सार्कका कलाकार नेपालमा
सारांश
- काठमाडौं: सार्क राष्ट्रका कलाकार नेपालमा भेला हुने भएका छन्।
- सार्क कल्चर सेन्टर कोलम्बो र नेपालको संस्कृति मन्त्रालयको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा चारदिने ‘सार्क आर्टिस्ट क्याम्प एन्ड एक्जिविसन अफ पेन्टिङ्स २०१७’ आयोजना हुने भएको हो।
- बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्कृति मन्त्रालयले कार्यक्रमको बारेमा जानकारी दिएको हो।
काठमाडौं: सार्क राष्ट्रका कलाकार नेपालमा भेला हुने भएका छन्। सार्क कल्चर सेन्टर कोलम्बो र नेपालको संस्कृति मन्त्रालयको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा चारदिने ‘सार्क आर्टिस्ट क्याम्प एन्ड एक्जिविसन अफ पेन्टिङ्स २०१७’ आयोजना हुने भएको हो।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संस्कृति मन्त्रालयले कार्यक्रमको बारेमा जानकारी दिएको हो।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ४० जना कलाकार सहभागी हुने क्याम्पमा सार्क राष्ट्रको कलाशैली आदानप्रदान हुनेछ।
नेपालबाट १० जना र अरू देशबाट तीनदेखि पाँचजना कलाकारको सहभागिता रहनेछ। अफगानिस्तानले भने अहिलेसम्म टुंगो नलगाएको जानकारी सार्क कल्चर सेन्टरकी नायब निर्देशक किसानी जयसिंघे विजायासेकाराले दिइन्। कलाको कुनै भाषा, जात, लिंग, राष्ट्रियता नहुने भएकाले चार दिनको क्याम्पमा सुन्दर स्वर्ग सिर्जना हुने विश्वास उनको छ।
ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले नेपालमा यो क्याम्प आयोजना हुनु गौरवको कुरा भएको बताइन्। उनले यसलाई सार्कका कलाकारलाई नेपाल चिनाउने मौकाको रूपमा लिएकी छन्। कल्चर सेन्टरले हरेक देशलाई समावेशी रूपमा कलाकार छनोट गर्न आग्रह गरेको थियो।
किसानीले कलामार्फत सांस्कृतिक एकता प्रस्तुत गर्न खोजेको बताइन्। नेपालजस्तो सुन्दर देशमा कार्यक्रम गर्न पाउँदा धेरै राम्रो कला उत्पादन हुने विश्वास उनले व्यक्त गरिन्। हरेक वर्ष आयोजना हुने कार्यक्रमको यो सातौं संस्करण हो।
सन् २०११ मा कोलम्बोमा पहिलो पटक ‘आर्ट क्याम्प’ आयोजना भएको थियो। सेन्टरका निर्देशक वासन्ते कटुवालाले यसअघि भुटान र अफगानिस्तानमा भएको कार्यक्रम निकै सफल भएको बताउँदै नेपालसँगको सहकार्य सफल हुने विश्वास व्यक्त गरे। कलामार्फत एक सार्क राष्ट्रको सम्बन्ध थप बलियो बनाउन खोजेको उनले बताए।
नेपालबाट ६ जना महिलासहित १० जना कलाकारले सहभागिता जनाउँदैछन्। नेपालको समूह उमेर, लिंग, कलाको विधा सबै हिसाबले समावेशी छ। कलाकार छनोटमा विशेष ध्यान दिएको कुलपति रागिनीको भनाइ छ।
क्याम्पमा हुने आवासीय कला कार्यशालामा कलाकारलाई कुनै विषयको बन्देज लगाइएको छैन। कलाकारले स्वतन्त्र रूपमा सिर्जना गर्न पाउनेछन्।
प्रतिक्रिया