लुकामारी जस्तो : सर्वोच्चले छोड्ने आदेश, प्रहरीले पक्रने
सारांश
- काठमाडौं ।
- सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न चौथोपटक आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ ।
- सर्वोच्चको आदेशको उल्लंघन गर्दै छोड्ने आदेश लगत्तै पक्राउ गरेको यो चौंथोपटक हो ।
काठमाडौं । सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न चौथोपटक आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ ।
सर्वोच्चको आदेशको उल्लंघन गर्दै छोड्ने आदेश लगत्तै पक्राउ गरेको यो चौंथोपटक हो ।
शुरुमा व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका विश्वकर्मालाई शुक्रबार पनि छोड्ने आदेश भएपछि सर्वोच्च परिसरबाटै पक्राउ गरिएको हो ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले शुक्रबार विश्वकर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियो।
‘निवेदक (विश्वकर्मा) लाई गैरकानूनी थुनामा राखेको देखिँदा आजै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरेकाले निज खड्गबहादुर विश्वकर्मालाई गैरकानूनी थुनाबाट यस अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा छाड्नू’ आदेशमा भनिएको छ ।
आदेशमा नागरिकको वैयक्तिक स्वतन्त्रताको उपयोगका विषयमा सरकार तथा सरकार मातहातका निकाय संवेदनशील हुन ध्यानाकर्षण गरिएको छ। विश्वकर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको यो चौथो पटक हो।
सर्वोच्चले भनेको छ ‘सर्वोच्चको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन भन्ने आशंकाको आभास भएको छ । नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोगको विषयमा सरकार र मातहतका नियका असंवेदनशील र गैरर जिम्मेवार हुने छुटका लागि यो अदालत मौन रहन नसक्ने ।’
संविधानले दिएको नागरिकको स्वतन्त्रतता हनन् भएको भन्दै अदालत संवेदनशील भएको आदेशमा उल्लेख छ ।
उनलाई व्यापारीसँग सात करोड रुपियाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो। त्यसपछि उनलाई काभ्रे, नुवाकोट, दाङ पुराएर विभिन्न मुद्दा लगाइएको थियो । दाङमा राखिएका उनलाई प्रहरीले हेलिकप्टरबाट सर्वोच्चको आदेशमा काठमाडौं ल्याएको थियो ।
प्रतिक्रिया