मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
सारांश
- काठमाडौं, २३ बैशाख– काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले आफूले थालेको सुन्दर काठमाडौं सहर बनाउने अभियान विद्यासुन्दर शाक्यले पूरा गर्ने वताएका छन् ।
- काठमाडौं महानगरको २१ नम्बर वडामा चुनावी अभियान लिएर एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यसँगै पुगेका स्थापितले कुरुप वस्तीलाई भत्काएर बनाएका सुन्दर ठाउँ एमालेको प्रेरणा भएको वताए ।
- ‘नदि किनारहरुमा अहिले करिडोर बन्दैछन्, माइतीघर मण्डला र रत्नपार्कमा कुरुप वस्ती भत्काएर हेर्न लायक ठाउँ बनायौं’ स्थापितले भने, ‘त्यो बनाउने टीम एमालेको हो, त्यो टीमको नेतृत्व मैले गरेको थिएँ ।
काठमाडौं, २३ बैशाख– काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले आफूले थालेको सुन्दर काठमाडौं सहर बनाउने अभियान विद्यासुन्दर शाक्यले पूरा गर्ने वताएका छन् । काठमाडौं महानगरको २१ नम्बर वडामा चुनावी अभियान लिएर एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यसँगै पुगेका स्थापितले कुरुप वस्तीलाई भत्काएर बनाएका सुन्दर ठाउँ एमालेको प्रेरणा भएको वताए ।
‘नदि किनारहरुमा अहिले करिडोर बन्दैछन्, माइतीघर मण्डला र रत्नपार्कमा कुरुप वस्ती भत्काएर हेर्न लायक ठाउँ बनायौं’ स्थापितले भने, ‘त्यो बनाउने टीम एमालेको हो, त्यो टीमको नेतृत्व मैले गरेको थिएँ ।’ उनले आफ्ना पिताको निधन भएका बेला पनि सुन्दर सहर बनाउने काममा सक्रिय भएको स्मृति समेत सुनाए ।
‘मेरो बुवाको निधन भएको दिन थियो तर, म घरमा पनि बसिनँ, आजको माइतीघर मण्डला त्यसै बनेको होइन’ उनले भने, ‘मैले थालेका केही काम अहिले पनि अलपत्र छन्, अव ती काम विद्यासुन्दर शाक्यले पूरा गर्नुहुन्छ ।’ स्थापितले केशव विद्यासुन्दर शाक्यलाई दिएको भोट केशव स्थापितकै योजना कार्यान्वयन गर्न सहयोगी हुने पनि दावी गरे ।
‘बैंकको शाखामा रकम जम्मा गरेजस्तै हो, विद्यासुन्दरलाई तपाईंहरुले दिनु भएको भोट केशव स्थापितलाई आउँछ, केशव स्थापितले काठमाडौं सहरलाई सुन्दर बनाउन थालेको काम विद्यासुन्दरले पूरा गर्नुहुन्छ र तपाईंहरुलाई विद्यासुन्दरले सुन्दर काठमाडौं जिम्मा दिनुहुन्छ’ उनले भने । आफू काठमाडौं महानगरमा यसपटक मेयरको उम्मेदवार नबनेको प्रति सत्तारुढ कांग्रेसका तर्फबाट गलत हल्ला चलाउन थालिएको वताउँदै उनले झुठको सहारा नलिन कांग्रेस उम्मेदवारलाई आग्रह गरे ।
‘केशव स्थापित उठेन अव त हामीले जित्छौं भनेर झुठ प्रचार गरिरहेको थाहा पाएको छु’ स्थापितले भने, ‘केशव स्थापितले नै चाहेको उम्मेदवार काठमाडौं महानगरमा एमालेले उठाएको छ, केशव स्थापितले त्यसलाई जिताएर देखाउँछ ।’ उनले महानगरको मेयरमा विद्यासुन्दर शाक्यको उम्मेदवारीले नेपाली कांग्रेस तर्सेको पनि दावी गरे ।
उनले २५ वर्षसम्म सरकारको नेतृत्व गरेको कांग्रेसले अरुले गरेको विकासको विरोध गरेको तर, अहिले आएर घोषणा पत्रमा विकासका कुरा लेखेको वताए । ‘२५ वर्षसम्म सत्तामा बसेर केही नगर्ने कांग्रेसले हामीले छोटो समयमा अवसर पाउँदा गरेका कामको विरोध गर्यो’ स्थापितले भने, ‘अहिले घोषणा पत्रको कागजमा विकास गर्नु पर्छ भनेर लेखेको छ । त्यो जनता झूक्याउन मात्रै लेखेको हो ।’ कार्यक्रममा मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंबासीलाई सुन्दर सहर उपहार दिने वताए । सांसद रामबीर मानन्धर लगायतले चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया