व्यङ्ग्यात्मक पर्व गाईजात्रा आज मनाइँदै
सारांश
- काठमाडौँ, ११ भदौ ।
- भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
- एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
काठमाडौँ, ११ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद(राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्झनुहुन्छ ।
“विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा मनायो, त्यसपछि प्रज्ञाले सात वर्षसम्म यसलाई निरन्तरता दियो”, त्यसबेलाको घटना सम्झँदै उहाँले भन्नुभयो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थतामा सार्थकता झल्काउने संस्कृतिविद् जोशीको भनाइ छ ।
जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ । रासस
प्रतिक्रिया