यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
सारांश
- काठमाडौं – हरेक वर्ष झैं यस वर्ष पनि युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ ।
- यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस पारेर मन्त्रालयले युवाका क्षेत्रमा काम गर्ने संस्था तथा युवालाई सम्मान गर्न लागेको हो ।
- सम्मानित हुनेले जनही १ लाख रुपियाँ सहितको सम्मानपत्र पाउनेछन् ।
काठमाडौं – हरेक वर्ष झैं यस वर्ष पनि युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ ।
यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस पारेर मन्त्रालयले युवाका क्षेत्रमा काम गर्ने संस्था तथा युवालाई सम्मान गर्न लागेको हो । सम्मानित हुनेले जनही १ लाख रुपियाँ सहितको सम्मानपत्र पाउनेछन् ।
मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाजसेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मानका लागि छनोट गरिएको छ ।
राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिश समितिबाट छनौट गरिएका १० जनालाई सम्मान गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।
शिक्षातर्फ काठमाडौँ महानगरपालिका– १८का ३६ वर्षीय विनोद शाही (स्नोयार्ड फाउण्डेशन) छनौट भएका छन् । उनले माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएवापत सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
समाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका जागृति बाल तथा युवा क्लबका अध्यक्ष३६ वर्षीय तिलोत्तम पौडेल छानिएका छन् । बाल क्लबको संस्थागत विकास, युवा सशक्तीकरण र नेतृत्व विकासमा योगदान पु¥याएवापत छानिएको जनाइएको छ ।
कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्षीय तेजविक्रम थापाको नाम छनौट भएको छ । प्राङ्गारिक कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग गरेकाले सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई अपाङ्गता भएको व्यक्तिको अधिकारका क्षेत्रमा काम गरेको भन्दै सम्मान गर्न लागिएको हो ।
त्यसैगरी उद्यमशीलतातर्फ इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ छनौट भएका छन् । उनले बेतबाँसको सामग्री उत्पादन र बजारीकरण तथा कुपण्डोलमा अपाङ्गता भएका व्यक्तिका लागि बेतबाँस सामग्री बनाएर निर्वाहभत्तासहित निःशुल्क तालीम दिने गरेका छन् ।
विज्ञान प्रविधितर्फ धनुषा, जनकपुरका २८ वर्षीय अम्बर मण्डललाई सम्मान गर्न लागिएको छ । मण्डलले गहुँ काट्ने ‘नारा एग्रो मेशिन’ र अन्य कृषि उपयोगी उपकरण आविष्कार गरी सफल परीक्षण गरिसकेका छन् । त्यसैगरी विज्ञान प्रविधितर्फ अर्का चितवन राप्ती नगरपालिका गडौंलीका २० वर्षीय सरोज चेपाङ छनौट भएका छन् । चेपाङले प्यारा मोटर बनाएर उडाएका थिए ।
त्यसैगरी सामाजिक रुपान्तरणतर्फ गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गंगा खड्का छानिएकी छिन् । सुरक्षित महिनावारी अभियानकर्मीका रुपका काम गरेको भन्दै उनी छनौट भएकी हुन् । साग ग्रुप कृषि फर्म सञ्चालन गरी टिस्युकल्चर प्रविधिबाट केराको व्यावसायिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएवापत कृषितर्फ कैलाली, धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी छनौट भएकी छिन् ।
निजी लगानीमा काठमाडौँ फन भ्यालीमा कर्णाली संग्रहालय स्थापना र १३ साहित्यिक कृति प्रकाशन गरेवापत कलासंस्कृति र साहित्य सिर्जनातर्फ जुम्ला, चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की छनौट भएका छन् ।
यसैबीच मन्त्रालयले सिफारिशमा परेका विरुद्ध कुनै टिका टिप्पणी र सम्मान गर्न नहुने भए कारण दिन आग्रह गरेको छ । सम्मानका लागि छानिएकाको लागि कुनै उजुरी भएमा मन्त्रालयमा आगामी भदौ २५ गतेभित्र लिखितरुपमा प्रमाणसहित पेश गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया