वाम एकताका आधार र अड्चन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
वाम एकताका आधार र अड्चन

सारांश

  • काठमाडौँ, पुस ३०।
  • नेकपा एमाले र माओवादीजस्ता आपसमा संघर्षरत राजनीतिक दलहरूको चुनावी गठबन्धन र पार्टी एकताको झट्काले अहिले पनि नेपाली राजनीति तरंगित हुन छाडेको छैन ।
  • चुनावी गठबन्धन नै असफल होला भन्ने अनुमान धेरैतिर थियो ।

काठमाडौँ, पुस ३०। नेकपा एमाले र माओवादीजस्ता आपसमा संघर्षरत राजनीतिक दलहरूको चुनावी गठबन्धन र पार्टी एकताको झट्काले अहिले पनि नेपाली राजनीति तरंगित हुन छाडेको छैन । चुनावी गठबन्धन नै असफल होला भन्ने अनुमान धेरैतिर थियो ।

अाजकाे कान्तिपुर दैनिकमा खवर छ – तर त्यो छोटो समयमै अपेक्षा गरेभन्दा निकै सफलतापूर्वक मञ्चन भइसकेको छ । अब सारा आँखा दुई पार्टीको सम्भावित पार्टी एकतातिर केन्द्रित छ, जुन स्वाभाविक पनि छ, किनभने यी दुई पार्टी मिल्दा चीन र भियतनामपछि एसियाकै तेस्रो ठूलो सत्तारूढ कम्युनिस्ट पार्टी बन्न पुग्छ ।

अझ यो पार्टी एकता साकार भएमा संसदीय चुनावमा मतदानको बाटोबाट यति ठूलो र संसदीय सिट हासिल गरेको एसियाकै सबभन्दा ठूलो पार्टी यही हुने हुन्छ । तर यक्षप्रश्न के छ भने के यो एकता सफलतापूर्वक सम्पन्न होला त ? के यी दुई पार्टी एकीकृत हुने बलिया सैद्धान्तिक/व्यावहारिक आधारहरू छन् ? पार्टी एकताका चुनौती र अड्चनचाहिं के छन् ?

सिद्धान्त, संस्कृति र समग्र राजनीतिका सम्बन्धमा सघन छलफल गरेर यी दुई पार्टीको एकता हुन लागेको देखिंँदैन । यो एकतामा सिद्धान्तलाई ज्यादै कम र पद र सत्ताको अंकगणितलाई ज्यादा हेरिएको छ । तथापि स्वस्फूर्त र अघोषित रूपमा नै सही, यी दुई दलको पार्टी एकताका निम्ति मूर्त आधारहरू भने प्रशस्त मात्रामा देखिन्छन् ।

एकताका लागि मुख्य आधार

पहिलो- दुवैले आफूलाई ‘कम्युनिस्ट पार्टी’ भन्छन्, व्यवहारमा भने दुवैले संसदीय चरित्र, सुधारवाद र व्यवहारवाद उदांगो रूपमा अँगालेका छन् ।

दोस्रो- दुवैको साझा घोषित मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद छ, परन्तु दिनदिनैको राजनीतिक मैदानमा यी दुई पार्टीको सैद्धान्तिक/राजनीतिक मिलनविन्दु समाजवादी लोकतन्त्र भएको देखिन्छ ।

उनीहरूको महाधिवेशनबाट पारित भएका दस्तावेज, दुवै मिलेर निर्माण गरेको नेपालको नयाँ संविधान र हालै जारी साझा चुनावी घोषणापत्रको अध्ययन गर्दा तात्कालिक र दीर्घकालीन राजनीतिका रूपमा दुवैले लोककल्याणकारी राज्य, समानुपातिक समावेशिता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन र संसदीय लोकतन्त्रसहितको समाजवादलाई पथप्रदर्शक सिद्धान्त बनाएको भेटिन्छ । दुवै नेपाललाई पुँजीवादी मुलुक ठान्छन् र अबको क्रान्ति समाजवादी क्रान्ति हो भन्ने साझा धारणा राख्छन् ।

तेस्रो- सांगठनिक सिद्धान्तको हकमा दुवैले लेनिनवादको वकालत गर्छन् तर यथार्थमा दुवैले अगुवा दस्ताजन्य कार्यकर्तामा आधारित लेनिनवादी सांगठनिक सिद्धान्तलाई ‘बाईबाई’ गरिसकेको भेटिन्छ । बदलामा दुवैले जनआधारित, केवल संसदीय चुनावी विजयकेन्द्रित सांगठनिक सिद्धान्त अपनाएका छन्, जसलाई संसदीय चरित्रको व्यवहारवादी सांगठनिक सिद्धान्त भन्न सकिन्छ ।

यसअन्तर्गत कुनै पनि मूल्यमा यो चुनावदेखि ऊ चुनावसम्मको जित नै उनीहरू दुवैको मुख्य ध्येय/ध्याउन्न र प्राथमिकता हुनगएको छ । यहीअनुरूप दुवैको पार्टी सदस्य वा नेता हुन अब श्रमिक वर्ग गरिब र मध्यम किसान वा उत्पीडित समुदायका मानिस हुनुपर्दैन । सम्भ्रान्त वर्ग, ठूलो पुँजीपति वर्ग वा प्रतिक्रियावादी खेमाका जुनसुकै वर्गका मानिससमेत, देशकै सबैभन्दा धनाढ्य अर्बपति वा कुख्यात ‘डन’ पृष्ठभूमिका मानिसहरूसमेत दुवैको पार्टी संगठनमा वा संसदीय चुनावी उम्मेदवारमा स्वागतयोग्य भइरहेका छन् ।

चौथो- समाजवादी संस्कृतिको दुवैले वकालत गर्छन् परन्तु यथार्थको धरातलमा उदांगो रूपमा दुवैले विकृत पुँजीवादी व्यक्तिवादी संस्कृति अपनाएका छन् । त्यागी, सेवाभाव भएका, समाजकेन्द्री नेता/कार्यकर्ता दुवैतिर नभएका होइन्न् तर अवसरवादीहरूको महासागरमा उनीहरू सानो टापुजस्तोभएका छन् ।

पाँचौं- दुवै दलको शीर्ष नेतृत्व तहमा, पहिलो, दोस्रो र तेस्रो तहको नेतृत्वमा समेत, पार्टी एकताका लागि काफी तत्परता भेटिन्छ । केपी ओली र प्रचण्ड दुवै पार्टी एकताका लागि व्यग्र देखिएका छन् र संगठन अहिले पनि उनीहरूको मजबुत पकडमा देखिन्छ । यस प्रकार दुवै दलको अघोषित राजनीतिक दर्शन, सिद्धान्त, दीर्घकालीन र तत्कालीक राजनीति, संस्कृति र सांगठनिक सिद्धान्तमा, ध्येय र ध्याउन्नमा एक हदसम्म समानता देखिन्छ ।

यही समानताका कारण यी दुईथरी दलबीच पार्टी एकता निकट भविष्यमा सम्भव देखिन्छ । आपसमा गहन छलफल नगरे पनि दर्शन र सिद्धान्त उस्तै, तत्कालीन र दीर्घकालीन राजनीति उस्तै, ध्येय र प्राथमिकता उस्तै, संस्कृति र सांगठनिक सिद्धान्त उस्तै भएपछि ती अलग–अलग दलका रूपमा रहिरहनुभन्दा आपसमा मिलेर एउटा पार्टी बनाउनु धेरै राम्रो र स्वागतयोग्य कुरा हो । जे भए पनि यी दुई समाजवादको रामनामी वस्त्र अहिले पनि पहिरिरहेका वामपन्थी दल त हुन् नै ।

पार्टी एकताका लागि

पहिलो ठूलो अड्चन र चुनौती- यी दुई दलले बोकेको मदन भण्डारीपथ र प्रचण्डपथ, बहुदलीय जनवाद र माओवाद नाम गरेको दुई अलग–अलग विचारका ‘ब्रान्ड’ हरूलाई पहिचानको समस्या नहुने गरी कसरी समायोजन गर्ने भन्नेमा हुने देखिन्छ ।

एउटाको पृष्ठभूमिमा सशस्त्र संघर्षलाई दुत्कारेर बहुदलीय संसदीय लोकतन्त्रमा हेलिएको चौथाइ शताब्दी लामो राजनीतिक पहिचानको इतिहास छ । अर्कोसित १५ हजारभन्दा ज्यादा नेपालीको बलिदान निहित रहेको एक दशक लामो सशस्त्र संघर्षको पृष्ठभूमि छ ।

यी परस्पर अन्तरविरोधी विचार र बाटाहरू एकले अर्कोको निन्दा नगरीकन कसरी एकीकृत होलान् ? विगतको इतिहासलाई बहसको विषयका रूपमा थाँती राख्दै, मदन भण्डारीपथ र प्रचण्डपथ अनि बहुदलीय जनवाद र माओवादलाई इतिहासको महत्त्वपूर्ण वैचारिक सम्पत्ति र विरासतको रूपमा स्विकारेर वर्तमान तथा भविष्यका लागि नयाँ समाजवादी बाटो तय गर्न सके मात्र यी दुईको एकता प्रक्रिया अघि जान सम्भव हुने देखिन्छ ।

दोस्रो ठूलो अड्चन र चुनौती- नेताहरूको पदको व्यवस्थापन र संगठनहरूको एकीकरणमा हुनजाने देखिन्छ, किनभने दुवै पदाकांक्षी नेताहरू धेरै भएका दलहरू हुन्् । एकता भएपछि कैयन् नेताको छँदा–खाँदाको पद, अवसर र मर्यादाक्रम खोसिने/खुम्चिने निश्चितप्राय: छ । यसले प्रत्येक दलमा सानो–ठूलो विग्रह वा विद्रोह नै पैदा हुन सक्छ ।

यी चुनौतीलाई सम्बोधन गरेर पार्टी एकता गर्नु फलामको च्युरा चपाउनुसरह हुनेछ । पार्टी एकताका लागि हरेकले जुनसुकै अवसर, मर्यादा र पदको त्याग गर्न सकेमा, चाकडी नगरे पनि हरेक योग्य र सक्षम व्यक्तिले निश्चित रूपमा पारदर्शी ढंगले प्रणालीगत रूपमा नै अवसर पाउने थिति बसाल्न सकिएमा तथा एक व्यक्ति एक पद/एक अवसरको प्रणाली स्थापित गरेर अहिलेकै स्थितिमा पनि धेरैभन्दा धेरै पद/अवसर सिर्जना गर्न सकिएमा नै केही हदसम्म यो चुनौतीलाई चिर्न सम्भव हुने देखिन्छ ।

तेस्रो ठूलो चुनौती र अड्चन- अनपेक्षित वाम एकताबाट तिल्मिलाएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजीवादी खेमाबाट यो एकतालाई फुटाउन सुरु भएको षड्यन्त्र र चालबाजी हो । यस क्रममा प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री पदको चारो फ्याँक्ने काम भई नै सकेको छ । अरू ठूला प्रलोभन र चालहरू क्रमबद्ध रूपमा मञ्चन हुने निश्चितप्राय: छ । के यी लोभलालच र षड्यन्त्रलाई चिर्न पदाकांक्षी अगुवाहरू समर्थ होलान् त ?

चौथो ठूलो चुनौती र अड्चन- मधेसी मुद्दामा र पाखा परेका समुदायको पहिचान, समानता र समावेशिताको सवालमा एमाले नेपाली कांग्रेसभन्दा पनि कट्टरपन्थी र पश्चगामी देखिन्छ । तर अब हुने संसद्मा सबभन्दा अगाडि संविधान संशोधनकै मुद्दा आउने निश्चितप्राय: छ । यो मुद्दाले संसद्मा पुन: कम्पन ल्याउँदा यी दुई विपरीत सोच राख्ने दलहरू कति र कसरी एकताबद्ध भइरहलान् ?

जुन हतारोमा यो एकता गरिँदै छ, त्यसले देखाउँछ कि यसमा सैद्धान्तिक, सांस्कृतिक र वैचारिक छलफल ज्यादै कम गरिँदै छ । सम्भावित एकताको सबभन्दा कमजोर पक्ष नै यही देखिन्छ । खालि चुनाव जित्ने र सरकार निर्धक्कसित पाँच वर्ष टिक्ने ढंगको ठूलो पार्टी कसरी बनाउने ?

माथि र तल नेतृत्वदायी मानिसहरूका बीचमा पदीय व्यवस्थापन कसरी गर्ने ? पार्टी संगठनदेखि जनवर्गीय संगठनहरूको एकताको व्यवस्थापन कसरी गर्ने ? यिनै सांगठनिक विषयले मात्र छलफलमा अत्यधिक ज्यादा स्थान लिएको देखिन्छ । परन्तु यही औधि हतारो र हचुवामा हुनलागेको पार्टी एकताले यसलाई छोटो आयुको बनाउन सक्ने प्रवल सम्भावना छ ।

विगतको भूलबाट पाठ लिएर समाजवादसित आम जनता र श्रमिक समुदायको सशक्तीकरण, स्वतन्त्रता र समावेशिता–सहभागिताजन्य लोकतन्त्रलाई कसरी जोड्ने ? दुवै दलमा बढ्दै गएको विकृत पुँजीवादी व्यक्तिवादी संस्कृति र भ्रष्टाचार खत्तम गर्न निरन्तर वैचारिक र सांस्कृतिक आन्दोलन कसरी चलाउने ?

बीसौं र एक्काइसौं शताब्दीको विज्ञानका पछिल्ला आविष्कारहरूका आधारमा समाजवादी सिद्धान्त र दर्शनमा नल्याई नहुने परिष्कार र हेरफेर के हुन् ? अहिले विज्ञान र प्रविधिको युगमा समाजवादी क्रान्तिसम्बन्धी सोचमा र समाजवादी सांगठनिक सिद्धान्तमा ल्याउनुपर्ने परिमार्जन के हुन् ? आदि ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
बाढी पहिरोबाट कृषिमा ३१ लाख क्षति
सलह किरा मार्नेलाई किलोको एक सय
सलह किरा मार्नेलाई किलोको एक सय
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
What Does Online Dating Work? Your Guide To How You Can Discover a Date On the web
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
आज देशभर वर्षा र हिमपातको सम्भावना
आज देशभर वर्षा र हिमपातको सम्भावना
कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा
कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?