संसद पुनःस्थापना नभई चुनाव भए के होला

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
संसद पुनःस्थापना नभई चुनाव भए के होला

सारांश

  • बाबुराजा चित्रकारः अहिले धेरैको ध्यान सर्वोच्च अदालततर्फ गएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर मध्यावधि चुनावको घोषणा गरेपछि त्यसविरुद्ध अदालतमा रिट निवेदन परेको छ ।
  • मुद्दाको किनारा संवैधानिक इजलासले नै लगाउने निश्चित भइसकेको छ ।

बाबुराजा चित्रकारः अहिले धेरैको ध्यान सर्वोच्च अदालततर्फ गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर मध्यावधि चुनावको घोषणा गरेपछि त्यसविरुद्ध अदालतमा रिट निवेदन परेको छ । मुद्दाको किनारा संवैधानिक इजलासले नै लगाउने निश्चित भइसकेको छ । फैसला अदालतले गर्ने नै छ । तर, जटिल राजनीतिक संकट ल्याउने यो मुद्दामा जिम्मेवार राजनीतिक दलका जिम्मेवार नेताहरु कसरी अगाडि बढ्ने ? यो यक्ष प्रश्न तेर्सिएको छ ।

प्रतिनिधि सभा बिघटन असंवैधानिक हो भन्नेमा कुनै शंका छैन । तर, चुनाव पनि लोकतन्त्रको आत्मा हो । यतिखेर चुनावमा गएमा संविधान सही ट्रयाकमा आउँछ भन्ने तर्क पनि गरिदैछ । लोकतन्त्रको पक्षधर शक्तिले चुनावको विरोध पनि गर्दैन । तर, के केपी शर्मा ओलीले चुनाव गर्नका लागि घोषणा गरेका हुन् त ? आफूलाई दुई तिहाईको प्रधानमन्त्री बनाउने प्रतिनिधिसभाकै कत्लेआम गर्ने ओलीले पार्टी विभाजनको अवस्थामा चुनाव गराउलान् ? देशको राजनीति सोचेजस्तो सरल रेखामा अब अघि बढ्ला ? संसद पुनःस्थापना नभई देश चुनावमा गएमा कस्तो अवस्था आउला ? यो प्रश्न विचारणीय छ ।

पहिलो तथ्य ओलीले देशमा ठुलै संकट आउन लागेको र संसद नै संकट बनेकाले बिघटन गरेका होइनन् । देशलाई संकटमा धकेल्न जननिर्वाचित संसदले कुनै राष्ट्रघाती वा घातक कदम चाल्दै थिएन । ओलीले पार्टीभित्रको झगडा र सत्ता नै जान लागेपछि टार्न प्रतिनिधिसभाको हत्या गरेका हुन् । यसमा उनको व्यक्तिगत स्वार्थ स्पष्ट देखिन्छ । ओली देश होइनन् । उनलाई जनताले निर्वाचनबाट म्यान्डेट दिएर देश सञ्चालनको जिम्मेवारी मात्र दिएका हुन् । तर, जसले उनलाई प्रधानमन्त्री बनायो त्यही संस्थामाथि उनले छुरा चलाएका छन् । यसबाट उनको नियतमाथि प्रश्न गर्ने ठाउँ छ ।विगतमा पनि प्रधानमन्त्रीहरुमाथ सत्ता संकट आएको थियो । प्रतिनिधिसभामा अल्पमतमा परेपछि धेरै प्रधानमन्त्रीहरुले राजीनामा दिएका थिए । कतिपय अविश्वासको प्रस्ताव पारित भएपछि स्वतः प्रधानमन्त्रीबाट हटेका थिए । उनीहरुले संसदको सामना गरे । कृष्णप्रसाद भट्टराईले विगतमा अविश्वासको प्रस्ताव आउँदा संसद बिघटन गर्न लागिपरेनन् । नैतिकताको राजनीतिलाई स्थापित गर्न त्याग नै गरेको उदाहरण छ । पदभन्दा राजनीतिक सुसंस्कार स्थापित गरेर गए । प्रतिनिधिसभा नै घाँडो ठान्ने केहीका लागि भने यो प्रत्युत्पादक बनेको इतिहास साक्षी छ । जुन भ¥याङ चढेर उक्लियो त्यो भ¥याङ ढाल्ने काम जसले ग¥यो उसले देशलाई संकटमा धकेलेको प्रमाणित भइसकेको छ ।

दोस्रो तथ्य ओलीले प्रतिनिधि सभा बिघटन गरेर असंवैधानिक कदम चालेका छन् । संविधानमा नभएको अधिकारको दुरुपयोग गरेका छन् । यसबाट उनले गलत नजिर बसाल्ने प्रयास गरेका छन् । यो प्रवृत्ति देश र लोकतन्त्रका लागि घातक हुन्छ । यस्तो प्रवृत्तिलाई कहीं कतैबाट प्रश्रय दिनहुन्न । भविष्यमा प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्ने जोकोहीले आफूलाई रिस उठेको भरमा बिघटन गर्न सक्छ । अनि देशले बारम्बार निर्वाचनको भारी बोक्नुपर्ने हुनसक्छ । आवधिक चुनावमात्र लोकतन्त्रको सुन्दरता हो तर विना मौसम र कुसमयको निर्वाचन लोकतन्त्रका लागि घातक हुनसक्छ । यसले जनतामा लोकतन्त्र प्रति नै वितृष्णा जाग्न सक्छ ।

तेस्रो तथ्य, ओलीले प्रतिनिधि सभा बिघटन गराएपछि सबैभन्दा खुशी उग्र राजनीतिक सोच राख्नेहरु देखिएका छन् । राजावादीहरुको सक्रियता केही महिनायता देखिनु र अहिले संसद बिघटनको कदम ओलीले चाल्नुमा संयोग मात्र मान्न सकिदैन । अर्कोतर्फ, विप्लव नेतृत्वको नेकपा पनि यो कदमबाट उत्साही छ । उसले संसदीय व्यवस्था विफल भएको धारणा सार्वजनिक गरेको छ । यसरी एकसाथ अहिलेको राजनीतिक प्रणालीमाथि प्रहार भएको छ । त्यसमा ओलीको कदम सहयोगी बनेको छ । लोकतन्त्रवादीलाई ओलीको कदमले चिन्तामा डुबाएको छ । देशमा कतै अर्को तानाशाह त जन्मिएको होइन ? ओलीले एकपछि अर्को तानाशाही कदम त चाल्ने होइनन् ? उनका गतिविधिहरु त्यसै दिशातर्फ उन्मुख छन् ।

चौंथो तथ्य ओलीले आफ्नो दल नेकपा विभाजित भएको अवस्थामा वैशाखमा चुनाव गर्ने पत्याउन सकिदैन । उनले सत्ता छाड्नुपर्ला भनेर प्रतिनिधि सभा बिघटन गराएका हुन् । अब हार्ने चुनाव गरेर राजनीतिबाट नै सन्यास लिनुपर्ने अवस्थामा ओली पुग्न तयार हुनेछैनन् । किनभने ओली गिरिजाप्रसाद कोइराला जस्ता राजनेता होइनन् जसले देशमा शान्ति प्रक्रिया निर्णायक बिन्दुमा पु¥याउन आफ्नो दल नेपाली काँग्रेस हार्ने जान्दा जान्दै चुनाव गराएका थिए । आफ्नै छोरी सुजाता कोइरालाले ‘काँग्रेस हार्छ चुनाव गर्नुहुन्न’ भन्दा म हारेपनि देश जित्छ भन्ने जवाफ दिएको इतिहास साक्षी छ । ओली आफू जित्नका लागि देशलाई हराउन तयार छन् । आफू सत्तामा बस्नका लागि देशलाई संकटको भुमरीमा धकेल्दैछन् । उनले कुनै पनि हालतमा चुनाव गर्ने तत्परता देखाएका छैनन् । बरु चुनाव गर्छु भन्दै सत्तामा टिकिरहने प्रपञ्च रचेका छन् ।

पाचौं तथ्य ओली आफूलाई चुनावी सरकारको प्रधानमन्त्री मान्न तयार छैनन् । उनका विश्वासपात्र प्रदीप ज्ञवालीले पनि फुल फेजको प्रधानमन्त्री भनेका छन् । यसको अर्थ ओली अबको दुई वर्ष प्रधानमन्त्री बन्ने बहाना कस्दैछन् । संसद पुनःस्थापना नभएर चुनाव गर्नुपर्ने वाध्यता आइलागेमा उनले धकेल्दै सत्ता लम्बाइरहने उपाय रचिसकेका छन् । वैशाखमा चुनाव नगर्ने, मंसिर भन्ने र मंसिरमा चुनाव नगर्ने वैशाख भन्दै पन्छाइरहने उनको रणनीति देखिन्छ । विरोधीलाई कमजोर पार्न तत्कालिन राजा ज्ञानेन्द्र शाहको शैलीमा ‘फुटाऊ र राज गर’को अस्त्र तयार गरेका छन् । मन्त्री दिदै विरोधी समूहका नेताहरुलाई तान्ने उनको रणनीति देखिइसकेको छ ।

छैठौं तथ्य ओलीले जर्बजस्ती चुनाव गर्ने रणनीति पनि बनाएका छन् । सत्ताको दुरुपयोग गरी विगतमा राजाले गराएजस्तो चुनाव गर्ने उनको तयारी पनि हुनसक्छ । त्यस्तो तयारीले देशमा अर्को रक्तपातपूर्ण अवस्था आउनसक्छ । ओली बरु रक्तपात मच्चाउन तयार छन् हठ त्याग्न तयार छैनन् । उनको कार्यशैलीले उग्रवादीहरुलाई मलजल प्रदान गरेको छ । देशमा अर्को अराजकता मच्चिनसक्छ । चुनावमा फुटेको नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधर सहभागी हुने सम्भावना देखिदैन । जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि सहभागी हुने अवस्था देखिएको छैन । नेपाली काँग्रेसभित्र पनि सडकबाट भएपनि संसद पुनःस्थापना गरी संविधानलाई ट्रयाकमा ल्याएर मात्र चुनावमा जानुपर्ने आवाज बलियो भइरहेको छ ।

निष्कर्षमा देशलाई संकटबाट जोगाउनका लागि जहाँबाट गल्ती भएको हो त्यहींबाट सच्याउन जरुरी छ । प्रतिनिधिसभा बिघटन गरेर ओलीले गम्भीर गल्ती गरेका छन् । अब सच्याउनका लागि प्रतिनिधिसभाको पुनःस्थापना गर्नुपर्छ । यो राजनीतिक विषय भएकाले राजनीतिक तरिकाले हल खोज्न पनि तयार हुनुपर्छ । विगतमा गिरिजाप्रसाद कोइरालाले संसद पुनःस्थापनाको अडान नछाडेर संविधानलाई ट्रयाकमा ल्याएका थिए । जसका कारण जटिल मानिएको शान्ति प्रक्रिया पनि सफल भएको थियो । इतिहासको यो तथ्यलाई मनन गरेर संसदको पुनःस्थापनालाई केन्द्रमा राखेर जानुपर्ने आजको आवश्यकता हो । विगतमा संसद बिघटन गरी मध्यावधिमा जाने र संसदलाई कमजोर पारेर निरंकुशताको उदय भएको घटनालाई बिर्सनहुन्न । लोकतन्त्रमा संसदविहिनताको अवस्थाले अराजकता र अस्थिरता निम्त्याउँछ । त्यसैले संसद पुनःस्थापना गरेर संविधानलाई जीवनदान दिएर अगाडि बढ्नुपर्छ । ओलीको चुनावी बल्छीमा कोही पनि पर्नुहुन्न ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
सांसदले मागे १०/१० करोड
सांसदले मागे १०/१० करोड
बेनीबाट बेपत्ता भएकी युवतीको शव २१ दिनपछि भेटियो
बेनीबाट बेपत्ता भएकी युवतीको शव २१ दिनपछि भेटियो
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन

तपाईंले छुटाउनुभयो कि?