सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग:राष्ट्रियसभा बैठक
सारांश
- काठमाडौं।
- सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए।
काठमाडौं। सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए।
सांसद बलराम बाँस्कोटाले भने, “राजतन्त्र समाप्त भइसक्यो। समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ। यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ।”उनले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउँदै कोहीमाथि प्रश्न उठिसकेपछि अनुसन्धान गर्ने काम सरकारको हो, कसैले पनि अनुसन्धानमा बाधा पुर्याउन हुुँदैन भने।
सांसद धनकुमारी खतिवडाले तराईरमधेशसहित देशका विभिन्न जिल्लामा आएको डुबान, बाढीपहिराका पीडितलाई थप राहतको व्यवस्था गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई आग्रह गरिन्।उनले भने, “उद्यपुरको मदनभण्डारी राजमार्गमा ४३ वटा पुल छिटो निर्माण सम्पन्न हुनुपर्यो। पुलको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० अनुसार काम हुनुपर्यो। खेतीयोग्य जमीन नष्ट हुनेतर्फ ध्यान दिनुपर्यो।”
भीडतन्त्रले होइन, न्यायालयले न्यायको निरुपण गर्छ
यसैगरी बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दोष प्रमाणित गर्न सक्दैन भने। उनले भने, “भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ।”
सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गरे। उनले भने, “भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ। अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन्। अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ।”सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरिन्।
सांसद कोमल ओलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिइन्। सांसद तारादेवी भट्टले युवाहरुलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गरिन्। सांसद रामप्रीत पासवानले प्रक्रिया पुगेका नागरिकलाई नागरिकता दिनुपर्छ भनिन्।सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पुर्याउनेलाई कारवाही गर्नुपर्छ भने।
सांसद रमेशप्रसाद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिको शिक्षक कोटामा अन्य व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया