सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!

सारांश

  • काठमाडौं, २ फागुन -जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्।
  • किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ।
  • तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।

काठमाडौं, २ फागुन -जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे।

धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१÷३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजु स्याङ्त्तानले खबर लेखेका छन् ।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो। सात खुन माफ थियो जमिनदारका लागि। कानुन उनीहरूकै मुठीमा थियो।

सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए। फुटपाथमा पुगे। जिन्दगीभर अभाव झेले। त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए। गोजीमा राखेका थिए सेतो टोपी। खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल। माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा।

पटक-पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम-इतिहास खोल्न चाहेनन्। आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए।

४०/४२ वर्षअघि एउटा प्रेमकथा यसरी अंकुराएको थियो

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो। खेतमा नारिएका थिए दर्जनौं हल गोरु। कोही ब्याडमा धानका बीउ उखेलिरहेका रहे, कोही छुपुछुपु धान रोपिरहेका थिए। एउटा उत्सव चलिरहेको थियो खेतमा। त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे। हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए। एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा। ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण। उनलाई परिवारमा मायाले ‘भृगु’ भनेर बोलाउँथे।

विहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए। सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे। उनी थिइन्, १६ वर्षीया रसुलिया खातुन। सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ। भन्छन्, ‘उनी गोरी थिइन्। हँसिलो चेहरा, मिलेको जिउडाल। भुतुक्कै पार्ने मुस्कान। रसुलिया परीजस्तै थिइन्।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी। उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो। उनी पनि आमासँगै धान रोप्न आएकी थिइन्। उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन्। उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो। सत्यनारायण पनि हेरेको हेर्‍यै भए।

सिरहा, औरहीका सत्यनारायणका बाजे तिलकदास यादव कहलिएका जमिनदार। उनीसँग सयौँ बिघा खेत थियो। सात भाइ छोरा थिए उनका। जसमध्ये काइँला छोरा हृदयनारायण उनका बुबा थिए।

रसुलियालाई देखेपछि उनको जिन्दगी सदाका लागि बदलियो। रसुलिया खेतमा काम गर्न आएको बेला उनी खेतमै पुग्थे। नआएको दिन रसुलियाकै घर छेउछाउ जान्थे। उनलाई भेट्ने अनेक बहाना खोज्थे। बिनाकाम रसुलियाको घरको चक्कर काट्थे। ‘म त उसको दिवाना भइसकेको थिएँ,’ उनी सम्झन्छन्।

रसुलियाले सत्यनारायणको भाव बुझ्न थालिन्। गरिब परिवारमा जन्मिएकी रसुलियासँग जमिनदारको छोरालाई मनमा राख्ने हैसियत थिएन। सत्यनारायण भने उनको मायामा डुबिसकेका थिए। तर, डर थियो परिवारको र समाजको। एउटा कट्टर हिन्दू परिवार, अर्को कट्टर मुस्लिम परिवार। एउटा फुसको झुपडीबाट तारा गन्ने परिवार। अर्को भव्य बंगलाबाट जूनताराको स्वाद लिने परिवार !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?