन अघिमात्र उपचारका लागि झापाबाट काठमाडौं ल्याइएको थियो।
‘मान्छे नचिन्ने, घरबाट निस्किएर हिंडिदिने अवस्थामा पुग्नुभएको थियो, हिजो काकाको छोराको घरबाट हराउनुभयो’, भाइ नरेन्द्रप्रसाद घिमिरेले भने।
पन्चायतकालमा सँगै नख्खु जेल ब्रेक गरेका मैनाली भाग्न सफल भएका थिए भने घिमिरे पुनः पक्राउ परेर १७ वर्ष जेलमै बिताएका थिए।
सभासद् धर्मप्रसाद घिमिरे झापा आन्दोलनदेखि नै राजनीतिमा सक्रिय थिए। संयोग नक्खु जेल तोड्नेमध्येकै अर्का भीष्म धिमाल पनि माओवादीकै सभासद् थिए।
नख्खु जेल जेल तोड्ने सीपी मैनाली र प्रदीप नेपाल राजनीतिक परिदृश्यमा माथि आए पनि जीवन मगर र भीष्म धिमालसँगै धर्म घिमिरे पनि स्थानीय राजनीतिमै रहे।
सामान्य साक्षर घिमिरेले ९ वर्षसम्म जेलमै बिताएका थिए। झापाको दुवागडीमा जन्मेका घिमिरेका एक छोरा र २ छोरी छन्।
प्रतिक्रिया