संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
सारांश
- काठमाडौं, २३ फागुन – राजनीतिक लडाइँ सकिएको भन्दै वाम गठबन्धनका शीर्ष नेताले अब आर्थिक विकास र समृद्धिमार्फत ५ वर्षमा नयाँ युगको आधार तय गर्ने प्रतिबद्धता जनाएका छन्।
- प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको यात्रामा साथ दिन प्रतिपक्षी दलसँग सहयोगका लागि आग्रह गरे।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं, २३ फागुन – राजनीतिक लडाइँ सकिएको भन्दै वाम गठबन्धनका शीर्ष नेताले अब आर्थिक विकास र समृद्धिमार्फत ५ वर्षमा नयाँ युगको आधार तय गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको यात्रामा साथ दिन प्रतिपक्षी दलसँग सहयोगका लागि आग्रह गरे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालले चुनावबाट जनताले वाम गठबन्धनको काँधमा देश परिवर्तनको जिम्मेवारी दिएको भन्दै देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण राख्न सरकारलाई सुझाव दिए।
‘जनताले न्यायपूर्ण निर्णय गरेर वाम गठबन्धनको काँधमा जिम्मेवारी दिएका छन्’, नेपालले भने, ‘लोकतन्त्र खुम्चिन्छ कि, अधिनायकवाद आउँछ कि भनेर चिन्ता नगरौं। कम्युनिस्टहरू संस्थागत परिपाटी, विधि र कानुनी शासनमा विश्वास गर्छन्।’
बहुमत प्राप्त भयो भन्दैमा गठबन्धनले अहंकार राख्न नहुने र प्रतिपक्षले पनि असहयोगको नीति लिन नहुनेमा नेपालले जोड दिए। संविधानसभामार्फत संविधान बनाएर मुलुकमा दिगो शान्ति र संविधान कार्यान्वयनमार्फत राजनीतिक स्थिरताको आधार तय भएको नेता नेपालले बताए। उनले भने, ‘अब देशलाई रुपान्तरण गर्ने आँट र दृष्टिकोण चाहिन्छ। सरकार दह्रो भएर अघि बढोस्।’
प्रतिपक्षले पनि सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने उल्लेख गर्दै नेता नेपालले भने, ‘सरकारलाई हनिमुन पिरियड पनि बिताउन दिन्न भन्ने भनाइबाट उत्पन्न हुने परिणाम आफंैले भोग्नुपर्छ।’
सधैंभरि आरक्षण र संरक्षणले मात्र देश उभो नलाग्ने भन्दै पिछडिएको क्षेत्र र समुदाय पनि प्रतिस्पर्धामा आउने वातावरण तय गर्नुपर्नेमा नेपालले जोड दिए। मुलुक विकास हुन नदिने जालो सरकारी संयन्त्रमा तलदेखि माथिसम्म रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘सरकारका हातखुट्टा बाँध्ने काम गर्नुहुन्न। कार्यकारीलाई निर्धक्क काम गर्न दिनुपर्छ। संसदीय समिति र अख्तियारले यो काम गर, त्यो नगर। अदालतले बाटो ठूलो भयो, सानो बनाऊजस्ता आदेश दिनु हुँदैन। भ्रष्टाचार र अनियमितता भयो भने मात्र अख्तियार, संसदीय समिति र अदालतले कार्यकारी निकायका काममा रोक लगाउनुपर्छ।’
‘यो देश डुब्न लाग्यो बचाइदेऊ, यो देशमा म एउटा मानिस खोजिरहेछु’ भन्ने कविता र गीतको भावनाअनुसार सरकार अघि बढ्नुपर्ने नेपालले बताए।
माओवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक लडाइँ पूरा भएको भन्दै अबको लडाइँ स्थायित्व, विकास र समृद्धिको भएको बताए। ‘हिजोको जस्तो सत्ता र कुर्सीका लागि अब कुनै पनि कुकर्म नगर्ने संकल्प गरैाँ’, दाहालले भने, ‘राष्ट्र र जनताका निम्ति जस्तोसुकै त्याग गर्ने र राष्ट्र निर्माणको महान् यात्रामा अघि बढ्ने संकल्प गर्न जरुरी छ।’
प्रतिक्रिया