साउदीको जेलबाट घर फर्किए इलामका प्रेम
सारांश
- काठमाडौं, २१ साउन ।
- साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल (झण्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् ।
- उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
काठमाडौं, २१ साउन । साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल (झण्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।
प्रेमबहादुर राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।
नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैयाँ साउदी पठाएको थियो ।
राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो । अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।
“मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक÷एक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ”, त्रिभुवन विमानस्थलमा उनले भने, “ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।” आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया