लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गरिने
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गर्ने बताएका छन् ।
- उनले कोरोना भाइरसको संक्रमण फैलन नदिन रोकथामका लागि सरकार भावुक र नरम बन्न नसक्ने भन्दै लकडाउन छिट्टै अन्त्य नहुने जानकारी गराएका हुन् ।
- प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्ब्याएर सीमामा अझ कडाई गर्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गर्ने बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण फैलन नदिन रोकथामका लागि सरकार भावुक र नरम बन्न नसक्ने भन्दै लकडाउन छिट्टै अन्त्य नहुने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्ब्याएर सीमामा अझ कडाई गर्ने बताएका हुन् । प्रधामन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, ‘प्रधानमन्त्रीज्यूले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्नुभएको छ ।’
भारतमा संक्रमण फैलिने क्रम बढिरहेको भन्दै त्यस्तो देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए । यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएको थापाले जानकारी दिए । उनले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन ।’
ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न भने । ओलीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए। फोटोः राजन काफ्ले
प्रतिक्रिया