शिक्षामन्त्रीको क्षेत्रमा स्कूलको विजोग, विद्यालय हो कि गोठ ?
सारांश
- महोत्तरी १६ वैशाख ।
- न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै , हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी ।
- यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेकोजनता आधारभूत विद्यालयको हो ।
महोत्तरी १६ वैशाख । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै , हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेकोजनता आधारभूत विद्यालयको हो ।
यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल निर्वाचित भएको क्षेत्रमा पर्छ । यस्तै दुई पटक संविधानसभा सदस्य र अहिले प्रदेश सांसदमा निर्वाचित माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पनि गाउँ हो यो । प्रतिनिधिसभा सांसद दिलकुमारी साहको गाउँ पनि यही हो । गाईभैंसी, बाख्रा बाँध्ने गोठनजिकै एकै ठाउँमा बसेर कखरा पढ्छन् विद्यार्थी । झट्ट हेर्दा गोईभैंसीको गोठ हो कि विद्यालय छुट्ट्याउनै मुस्किल पर्छ ।
फूलकाहाको दलित मुसहर बस्तीमा ०६६ सालमा जनता आधारभूत विद्यालय खोलिएको हो । मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरिएको थियो ।
विद्यालयको नाममा एक धुर पनि जग्गा छैन । कक्षाकोठा पनि छैन । भौतिक संरचनाबिनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय सञ्चालन अनुमति दियो । विद्यालय खुलेको ९ वर्ष बितेको छ । एउटा टेबल, दुई थान कुर्सी र एउटा ब्ल्याक बोर्ड मात्रै छ विद्यालयको सम्पत्ति । ब्ल्याकबोर्ड पनि फुटेर प्लाई उक्किसकेको छ ।
मुसहर बस्तीको बीचमा गाउँलेको सामूहिक घरमा बालबालिका राखेर पढाइन्छ । शिशु, एक र दुई कक्षाको पढाइ एकै ठाउँमा हुन्छ । दलानमा मुस्किलले ३० जना पढ्न सक्छन् । सबै विद्यार्थी आएका दिन बाहिरै बसेर पढ्नुपर्ने बाध्यता छ । दलानअगाडि गाईवस्तुको गोठ छ ।
त्यसकै नजिक बालबालिका राखेर पढाइन्छ । ‘दलानको छानो जीर्ण छ । छानोको टायल फुटेकाले छ्याङ आकाश देखिन्छ । बोरा ओछ्याएर १२ महिनै भुइँमा बसेर पढ्नुपर्छ । बर्खामा पानी चुहिन्छ ।
प्रतिक्रिया