सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
सारांश
- काठमाडौं, १६ असोज ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा भक्तपुर– २ का सांसद महेश बस्नेतले छिटोछिटो सरकार फेर्ने बानी परेकाहरुको हात चिलाएको र त्यो दुईचार दिनपछि ठिक हुने बताएका छन् ।
- पोखरामा आयोजित पत्रकार सम्मेलनमा सरकारविरोधी अभिव्यक्तिहरुको प्रतिवाद गर्दै बस्नेतले त्यस्तो बताएका हुन् ।
काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा भक्तपुर– २ का सांसद महेश बस्नेतले छिटोछिटो सरकार फेर्ने बानी परेकाहरुको हात चिलाएको र त्यो दुईचार दिनपछि ठिक हुने बताएका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा सरकारविरोधी अभिव्यक्तिहरुको प्रतिवाद गर्दै बस्नेतले त्यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सदनमा बोलेको र उनैले आयोजना गरेको चियापानबारे पत्रकारहरुले सोधेको प्रश्नमा बोल्दै सांसद बस्नेतले भने, “सिङ्गो कम्युनिष्ट आन्दोलन एकतावद्ध भई मुलुक दुई ध्रुवमा पुगेको अवस्थामा स्थिर सरकार बनेको छ । सस्तो भए पनि फेरिफेरि लुगा लगाउने बानी परेकालाई अलि टिक्ने लुगा ल्याइदिएपछि दुईचार महिना अलि अपच अपच हुँदो रहेछ ।” उनले थपे, “६÷६ महिनामा हामीकहाँ सरकार फेरिइरहने । सरकार फेर्नका लागि लाग्ने खेलाडीहरुलाई के लाग्यो भने फेर्ने बेला भइसक्यो । हात चिलाइरहेको छ उनीहरुको । जतिसुकै हात मिलाए पनि यो सरकार फेरिनेवाला त छैन । दुईचार दिन हात चिलाउँछ त्यसपछि ठिक हुन्छ ।”
“सरकार फेर्न बानी परेका कतिपय विज्ञहरुको हात चिलाएको होला । हात चिलाएका आधारमा नेकपामा खेल्न सकिन्छ कि, राजदूतावास धाएर हुन्छ कि, मिडियामा खेल्न सकिन्छ कि भनेर हात कनाउने काम गरिरहनु भएको छ”, उनले स्पष्ट भने, “यसको कुनै अर्थ छैन ।” उता वरिष्ठ नेता माधवकुमार नेपालको चियापान कार्यक्रमलाई पनि व्यंग्य हान्न चुकेनन् बस्नेत । दशैंको बेलामा चियापानको त चलनै भएको बताउँदै उनले थपे, “दुई अध्यक्ष नहुँदा कार्यवाहक अध्यक्ष उहाँ नै हो । चियापानको दायरा अलि फराकिलो बनाएको भए उहाँकै हाइट बढ्ने थियो । चिया खाने कुरामा हामी बञ्चित भयौं ।” उता नेता नेपालले सदनमा बोलेको कुराचाहिँ आफ्नो विचारभन्दा पनि “रजगज” भन्ने कितावको अभिव्यक्ति भएको स्पष्ट पारे ।
नेता बस्नेतले समाजमा नकारात्मक मानसिकता र चेतना व्याप्त रहेको औंल्याउँदै कतिपय मिडियाले जानेर वा नजानेर सपोर्ट गरिरहेको उल्लेख गरे । विधि र प्रक्रियाअनुसार टेण्डरका लागि पप्पु यादव पनि प्रतिष्पर्धामा लडेको तर त्यसैलाई पप्पुलाई राष्ट्र बैंकको भवनको ठेक्का दिइसकेको भनेर कुप्रचार गरिएको उनले बताए । डाक्टरहरु गल्ती गरे पनि आफूहरुलाई सजाय नहुनुपर्ने भन्दै आन्दोलनमा, ट्याङ्करहरु तेल चोर्न पाउनुपर्ने भन्दै आन्दोलनमा गइरहेको बताउँदै विधिको शासन सबैले मान्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया