वामदेव कास्कीमा चुनाव नलड्ने
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन् ।
- गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन् । गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ गौतम पराजित हुने डरले नै चुनाव नलड्ने निर्णयमा पुगेको हुनसक्ने नेकपाका एक नेताले बताए । ती नेताले हिमालय टाइम्ससँग भने, ‘उहाँ (गौतम) ले आफँै भनिसक्नु भएको छ ।
बर्दिया–१ बाट चुनाव लड्दा विपक्षीको तुलनामा ३२ हजार मत हुँदा पनि पराजित हुनुप¥यो कास्कीमा जित्ने सम्भावना छैन भनेर । उहाँ पछि हट्नुमा चुनावमा हार्ने डरबाहेक अरू कारण छैन ।’ कास्कीमा सत्तारूढ नेकपाले उपनिर्वाचन भन्दा पहिले गरेको मत सर्वेक्षणमा पनि नेकपा उम्मेदवारले जित्ने आशंका उत्पन्न भएको रिपोर्ट गौतमसम्म पुगेपछि उनी पछि हटेको नेकपा स्रोतको बुझाइ छ ।
आफूले कास्कीलाई कार्यक्षेत्र बनाउनुभन्दा स्थानीय नेताले टिकट पाउनु पहिलो अधिकार भएको गौतमले बताएका छन् । उनले भनेका छन्, ‘मलाई विश्वास छ, मभन्दा अरू कोही स्थानीय कमरेड उठ्दा सहजै विजय प्राप्त गर्न सक्नुहुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरू उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेस गर्दछु ।’
अध्यक्षद्वयले गौतमलाई उपनिर्वाचनमा कास्कीबाट उम्मेदवार हुन संयुक्त प्रस्ताव गरेको समाचार हालै आएको थियो । बर्दियामा पराजित भएपछि गौतम काठमाडौंमै उपनिर्वाचन गराएर संसद् प्रवेश गर्ने योजनामा थिए । गत वर्षको असोजमा काठमाडौं–७ का सांसद रामवीर मानन्धरले गौतमका लागि पार्टीमा राजीनामा नै बुझाएका थिए । । मानन्धर राजीनामा दिन तयारसमेत भएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सकारात्मक नभएपछि गौतम पछि हटेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल गौतमका पक्षमा थिए ।
गौतमलाई गत वर्ष भदौमा डोल्पाबाट निर्वा्चित धनबहादुर बुढाको ठाउँमा उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो । बुढालाई राजीनामा दिन लगाएर गौतमलाई उक्त स्थानमा उपनिर्वाचनमार्फत चुनावमा प्रतिस्पर्धा गराउने तयारी गरिए पनि पार्टी भित्रैबाट आलोचना भएपछि गौतम पछि हटेका थिए ।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ मा उपनिर्वाचन हुँदैछ । अधिकारी २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट निर्वा्चित भएका थिए । लोकप्रिय नेता अधिकारी २७ हजार दुई सय सात मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले १८ हजार ६६१ मत ल्याएका थिए ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहहरूमा गरेर विभिन्न ५१ स्थानमा उपनिर्वाचन हुने भए पनि कास्की २ लाई विशेष रूपमा हेरिएको छ । लोकप्रिय नेता अधिकारीको निधनपछि आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा स्व. नेता अधिकारीपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउनुपर्ने आवाज बलियो छ । हिमालय टाइम्सबाट
प्रतिक्रिया