यस्तो छ महाशिवरात्रिमा पशुपति दर्शन गर्ने व्यवस्था
सारांश
- यस बर्षको शिवरात्री पर्व व्यवस्थित बनाउन पशुपछि क्षेत्र विकास कोषले व्यवस्थापन पक्षलाई चुस्त र दुरुस्त बनाएको दावी गरेको छ ।
- शिवरात्रीका दिन लाइन बसेको दुई घण्टामै दर्शन गरिसक्नेगरी व्यवस्था मिलाएको कोषले जनाएको छ ।
- त्यस्तै पैसा तिरेर गरिने पुजा लाई पनि यसवर्ष हटाइएको छ ।
यस बर्षको शिवरात्री पर्व व्यवस्थित बनाउन पशुपछि क्षेत्र विकास कोषले व्यवस्थापन पक्षलाई चुस्त र दुरुस्त बनाएको दावी गरेको छ ।

शिवरात्रीका दिन लाइन बसेको दुई घण्टामै दर्शन गरिसक्नेगरी व्यवस्था मिलाएको कोषले जनाएको छ । त्यस्तै पैसा तिरेर गरिने पुजा लाई पनि यसवर्ष हटाइएको छ । जसले गर्दा सर्वसाधारणलाई छिटो दर्शन गर्न सहयोग पुग्ने कोषको भनाइ छ । यसवर्ष करिव ६ लाखले पशुपतिमा दर्शन गर्ने र मेलामा करिव १३ लाख मानिसहरु आउने बताइएको छ ।
शिवरात्रीका लागि सवै तयारी पुरा भएको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रीको बिशेष आकर्षणका रुपमा रहने नाङगाबाबाहरु पशुपति मन्दिर परिसरमा एकादशीबाटै बस्न थालिसकेका छन् ।
दर्शनका लागि चार बाटा
पशुपति क्षेत्र बिकास कोषले यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शन गर्न सर्वसाधारणका लागि सहज बनाउन चारवटा बाटाको प्रवन्ध मिलाएको छ ।
कोषले बुधबार पत्रकार सम्मेलन गरी बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ ।
दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । ‘पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ’, उनले भने ।
कमाण्ड पोष्टसहितको सञ्चार
दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको छ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।
पशुपतिमा मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
तीन दिन बिशेष सुरक्षा
महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा पासवाहक र सरकारी गाडी , सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य शिविर पानी
मेलामा ठाउठाउमा स्वास्थ्य शिविर राखिने छ भने पानीको व्यवस्था पनि गरिएको छ । स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।
महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया