श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’

सारांश

  • काठमाडौं, २६ वैशाख ।
  • धार्मिक हिंसा भड्काउने तयारीअनुसार आफैमाथि गोली चलाउन लगाएका धर्मगुरु श्रीनिवास आचार्य र पूर्वराजा ज्ञानेन्द्र शाहबीचको सम्बन्धको खुलासा भएको छ ।
  • यतिमात्र होइन, श्रीनिवासले ज्ञानेन्द्रसँग धर्म जोगाउन मुस्किल भएको गुनासो गरेका थिए ।

काठमाडौं, २६ वैशाख । धार्मिक हिंसा भड्काउने तयारीअनुसार आफैमाथि गोली चलाउन लगाएका धर्मगुरु श्रीनिवास आचार्य र पूर्वराजा ज्ञानेन्द्र शाहबीचको सम्बन्धको खुलासा भएको छ ।

यतिमात्र होइन, श्रीनिवासले ज्ञानेन्द्रसँग धर्म जोगाउन मुस्किल भएको गुनासो गरेका थिए । २०७४ को चैतभर झापाको दमकस्थित हिमालय टि गार्डेनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग धर्मगुरु श्रीनिवास आचार्यको पटक–पटक भेट भएको थियो ।

पूर्वराजा काठमाडौं फर्किनासाथ श्रीनिवासमाथि गोली चलेको थियो । जसविरुद्ध इटहरीमा कालो व्यानरसहित विरोध प्रदर्शन गरिएको थियो । पूर्वराजा धरानको दक्षिणकाली र बुढासुव्वालगायतको दर्शनका लागि परिवारसहित पुग्दा आचार्य श्रीनिवासले भेटेका थिए । भेटमा उनले गुनासो राख्दै भनेका थिए– धर्म जोगाउन मुस्किल भयो सरकार !

त्यसअघि बारा स्थायी घर भई धार्मिक क्षेत्र सुनसरीको बराहक्षेत्रमा बस्दै आएका युवा धर्मगुरु श्रीनिवासलाई सिमराको पानी ट्यांकीमा भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र पुगेका थिए । यसैले पनि श्रीनिवासमाथिको नियोजित गोलीकाण्ड र ज्ञानेन्द्रबीचको सम्बन्ध अर्थपूर्ण रहेको खुलस्त छ ।

छाती छेडिनेगरी श्रीनिवासमाथि गोली प्रहार भएपछि विराटनगरमा पनि विरोध प्रदर्शन भएको थियो । तीन साता श्रीनिवास विराटनगरको न्युरो अस्पतालमा उपचार गराउन बसे । त्यसक्रममा हिन्दू धर्ममा अभियन्तासहित विभिन्न विशिष्टहरूले सहानुभुति भेट गरेका थिए । सो क्रममा राजावादी कोइराला परिवार पनि पुगेको थियो । प्रकाश कोइराला छोरी मनिषा कोइरालासहित अस्पताल पुगेका थिए, श्रीनिवासलाई भेट्न ।

श्रीनिवासमाथि गोली प्रहार भएपछि दबाबमा परेको मोरङ प्रहरीले केही समयमा दुईजना पक्राउ गरेको थियो ।

मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । श्रीनिवाससँगै अन्य दुई जनालाई पनि प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ । समातिएका दुईले उनकै योजनामा गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका थिए ।

पक्राउ परेका चितवन भरतपुर बेलचोकका २९ वर्षीेय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीको बयानका आधारमा श्रीनिवास गोलीकाण्डको अन्तिम अनुसन्धानमा मोरङ प्रहरी पुगेको थियो । चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?