मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
सारांश
- नयाँ दिल्ली।
- प्रधानमन्त्रीको सपथ लिएसँगै नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।
- भारतीय संचारमाध्यमका अनुसार ६५ सदस्यीय मन्त्रिमण्डलमा १७ जना नयाँ अनुहारका हुनेछन्।
नयाँ दिल्ली। प्रधानमन्त्रीको सपथ लिएसँगै नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। भारतीय संचारमाध्यमका अनुसार ६५ सदस्यीय मन्त्रिमण्डलमा १७ जना नयाँ अनुहारका हुनेछन्। २०१४ मा सुरुवातमा ४५ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो। तर पछि मन्त्रिपरिषदको संख्या ७६ पुगेको थियो। यो पटक विदेश मन्त्री र अर्थ मन्त्रीका विषयमा केही पनि बताइएको छैन। प्रधानमन्त्री मोदी र बिजेपी अध्यक्ष अमित शाहबीच यो विषयमा छलफल भइरहेको छ। शाहलाई अर्थमन्त्री बनाउने चर्चा छ।सपथ समारोह बिहीबार सात बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ। भारतीय संचारमाध्यमका अनुसार सपथ लिनु भन्दा पहिला मोदीले अपरान्ह साँढे चारबजे मन्त्री नियुक्त हुने नेतासँग लोक कल्याणमार्ग स्थित आफ्नो निवासमा भेटभाट गर्ने भएका छन्। मोदीले बिहीबार विहान महात्मा गान्धी र अटल विहारी बाजपेयीलाई उनीहरुको समाधिस्थलमा गएर श्रद्धान्जलि दिएका थिए।अर्थमन्त्री अरुण जेटलीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री मोदीसँग आफूलाई मन्त्रिपरिषदमा सहभागी नराउन आग्रह गरेका छन्। बिहीबार यो विषयमा जेटलीले प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।
पछि मोदी स्वयं जेटलीको निवासमा पुगेर उनको अवस्थाका विषयमा जानकारी लिएका थिए। जेटलीका अनुपस्थितिमा अर्थ मन्त्रालयको कार्यभार पीयुष गोयलले सम्हालेका थिए। तर अब अर्थ मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिने तयारी भएको छ।निर्वतमान विदेश मन्त्री सुष्मा स्वराजले पनि यो पटक निर्वाचनमा भाग लिइनन्। उनले पनि यो पटक मन्त्री निहुने इच्छा व्यक्त गरेकी छन्। यस्तो अवस्थामा विदेश मन्त्री को बन्दैछ भन्ने चासो देखिएको छ। स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार विदेश मन्त्रालयको जिम्मेवारी नितिन गडकरी, निर्मला सीतारमण या स्मृति इरानीलाई दिने संभावना रहेको छ।गृहमन्त्रालयमा राजनाथ सिंह नै दोहोरिने संभावना छ। उता विदेश र रक्षा मन्त्रालयमा नितिन गडकरी र निर्मला सीतारमणको नामको चर्चा पनि छ। रेल मन्त्री पीयुष गोयल फेरि मन्त्री बन्ने दाउमा छन्। स्मृति इरानीलाई सूचना एवं प्रशारण मन्त्रालयको जिम्मेवारी दिने चर्चा पनि छ।यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमार र बिजेपी अध्यक्ष अमित शाहबीच भेटवार्ता भएको छ। उनीहरुबीच जदयूका सदस्यलाई मन्त्रिमण्डलमा सहभागी गराउने विषयमा छलफल भएको बताइएको छ। लोजपा प्रमुख राम विलास पासवानलाई पनि क्याबिनेटमा स्थान मिल्ने बताइएको छ। लोकसभा निर्वाचनमा मात्र एक सिट जित्ने एआईएडीएमकेका सांसदलाई पनि मन्त्री बनाइने बताइएको छ।
प्रतिक्रिया