मोटरसाइकलमा बस्ने दुवैले हेलमेट लगाउने कि !
सारांश
- काठमाडौं- मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ ।
- सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा।
- राजीव झा बताउँछन् ।
काठमाडौं- मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा। राजीव झा बताउँछन् । ‘मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन् । महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ । मोटरसाइकल पछाडि बस्नेले हेल्मेट नलगाउँदा हेड इन्जुरी र दुर्घटनामा हुने क्षतिसमेत बर्सेनि बढ्दो रहेको पनि उनले बताए । टाउको जोगाउनभन्दा पनि ट्राफिक प्रहरीसँग जोगिन हेल्मेट लगाउने भएकाले कमजोर, अनुपयुक्त, टाउकाको बचाउ गर्न नसक्ने हेल्मेट लगाउने तथा हेल्मेटको फित्तासमेत नबाँध्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ । हेल्मेट लगाउने तर यसको फित्ता नबाँध्ने वा अनुपयुक्त हेल्मेट लगाउँदासमेत हेड इन्जुरी हुने गरेको प्रशस्त घटना रहेको डा। झा औंल्याउँछन् ।
मोटरसाइकल पछाडि बसेकालाई अगाडि के भइरहेको छ भन्ने थाहा नहुने र सामान्य झड्का वा दुर्घटनामा समेत उछिट्टिएर हेड इन्जुरी भएर मृत्यु हुने गरेको डा। झा बताउँछन् । उनले हाल मादक पदार्थ सेवनमा कडाइ भए पनि हेड इन्जुरी भएकामध्ये ६० प्रतिशतले मदिरा सेवन गरेको पाइएको बताए । यसको कारण खोल्दै उनले भने, ‘चलाउने व्यक्तिले मदिरा नखाए पनि रक्सी खाएर पछाडि बसेका मानिस सामान्य दुर्घटना वा झड्का पर्दासमेत उछिट्टिएर हेड इन्जुरी हुने गरेको देखिएको छ ।’ मदिरा सेवन गरेको व्यक्तिले मोटरसाइकल पछाडि बसेर पनि यात्रा गर्नु जोखिमपूर्ण हुने बताउँछन् ।
ट्रमा सेन्टरका निर्देशक डा। प्रमोद उपाध्याय बिनाहेल्मेट मोटरसाइकल चढ्न नपाउने नियम कडाइसाथ लागू गर्नुपर्ने बताउँछन् । ‘यस्तो गर्ने हो भने हेड इन्जुरीमा निकै कमी आउनेछ,’ उनले भने । राजाको प्रत्यक्ष शासनमा स्वास्थ्यमन्त्री हुँदा स्नायु शल्यचिकित्सक डा। उपेन्द्र देवकोटाले मोटरसाइकलमा पछाडि बस्नेले समेत हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । ‘त्यतिबेला हेल्मेटको बिक्री बढाउन यस्तो नियम ल्याएसमेत भनियो,’ डा। उपाध्यायले भने, ‘त्यसले निकै कमी ल्याएको थियो ।’
प्रतिक्रिया