रुप्सेमा रमाउनेको भीड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
रुप्सेमा रमाउनेको भीड

सारांश

  • गलेश्वर।
  • अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ।
  • बेनी–जोमसोम–कोरला सडकखण्ड ९कालीगण्डकी करिडोर० अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो।

गलेश्वर।अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ।बेनी–जोमसोम–कोरला सडकखण्ड ९कालीगण्डकी करिडोर० अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो।विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन्। रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन्। पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन्।

झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ। रुप्से झरना र अन्धगल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था गरिएको छ।बेनीका युवा सुवर्ण केसीले रुप्सेमा रमाउन आउनेहरुलाई लक्षित गरी रेष्टुरेण्ट पनि सञ्चालन गरेपछि रातको १० बजेसम्म यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छ। पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ। ती पर्यटकहरु यही झरना देखेर लोभिने गर्छन्।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन। साबिकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरिएको छ।अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले आधारभूत आवश्यकताको पूर्वाधार विकासमा गाउँपालिकाले अब प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताए। झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महीनामा स्थानीयवासीले बोको बलि चढाउने गर्छन्। झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ।

बेनी– लभ्ली हिल पदमार्गको निर्माण कार्य तीव्र

म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल जाने पदमार्गको निर्माण तीव्र गतिमा अघि बढेको छ। म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तव्यका रुपमा विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्ली हिल पुग्ने पदमार्गको निर्माण दुई सातायता तीव्र गति भइरहेको हो। यसअघि आवश्यक जनशक्तिको अभाव तथा विविध कारणले सो पदमार्गको निर्माण रोकिएको थियो।म्याग्दी नदीमाथि रहेको बेली ब्रिज नजीकबाट लभ्ली हिलसम्म पुग्ने पदमार्गको निर्माण बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा भइरहेको छ। पर्यटन विकासका लागि लभ्ली हिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्ली हिल पदमार्ग नामकरण गरिएको सो पदमार्गको शिलान्यास गत भदौ ८ गते गरिएको थियो।

बेनी–बगरफाँट सडक नजीकबाट शुरु गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाउने कार्य धमाधम भइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यलाई चिनाउने अभियानअन्तर्गत निर्माण गरिने पदमार्गका लागि बेनी नगरपालिकाले ५० प्रतिशत, मोना आइसीले ४० र म्याग्दी उवा सङ्घले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो।

हालसम्म मोना आइसीले सम्झौताअनुसार १५ लाख उपलब्ध गराइसकेको मोना आइसीका उपाध्यक्ष एवम् पदमार्ग संयोजक ओमनारायण जुग्जालीले बताए। ३९५ मिटर उकालोमा एक दशमलव आठ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलिङसहितको पदमार्ग निर्माण गर्न मोनाले करीब ३२ लाख आर्थिक सहयोग गर्नेछ। पदमार्गको प्रारम्भिक चरणमा रु ५७ लाख आठ हजार ९०६ लागत अनुमान गरिए पनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्ने गरी काम भइरहेको छ। पदमार्गको करीब २०० मिटर निर्माण बाँकी रहेको छ।

पदमार्गसँगै नगरपालिकाले लभ्ली हिलमा युद्ध स्मारिका पार्कसहित डिभिजन वन कार्यालयले समेत वनवाटिका बनाइरहेको बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले पदमार्गलाई नगरपालिकाले समेत प्राथमिकता दिएको बताए। सामुदायिक वन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफूलका बिरुवाका साथै ठाउँठाउँमा आवश्यकताअनुसार सानो बगँैचा बनाएर विश्रामस्थल निर्माण गर्ने योजना छ।

बेनीको शिरमा अवस्थित लभ्ली हिलमा नगरपालिकासहित विभिन्न सङ्घसंस्थामार्फत आरामदायी बेञ्च, गोलघर ९भ्यू प्वाइन्ट०, चौतारीलगायतका संरचना बनेका छन्। बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम र भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?