यसरी अतिक्रमणको निसानामा पर्दैछन् स्वयम्भूनाथ, बौद्धनाथ र पशुपतिनाथ
सारांश
- संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौं उपत्यकाको विश्व सम्पदाहरूलाई खतराको सूचीमा राख्ने प्रस्ताव अघि सार्ने भएको छ ।
- युनेस्को ४३औं साधारण सभाका लागि तयार पारिएको उक्त प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार र चाँगुनारायण मन्दिरलगायतका विश्व सम्पदामा सूचीकृत सम्पदाहरूमाथि नराम्रो प्रभाव पार्ने देखिएको छ ।
- युनेस्कोले यसअघिदेखि नै उपत्यकाका ती सम्पदाहरूको संरक्ष्ँण गर्ने गरी तिनको प्राचीन स्वरूप कायम राख्न सम्पदा क्षेत्रको अतिक्रमण र अनधिकृत सबै संरचनाहरू सफाइ गर्न र हटाउन बारम्बार नेपाल सरकारलाई ताकेता गर्दै आएको हो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौं उपत्यकाको विश्व सम्पदाहरूलाई खतराको सूचीमा राख्ने प्रस्ताव अघि सार्ने भएको छ । युनेस्को ४३औं साधारण सभाका लागि तयार पारिएको उक्त प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार, भक्तपुर दरबार र चाँगुनारायण मन्दिरलगायतका विश्व सम्पदामा सूचीकृत सम्पदाहरूमाथि नराम्रो प्रभाव पार्ने देखिएको छ ।
युनेस्कोले यसअघिदेखि नै उपत्यकाका ती सम्पदाहरूको संरक्ष्ँण गर्ने गरी तिनको प्राचीन स्वरूप कायम राख्न सम्पदा क्षेत्रको अतिक्रमण र अनधिकृत सबै संरचनाहरू सफाइ गर्न र हटाउन बारम्बार नेपाल सरकारलाई ताकेता गर्दै आएको हो । तर, नेपालले त्यसप्रतिको उत्तरदायित्व निर्वाहका लागि कुनै कदम चाल्ने कोसिससमेत गरेको छैन । त्यसैको परिणामस्वरूप युनेस्कोले अहिलेको प्रस्ताव अगाडि सारेको बताइन्छ । काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदाहरूलाई भू–अतिक्रमण गरी
अनधिकृत संरचनाहरू निर्माण गरिएका कारण ती सम्पदाहरूका प्राचीन स्वरूप विकृत पारिइसकेको पाइएको छ । यसले गर्दा विश्वसम्पदाको अन्तराष्ट्रिय मापदण्डको व्यापक उल्लंघनसमेत भइरहेको छ । युनेस्कोको ४३ औं साधारण सभा अजरबैजानको बाकुमा २०७६ असार १५ देखि २५ गतेसम्म चल्नेछ । उक्त सभामा नेपालका तर्फबाट युनेस्कोको धारणा र योजनाप्रति नेपालले दरो प्रतिबद्धता जनाउन सकेन भने
काठमाडौंका प्रख्यात विश्वसम्पदा सूचीमा दर्ता भएका सम्पदाहरू क्रमशः युनेस्को सूचीबाट हटाइँदै जाने अवस्था आउने छ । बाकुमा हुन थालेको सो सभाले विश्वका १ सय ६७ मुलुकका सम्पदाहरूमध्ये नयाँ प्रस्तावित सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने र सूचीकृत विश्वसम्पदामध्ये मापदण्ड कायम गर्न असफल ठानिएका विश्वसम्पदाहरूलाई खतराको सूचीमा राख्ने वा हटाउन पनि सक्नेछ ।

