लगानी सम्मेलन आजदेखि : ७७ वटा परियोजना प्रस्तुत हुने
सारांश
- काठमाडौं।
- आजदेखि नेपाल लगानी सम्मेलन, २०७५ राजधानीमा शुरू हुँदैछ।
- दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने बताइएको छ।
काठमाडौं। आजदेखि नेपाल लगानी सम्मेलन, २०७५ राजधानीमा शुरू हुँदैछ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने बताइएको छ।
सम्मेलनमा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ३० खर्ब रुपैयाँ भन्दा बढीका ७७ वटा परियोजना प्रस्तुत हुनेछ। अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सम्मेलनमा करिब १२ वटा समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ।
सम्मेलनमा चीनबाट २६५, भारतबाट १२०, जापानबाट २१, म्यानमारबाट १९, दक्षिण कोरियाबाट १७ जना सहभागी हुने भएका छन्। यसैगरी ओमनबाट १३, युएइबाट १२, मलेसियाबाट १२,
क्यानडाबाट १० र अमेरिकाबाट १० जना सहभागी हुने भएका छन्। यसैगरी श्रीलंकाबाट १०, जर्मनीकबाट ९, बेलायतबाट ९ जना सहभागी हुने तय भएकाे ५।
सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होन्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेश, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली सहभागी हुने छन्।
यस्तै म्यान्मारका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुनलगायत माइक्रोसफ्ट्, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबरलगायतका विश्वस्तरीय कम्पनीका प्रतिनिधिको सहभागिता रहनेछ । सरकारले अहिले गर्न लागेको लगानी सम्मेलन तेस्रो हो।
यसअघि वि.सं २०४८ सालमा पहिलो लगानी सम्मेलन गरिएको थियो भने वि.सं २०७३ मा दोस्रो लगानी सम्मेलन भएको थियो।लगानीका लागि सहज वातावरण बनाउने लक्ष्यका साथ राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।
सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गर्ने भएको छ । साथै सम्मेलनका क्रममा नै एक दर्जन परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ।
संविधानसभाबाट नेपालको संविधान जारी भई गत वर्षको निर्वाचनबाट दुई तिहाइ बहुमतको सरकार गठन भएपछि मुलुकमा राजनीतिक स्थिरता कायम भएको छ । यस परिवेशमा हुन लागेको यो लगानी सम्मेलन मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने कोशेढुङ्गा सावित हुने सरकारको अपेक्षा छ ।
दुईदिने सम्मेलनको पहिलो दिन नेपाल सरकारकोतर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानीसम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु सञ्चालन हुनेछन्।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुई वटा क्षेत्रगत र तीन वटा ‘प्लेनरी’ सत्र सञ्चालन हुनेछन्। यस सम्मेलनले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने आशा लिइएको छ । लगानी सम्मेलन सफलरुपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया