रगत परिक्षणमा लापर्वाही !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
रगत परिक्षणमा लापर्वाही !

सारांश

  • ललितपुर, ५ असोज ।
  • डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन ।
  • सवारी चालक अनुमतिपत्र बनाउनका लागि उनले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाए ।

ललितपुर, ५ असोज । डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । सवारी चालक अनुमतिपत्र बनाउनका लागि उनले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाए । त्यतिबेला उनलाई चालक अनुमतिपत्रमा रक्त समूह किन राखिएको र त्यो गलत हुँदा के असरपर्छ भन्ने थाहा थिएन । चालक अनुमतिपत्रका लागि कागजात बुझाउँदा उनले ती स्वास्थ्यकर्मीले बनाएको कागज नै पेश गरे । त्यही आधारमा चालक अनुमतिपत्रमा ‘बि पोजिटिभ’ लेखियो । उनले भने, “पहिले हतारमा उसै बनाएँ, अहिले आफ्नो वास्तविक रगत समूह फरक हो कि भन्ने चिन्ता छ ।”

मगरको रगतको समूहका बारेमा न उनी ढुक्क छन्, न त उनलाई अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय नै । यातायात व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र दिँदा चालकलाई विभिन्न किसिमका स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । त्योमध्ये रगतको समूह जाँच पनि महत्वपूर्ण हो । तर कार्यालयले भने हचुवाका भरमा यात्रुलाई सवारी चालक अनुमतिपत्र दिने गरेको छ । यात्रुले पनि हतारले रक्त समूह परीक्षण नगरी उसै फारम भर्ने गरेका हुन । यातायात व्यवस्था कार्यालयको भीडमा स्वास्थ्यकर्मी हुँ भन्दै रगतको समूह परीक्षण नै नगरी प्रमाणित गर्ने धेरै जना भेटिने गरेका छन् ।

तीनले पैसा कमाउनका लागि रगत परीक्षण नै नगरी यात्रुको रक्त समूह छुटाएर सही गरिदिन्छन् । कार्यालयले त्यसैलाई आधार बनाएर चालक अनुमतिपत्रमा रक्त समूह राख्दै आएको छ । जावलाखेल बस्दै आउनुभएका शशी खड्का सवारी चालक अनुमतिपत्र लिँदा रगत मात्रै नभएर अरु कुनै पनि खालको स्वास्थ्यपरीक्षण नहुने गरेको बताउँछन्। कार्यालयमा सधैंँ भीडभाड हुने हुँदा स्वास्थ्य परीक्षणका नाममा स्वास्थ्कर्मीले एक दुई अक्षर देख्ने वा नदेख्ने हेरेर नै स्वास्थ्य जाँच सकाउने गरेका छन् । उनले भने, “कार्यलयमा धेरै भीड पन्छाउन हतार होला तर हाम्रो त जीवनसँग जोडिएको हुन्छ, ।” स्वास्थ्य जाँचमा कार्यालय संवेदनशील हुनुपर्ने उनले बताए ।

हतारमा स्वास्थ्य जाँच गराउँदा विभिन्न किसिमका समस्या आइरहेका छन् । समय समयमा अस्पतालमा चालक अनुमतिपत्रमा भएको रगतको समूहलाई सही मान्दा रक्त समूह फरक भएको घटनासमेत पाइएको छ । चालक अनुमतिपत्रमा रक्त समूह उल्लेख गर्नुको कारण कुनै दुर्घटना भइहाल्दा रक्त जाँच नगरी चालक अनुमतिपत्रका आधारमा रगत सङ्कलन गर्नु हो । खड्काले भने, “अहिले चालक अनुमतिपत्रलाई विश्वास गर्न मिल्ने अवस्था छैन ।” अनुमतिपत्रमा भएको रक्त समूह विश्वासिलो नभएपछि त्यसमा उल्लेख गर्नुको अर्थ नभएको उनले बताए ।

यातायात व्यवस्था विभाग अन्तर्गतका बागमति अञ्चल कार्यालयको चालक अनुमतिपत्र शाखामा कार्यरत सूचना अधिकारी भक्त विष्टले स्वास्थ्य जाँच गर्न ठेक्कामा दिइने बताए । जुन स्वास्थ्यकर्मीले जिम्मेवारी लिएको हुन्छ, गल्ती भएमा उसैले जिम्मेवारी लिनुपर्ने धारणा उनको छ । सूचना अधिकारी विष्टले भने, “ऐनले कार्यालयलाई भन्दा पनि गल्ती भएमा उसैले सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।” चिकित्सकले राम्रो ग¥यो वा गरेन भन्ने शंका गर्न नसकिने उनले बताए। यातायात व्यवस्था कार्यलयमा पहिले धेरे खालका बिचौलिया हुने गरेका थिए । पछिल्ला समय नियन्त्रण नै नभए पनि कम हुँदै गएको कार्यालयले जनाएको छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि कार्यालयले टोकन प्रणाली लागू गरिएको छ । यसले कम समयमा सहज रुपमा काम हुन थालेको बताइएको छ ।

(सञ्चिता घिमिरे )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?