सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो

सारांश

  • शंकर केसी सल्यान, १ बैशाख ।
  • सल्यान जिल्लामै पहिलोपटक पावर डिलिङ प्रविधिमार्फत जमिनभित्रबाट पानी निकालिएको छ ।
  • डिटिएस मेसिन जडान गरेर जमिनमुनि फलामे पाइप घुसाएर पानी निकालिएको हो ।

शंकर केसी

सल्यान, १ बैशाख । सल्यान जिल्लामै पहिलोपटक पावर डिलिङ प्रविधिमार्फत जमिनभित्रबाट पानी निकालिएको छ । डिटिएस मेसिन जडान गरेर जमिनमुनि फलामे पाइप घुसाएर पानी निकालिएको हो ।

रीमको खाली मिलन बजारनजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डीटीएस मेसिनले जमिनभित्र एक सय फुट लामो फलामे पाइप गाडेर पानी निकाल्न गरिएको परीक्षण सफल भएको हो । जिल्लामा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालिएको भए पनि यसअघि डीटीएसबाट पानी निकालेको कुनै रेकर्ड नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले जानकारी दिए ।

कपुरकोट– ५ रीम खालीमा रहेका १ सय ५० बढी घरधुरीलाई वर्षाैँदेखि खानेपानीको समस्याले पिरोलिरहेकाले गाउँलेहरु आफैले लगानी गरेर जमिनमुनिको पानी माथी निकाल्ने परीक्षण गरेका हुन् । प्रत्येक वर्ष खानेपानीको माग गर्दै विभिन्न निकायमा हारगुहार गर्दा पनि सम्बोधन नभएपछि र नजिकबाट खाली बजारमा पानी ल्याउन कुनै मुहान नभएपछि स्थानीयकै लगानीमा डीडीएस मेसिन ल्याएर जमिनको पानी निकाल्न लागिएको खाली बजार व्यवस्थापन समितिका अध्यक्ष गिरिराज ओलिले जानकारी दिए ।

उनले भने, “खानेपानीको व्यवस्था कसैले गरिदिने भएन । त्यसैले डेढ लाख बढी लगानी गरेर हामी आफैले यो परीक्षण सम्पन्न गर्यौं ।” शुरुमा जमिनबाट पानी ननिक्लिएपछि निराश बनेका खाली मिलनबजारका स्थानीयहरु १० वटा फलामे पाइप जमिनमा धसिसकेपछि पानी निक्लिदा हर्षित भएका छन् । यसैमाथि १५ लाख बढी खर्च हुने यस्तो परीक्षण डेढ लाखमै भएपछि उनीहरुमा थप खुशी थपिएको छ । “डीटीएस मेसिन सञ्चालन गरेको कम्पनीका अनुसार यहाँसम्म मेसिन ल्याएर परीक्षण गर्दा १५÷२० लाख भन्दा बढी लाग्छ रे”, बजार व्यवस्थापन समितिका अध्यक्ष ओलीले भने, “रोल्पामा काम सकेर यतैको बाटो भएर फर्काउदै गरेको मेसिनलाई राखेर हामीले रीमको खालीमा परीक्षण गर्दा सस्तो परेको हो ।”

कसरी आउँछ जमिनमाथि पानी ?
यो परीक्षण गर्न डीटीएस मेसिन एचएम एग्रीकल्चर एण्ड बोरबेल कम्पनी प्रालि कञ्चनपुरले ल्याएको हो । प्रालिका प्राविधिक कृष्ण विष्टका अनुसार यो परीक्षण खासगरी सिम क्षेत्र, हरियाली भएको ठाउँ या पुराना मुहान हराएको वा पुरिएको स्थानमा सफल हुन्छ । उनले भने, “सबैभन्दा जमिनमुनि गाड्ने पाइप जाली बनाइएको हुन्छ ।” रीमको मायादेवी सामुदायिक वन क्षेत्रमा पर्ने कोप्चेपानीमा गरिएको परीक्षणमा ६ इन्च गोलाई भएका १० वटा पाइप मेसिनको सहायताले जमिनमुनि घुसाइएको छ ।

“शुरुमा ६ मिटर लामो पाइपलाई प्वाल र चिरा पारेर जाली बनाइ घुसायौँ”, ‘प्राविधिक विष्टले भने, “३० मिटर तल पाइप घुसाउँदा पानी माथि आयो ।” जमिनमुनिबाट ३२ देखि ४० मिलिमिटर पानी निस्किएको अर्का प्राविधिक शंकर विष्टले जानकारी दिए । अब चौबीसै घण्टा पानी आइरहने उनको दाबी छ । “हामीले २५० बढी ठाउँमा यस प्रकारको परीक्षण गरिसक्यौँ, एक÷दुई ठाउँमा मात्रै पानी निक्लन सकेन ।”

“अन्यत्र सबै ठाउँमा नियमित पानी आइरहेको छ”, उनले भने । बजार व्यवस्थापन समितिका अध्यक्ष गिरिराज ओलीको पहलमा गरिएको यस परीक्षणमा स्थानीय लगनशील बचत समूहले लगानी गरेको ओलीले जानकारी दिए । समूहका व्यवस्थापक तुलसीराम योगीले आफ्नो समूहले गरेको लगानी खेर नगएको बताउँदै अब खानेपानी पाइन्छ कि भन्ने आशा व्यक्त गरे ।

योजना सम्पन्न गर्न अझै ४० लाख बढी आवश्यक
अहिले खाली मिलनबजारका १ सय ५० बढी घरधुरीलाई खानेपानीको चरम अभाव छ । गर्मीयाम शुरु भएमा त झन यहाँका बासिन्दाले ठूलो समस्या झेल्नुपर्छ । हिजोआज यहाँका बासिन्दाहरुलाइ करिव दुई घण्टा समय लगाएर लिसेखोला र कोलबोटसम्म उकाली ओराली गरेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्ति पाउनका लागि परीक्षण सम्पन्न भएको योजनालाइ सम्पन्न गर्न आवश्यक छ । यो योजना सम्पन्न गर्न झण्डै ४० लाख बढी खर्च लाग्ने अनुमान छ ।

पानी पिउनलाई योग्य छ या छैन भनेर परीक्षण गर्न, इन्टेक तथा रिजर्व टंकी निर्माण गर्न र पानी सप्लाई गर्नका लागि ४० लाख भन्दा बढी लाग्ने प्राविधिक कृष्ण विष्टले बताए । स्थानीयले बचत गरेको रकमबाट जमिनमुनिबाट पानी निकाल्ने परीक्षण सम्पन्न भइसकेकाले वडापालिका, गाउँपालिका तथा अन्य सहगोगी निकायहरुलाइ योजना सम्पन्न गर्नका लागि आर्थिक सहयोग माग्ने खाली मिलन बजारवासीको तयारी छ ।

यसैबीच कपुरकोट ५ का वडाअध्यक्ष यमकुमार बस्नेतले यस प्रविधिमार्फत निस्किएको पानी कति समयसम्म टिक्ने, योजना सम्पन्न गर्न कति रकम लाग्ने र कसरी योजनालाई सफल पार्ने भन्ने बारेमा आफूहरुले काम अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?