सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए शुक्रबार बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन्।
  •   बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए शुक्रबार बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन्। 
बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे। 
‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ। सभामुख सदनमा आउनुपूर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न,’ थापाले भने, ‘तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भूमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाइरहेका छैनौं।’
उनले चिकित्सा शिक्षा विद्येयक अरु विद्येयकभन्दा फरक विद्येयक भएको उल्लेख गरे। 
थापाले भने, ‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ। त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो।’
सभामुख महराको भूमिकालाई लिएर आक्रोशित थापाले अघि थपे, ‘यो विषयमा संसदको पनि प्रश्न रहँदै गर्दा यो बेलामा, यतिखेर सम्मानीय सभामुखको भूमिका विवेकपूर्ण भएको हामीले देखेका छनौं। सभामुखको भूमिका भनेको त, जिम्मेवारी भनेको त त्यो ठाउँबाट त पर्दा पछाडिबाट पनि भूमिका निर्वाह गरेर यो विधेयक सदनमा पनि सम्झौता भएर आएको छ। यसमा सम्झौता खोज्नको निम्ति मैले पनि पहलकदमी गर्नुपर्छ भन्ने ठाउँमा सम्पूर्ण रुपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको हो। यो स्विकार्य छैन। ’ 
नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले शुक्रबार सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर यहाँबाट घोषणा गरिरहेको भन्दै उनले कडा टिप्पणी गरे। उनले भने, ‘यहाँबाट फद्वा जारी राख्नुभएको छ। यस्तो–यस्तो हुन्छ भनेर। के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो? पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ? यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ? पार्टीले हो ? सदन चलाउने सरकारले हो? के सदन चलाउने सभामुखले हो ? सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।’
शुक्रबारको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले सुनाए । उनले थपे, ‘अस्तिको घटना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ। सरकारले पनि हामीसँग छलफल गर्छ। एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ।’ 
प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भने, ‘फर्केर आईसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोली व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं। किनकी प्रधानमन्त्री गैसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ। यी सबैका बीचमा, र सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो । यो कर्तव्य उहाँले निर्वाह गर्नुहुनेछ भन्ने कुराको विश्वास व्यक्त गर्छु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?