समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल

सारांश

  • मुस्ताङ, १९ कात्तिक ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन्।
  •   जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै खनालले उक्त कुरा बताएका हुन्।

मुस्ताङ, १९ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन्।  जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै खनालले उक्त कुरा बताएका हुन्। नवनिर्मित कार्यालय भवनको उदघाटन पश्चात प्रहरी महानिरीक्षक खनालले कार्यालय भवनको निरीक्षण समेत गरेका थिए ।

समुदाय प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत् शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताउनुभयो । सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट यस योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो,’प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन ।’ समाजमा हुने खराब क्रियाकलाप, गुण्डागर्दी लगायतका गलत कामका विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत भई कार्य गर्ने उहाँले उल्लेख गर्नुभयो ।  ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्याम्हो गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रहरी निरीक्षक ई चतुर्भुज बोहराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

कार्यक्रममा जिल्ला न्यायाधीश, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमिला खनाल, स्थानीय तहका पदाधिकारीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु, सामुदायीक केन्द्रका पदाधिकारी, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?