लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
सारांश
- काठमाडौं ३ भदौ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् ।
- राष्ट्रिय सूचना दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काठमाडौं ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान गरेका छन् । प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् । “नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ।
सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादाविपरीत र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहिताको संस्कृतिमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सुशासनलाई मजबुत बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया