घरदैलोमा व्यस्त हुँदै उम्मेदववारहरु
सारांश
- काठमाडौं : काठमाडौं जिल्लाका वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।
- नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।
- अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् ।
काठमाडौं : काठमाडौं जिल्लाका वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।
अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् । काठमाडौंबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल समेत उम्मेदवार रहेका कारण उहाँहरु पनि घरदैलो कार्यक्रममा व्यस्त बनेका हुन् । करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बनेका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थालेका छन् ।
वरिष्ठ नेता नेपाल सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर फर्किएका छन् भने आज उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा पुगे । ओखलढुंगा उनको जन्मभूमि पनि हो ।
नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदार छन् । उनी अहिले आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त भएका छन् । उनलाई एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहेकी सवित्रा भुसालले सहयोग गर्दै आएका छन् ।
काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका वरिष्ठ नेता नेपाल र क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले पनि चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । क्षेत्र नं. २ को काठमाडौँ वडा–३२ कोटेश्वर र गोठाटारमा भेला सकेर वरिष्ठ नेता नेपाल आज सिरहा गएको प्रदेश नं. ३ का प्रचार विभाग प्रमुख एंव काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार सानु श्रेष्ठले जानकारी दिए । नेपालले आगामी मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्षसमेत रहेका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिए । उनले कोठे भेला, बैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिए । ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उनले भने, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’
यसैगरी क्षेत्र नं. ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नं. ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको बताए । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उनले भने, ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उनले यो पटक क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको जित निश्चित भएको उनले बताए । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार छन् ।
‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ काउम्मेदवार समेत रहनु भएका महासचिव पोखरेलले भने, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ ।’ उनले भने । पोखरेलसँग नुवाकोट निवासी कांग्रेसका डा. प्रकाशशरण महत प्रतिष्पर्धा गर्दै छन् ।
क्षेत्र नम्बर–६ मा वामगठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार छन् । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार छन् । क्षेत्र नम्बर सातमा रामवीर मानन्धरले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिए । उनले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिए । उनले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र कांग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गर्र्दै आएका छन् ।
क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जीवनराम श्रेष्ठले घरदैलोमा जोड दिएका छन् त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार भएकी छिन् ।
काठमाडौ क्षेत्र नं. ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा.अजयक्रान्ति शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ । उनले वडा नं. १२ को ५० प्रतिशत घरदैलो सकिएको जानकारी दिए । त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको दिए ।
काठमाडौ क्षेत्र नं. ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले घरदैलो कार्यक्रममा सक्रिय भएका छन् । क्षेत्र नम्बर–१० मा वाम गठबन्धनका हितमान शाक्य उम्मेदवारले चुनावी अभियानलाई तीर्वता दिइरहेका छन् ।
प्रतिक्रिया