अतिक्रमणको चपेटामा स्वयम्भूनाथ
काठमाडौं उपत्यकाको विश्वसम्पदाहरू नै अत्यधिक अतिक्रमणको मारमा परेका छन् । स्वयम्भूनाथ मन्दिरकै कुरा गर्ने हो भने उक्त मन्दिरको परिसरमा प्रदूषण फैलाउने काम सरकार स्वयम्ले पनि गर्दै आएको छ । स्वयम्भू मन्दिरको वन क्षेत्रभित्र तत्कालीन हिनायानी भिक्षुक धम्मालोकले स्वयम्भू घ्याङ गुठीबाट बाहुली पुर्जी वि.सं. १९९९ श्रावण १३ गते पाएपछि उनै भिक्षु धर्मलोकले सानो कुटी बनाएका थिए । त्यही सानो कुटी बिहारमा भिक्षु अमृतानन्दले ‘आनन्दा कुटी’ नामक कुटी स्थापना गरेका छन् ।
२०७२ सालको भूकम्पपश्चात् उक्त आनन्द कुटीको स्वरूप विस्तार भएको छ । यसअघि नै अमृतानन्द महास्थवीरकै पहलमा एउटा बोर्डिङ स्कुल स्वयम्भूनाथ मन्दिर परिसरको भूमिमा निर्माण गरिएको छ । त्यसलाई नै स्वयम्भूनाथ परिसरको क्षेत्रभित्र अतिक्रमणको सुरुवातका रूपमा मानिएको छ । त्यस्तै पञ्चायतकालमै त्रिभुवन विश्वविद्यालय अन्तर्गत राष्ट्रिय प्राकृतिक संग्रहालय पनि त्यहाँ स्थापना भएको छ । त्यसले पनि स्वयम्भूको प्राचीन स्वरूपमाथि सरकारी अतिक्रमणको नाङ्गो रूप
देखिएको छ । यसरी नै मञ्जुश्री स्नानको गुम्बाको विस्तार, मुनिक गुम्बा भनिने तिब्बत–ल्हासामा कार्यरत व्यापारीहरूले स्थापना गरेका गुम्बा र श्री ३ जंगबहादुर राणाको पालामा बालाजुबाट स्थानान्तरण गरिएको गिरी संन्यासीको कुटीको स्थानमा स्थापित कृष्ण मन्दिर परिसरमा भोग केन्द्रका रूपमा विशाल भवन पनि निर्माण भएका छन् । स्वयम्भू परिसरको वनक्षेत्रको तल्लो भागमा व्यावसायिक प्रयोगका लागि प्रशस्त निजी घरहरू पनि थपिंदै गएका छन् ।
त्यस्तै निजी अस्पतालहरू पनि खोलिएका छन् । यी सबै गतिविधिले स्वयम्भूनाथको मन्दिर परिसरमा व्यापक अतिक्रमण चलाएको छ । गैरकानूनी रूपले स्वयम्भूनाथको प्राचीन स्वरूपलाई अतिक्रमण गरी विकृत तुल्याइएको छ । यसप्रति नेपाल सरकार र सरोकारवाला निकायले कुनै कारबाही अघि बढाउन सकेका छैनन् । यसका साथै स्वयम्भूनाथ मन्दिरको टुप्पोमा अव्यवस्थित बसोबासको चाप झन् बढ्दो मात्रामा छ, जसलाई अतिक्रमणको दृष्टिले जोखिमपूर्ण मानिएको छ ।
त्यस्तै ‘कर्मराज महाबिहार’ र अन्य अनधिकृत संरचनाको बोझले स्वयम्भूनाथ मन्दिरको अस्तित्व नै भौतिक रूपले संकटमा पर्ने हो कि भन्ने आशंका गरिएको छ । यसैबीच सरकारले स्वयम्भूनाथका पूजारीको घर बनाउने भन्दै १६ करोड रुपैयाँको लागत इस्टिमेट तयार पारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जगको शिलान्यास समेत गरिसकेका छन् । त्यसले पनि स्वयम्भूनाथको प्राचीन स्वरूपमाथि अतिक्रमण हुने ठहर विज्ञहरूको छ ।
किनभने त्यो ठूलो रकमको खर्चमा बन्ने पूजारीको घर प्राचीन मापदण्डभन्दा बाहिरको बनाउन ठूलै चलखेल भएको मानिएको छ । विश्वसम्पदाको स्वरूपको अवधारणाभन्दा त्यो नितान्त निहित स्वार्थको कार्यका रूपमा देखा पर्न थालेको सम्बद्ध विज्ञको भनाइ छ । युनेस्कोले स्वयम्भू चुचुरोमा अवस्थित अनावश्यक तथा अनधिकृत बस्ती हटाउन पहल धेरै वर्षपहिले नै गरेको र त्यसको क्षतिपूर्तिसमेत सम्बन्धितहरूले बुझिसकेको बताइन्छ । “तर नेपाल सरकारकै उपेक्षाको दृष्टिले गर्दा उक्त योजना
आजसम्म लागू हुन सकेको छैन,” जानकारहरूको दाबी छ, “सरकारकै उपेक्षाको कारण स्वयम्भूनाथ मन्दिरको परिसरमा भू–अतिक्रमण र नयाँ संरचनाहरू थपिँदै आएका छन् । यो लज्जास्पद विषय हो ।” त्यसो त धार्मिक स्थलको कथित विकास र संरक्षणको नाममा राजनीतिक दलका कार्यकर्ताहरूले समिति खडा गरी दर्ता गरेर धार्मिक स्थललाई हस्तक्षेप गरी कमाउधन्दा चलाउने गरेका छन् । त्यसको संरक्षक स्वयम् नेपाल सरकार बन्न पुगेको देखिन्छ । त्यो धर्मकै नाममा धर्म्विरोधीहरूको अखडा सावित भएको छ ।

बौद्धनाथ र पशुपतिनाथमा उस्तै
यता विश्वसम्पदा सूचीमा सूचीकृतमध्ये महत्ववपूर्ण बौद्धनाथ र पशुपतिनाथको हालत पनि त्यस्तै छ । अनधिकृत अतिक्रमणका कारण तिनीहरूका प्राचीन स्वरूप सुरक्षित अवस्थामा छैनन् । कतिपय मान्छेहरूले आय–आम्दानीमूलक व्यवसाय स्थापना गर्न धार्मिक क्षेत्रमाथि आँखा गाड्ने गरेका छन् । त्यो त त्यस्ता मान्छेहरूको धर्मप्रति कुनै पनि सरोकार र लगाव दुवै देखिँदैन । यता सरकार र सम्बद्ध सरोकारवाला भने एक प्रकारले रमिते बनेको देखिन्छ । त्यसैले गर्दा नेपालको राष्ट्रिय धरोहर र सम्पदामाथिको हस्तक्षेप र अतिक्रमण निरन्तर रूपमा बढ्दो क्रममा छ ।
यी धार्मिक क्षेत्रमाथिको राजनीतिक हस्तक्षेप वास्तवमा देशव्यापी रूपमा चल्दै आएको छ । त्यो नेपालको पहिचान मेटाउने नियतका रूपमा देखापरेको मूल अभियान नै हो कि भन्ने प्रश्न पनि उठेको छ । थप आश्चर्यलाग्दो कुरा तिनीहरू सबै कट्टर धार्मिक भक्तजनको आवरणमा देखा पर्ने गरेका छन् । वास्तवमा ती ‘नास्तिक’ हुन् । जसले आफ्नो पेट भर्नुभन्दा अर्काे कुनै पनि मानवीय आदर्शको मूल्य र मान्यताको परवाह गर्ने गर्दैनन् । जसका विरुद्धमा सशक्त धार्मिक अभियान चलाउनुपर्ने बाध्यता महसुस हुन थालेको धार्मिकजनहरूले बताउन थालेका छन् । साँघुन्यूजबाट
प्रतिक्रिया