वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्

सारांश

  • काठमाडौं : एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभाको आयोजना गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।
  • बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।
  • उनका अनुसार एकता घोषणासभा भव्य बनाउन दुवै पार्टीले आन्तरिक तयारी गर्ने समझदारी पनि बिहीबारको बैठकमा भएको छ।

काठमाडौं : एमाले-माओवादीले वैशाख ९ गते काठमाडौंमा भव्य सभाको आयोजना गरी पार्टी एकता घोषणा गर्ने भएका छन्। बिहीबार बसेको पार्टी एकता संयोजन समिति बैठकले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको अवसर पारेर एकताको घोषणा गर्ने निर्णय गरेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।

उनका अनुसार एकता घोषणासभा भव्य बनाउन दुवै पार्टीले आन्तरिक तयारी गर्ने समझदारी पनि बिहीबारको बैठकमा भएको छ। ‘९ गते लेनिन दिवसमा पार्टी एकता गर्ने समझदारी भएको छ’, बैठकपछि अन्नपूर्णसँग नेता खनालले भने, ‘त्यसदिन हामी एउटा बृहत् सभामार्फत पार्टी एकताको घोषणा गर्छौं। काठमाडौंमा लाखौं मास उपिस्थित हुन्छ। त्यसको तयारीका लागि दुवै दलले आ–आफ्नो पार्टी कमिटी परिचालन गर्ने समझदारी बनेको छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

एकता घोषणाका दिन राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा नै नयाँ सन्देश प्रवाह गर्नुपर्ने छलफल पनि बैठकमा भएको थियो। सोहीअनुसार तयारी तीव्र पार्न बैठकले दुवै पार्टी कमिटीलाई निर्देशन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए। पार्टी एकता संयोजन समिति बैठकपछि आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले एकता घोषणा सभा भव्य रूपमा गर्न दुवै पार्टीले आन्तरिक तयारी गर्ने निर्णय भएको बताएका थिए। ‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केपछि एकताका अन्य कुरा टुंग्याएर २२ अप्रिलमा एकता घोषणा गर्ने समझदारी हामीबीच बनेको छ’, उनले भने।

दाहालले त्यसदिन लाखौँ जनताको उपस्थितिमा विशेष र भव्य कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा हुने पनि बताए। पार्टी एकताका दिन राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा नै नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यसहितको कार्यक्रम बन्ने उनको भनाइ थियो। ‘पार्टी एकताको दिन नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं’, उनले भने, ‘त्यसदिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना हामीले बनाएका छौं।’

पार्टी एकताका लागि अझै पनि यी दुई दलबीच एकीकृत पार्टी संगठनमा कुन पक्षका कति नेता समेटिने भन्ने संख्या र चुनाव चिह्नसम्बन्धमा सहमति जुटिसकेको छैन। बिहीबारको बैठकमा यसबारे छलफल हुन नसकेको नेताहरूले बताएका छन्। यो विषय अब प्रधानमन्त्रीको भारत भ्रमणपछि बस्ने संयोजन समिति बैठकले टुंगो लगाउने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

‘अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन निर्माण कार्यदलले दिएको प्रतिवेदनमा प्रारम्भिक छलफल भएको छ, अन्य विषयमा प्रधानमन्त्रीको भारत भ्रमण लगत्तैको बैठकबाट टुंगो लगाउने सहमति छ’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?