पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
सारांश
- देशभर जारी अविरल वर्षा र त्यसका कारण सिर्जित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूको जीउज्यानको सुरक्षाका लागि विभिन्न आठ प्रमुख सडकखण्डमा सवारी आवागमनमा कडाइ तथा पूर्ण रोक लगाइएको छ ।
- नेपाल प्रहरीले आज सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
- प्रहरी प्रशासनले विपद्को समयमा हुन सक्ने सम्भावित ठुलो मानवीय क्षतिलाई रोक्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि यी दुई संवेदनशील राजमार्गहरूमा रात्रिकालीन यात्रामा पूर्ण बन्देज लगाउने निर्णय गरेको बुझिएको छ ।
देशभर जारी अविरल वर्षा र त्यसका कारण सिर्जित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यात्रुहरूको जीउज्यानको सुरक्षाका लागि विभिन्न आठ प्रमुख सडकखण्डमा सवारी आवागमनमा कडाइ तथा पूर्ण रोक लगाइएको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्तिलोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
प्रहरी प्रशासनले विपद्को समयमा हुन सक्ने सम्भावित ठुलो मानवीय क्षतिलाई रोक्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि यी दुई संवेदनशील राजमार्गहरूमा रात्रिकालीन यात्रामा पूर्ण बन्देज लगाउने निर्णय गरेको बुझिएको छ ।
यसै गरी वर्षातका कारण देशका अन्य ६ रणनीतिक सडकखण्डहरूमा पहिरो खसेर यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ । इलाम नगरपालिकाको राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे भएर थुनिएको छ भने सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी खण्डस्थित अरनिको राजमार्गमा पहिरोले सडक अवरुद्ध पारेको छ । यस्तै बागलुङको कालीगण्डकी करिडोर, पाँचथरको राँके–रवि–भेडेटार सडक तथा गोरखाको आरुघाट–माछिखोला सडक खण्डमा पनि पहिरोका कारण यातायात ठप्प हुँदा स्थानीय तथा यात्रुहरू अलपत्र परेका छन् ।
ललितपुरको बागमती गाउँपालिकास्थित कान्तिलोकपथमा आज बिहान अचानक सुक्खा पहिरो खसेपछि यो मार्ग प्रयोग गर्ने यात्रुहरू थप मर्कामा परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार पहिरो प्रभावित क्षेत्रहरूमा तत्कालै पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए तापनि निरन्तरको वर्षा बाधक बनिरहेको छ ।
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा तय गर्नका लागि प्रहरीले सबै सर्वसाधारणलाई राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रामा निस्कन अपिल गरेको छ । विपद् व्यवस्थापन टोली र स्थानीय प्रशासनको समन्वयमा अवरुद्ध सडकहरू खुलाउने प्रयास तीव्र पारिएको भए तापनि मौसम प्रतिकूल रहेकाले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया