यसरी हुँदैछ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
- सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ । नातामा भाञ्जी पर्नेले मिर्गौला दिने जनाइएको छ, उनलाई पनि सोमबार नै अस्पताल भर्ना गरिएको छ ।
प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यरोपण गराएका थिए । उक्त मिर्गाैलाले काम गर्न छाडेपछि उनी चिकित्सकको सल्लाहमा फेरि मिर्गौला प्रत्यारोपण गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकको टोलीले गर्नेछ । प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने चिकित्सकीय टोलीमा डा. उत्तम शर्मा, डा. प्रेमराज ज्ञवाली, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्यलगायत छन् । टोलीमा एनेस्थेसियाका दुईजना डाक्टर र आठ जना नर्स तथा स्वास्थ्यकर्मी पनि रहने बताइएको छ । प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा. अनन्तकुमार र अर्का एक प्रतिनिधि नेपाल आइसकेका प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बढीमा हप्ता दिनमा प्रधानमन्त्री ओली घर फर्किने बताएका छन् । उनले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरव र अवसर भएको बताए । प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयले जनतामा अस्पतालप्रतिको विश्वास झनै बढ्ने र नेताहरु उपचारका लागि विदेश जाने क्रम कम हुने विश्वास उनले व्यक्त गेर ।
डा. खड्का का अनुसार शिक्षण अस्पतालमा अहिलेसम्म ८ सय व्यक्तिको सफल मिर्गौला प्रत्यारोण गरिएको छ । चिकित्सकहरूका अनुसार दोस्रोपटक प्रत्यारोपणको सफलता ९८ प्रतिशत छ । ६९ वर्षीय ओलीको तीन महिनाअघि अचानक एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यही बेला पेटमा कडा संक्रमण पनि भएको थियो ।
प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि तीन महिनायता प्रधानमन्त्री ओलीले नियमित डायलाइसिस गराउँदै आएका थिए । सातामा एक वा दुई पटक डायलाइसिस हुने गरेको थियो । ओली चिकित्सकहरूसँगको लामो परामर्शपछि नियमित डायलाइसिसको साटो अर्को मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका हुन् । उनले प्रत्यारोपणपछि स्वस्थ भएर थप उत्साहका साथ काममा फर्किने विश्वास प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान भएको पार्टी सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपणको तयारी भएको जानकारी गराएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भेटेर प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर र सन्देश पठाएर ओलीलाई सफल उपचारको शुभकामना दिएका छन् । उनले ओलीको स्वास्थ्यलाभका लागि पशुपतिनाथले आशीर्वाद दिने विश्वास प्रकट गरेका छन् । मोदीले पठाएको सन्देश नेपालका लागि भारतका कार्यवहाक राजदूत डा. अजयकुमारले ओलीलाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया