सुन तस्कर काण्ड: ५० प्रतिशत सजाय छुटको निर्णय रद्द !
सारांश
- काठमाडाै, ३१ वैशाख।
- साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्याका ६३ प्रतिवादीमध्ये सम्बीर तोलाङ्गे र विष्णुबहादुर खड्काले यसअघि पाउने भनिएको ५० प्रतिशत सजायँ छुट नपाउने भएका छन्।
- मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठककाअनुसार सुरुमा दायर मुद्दामा ३ जना अभियुक्तको नाममा ५० प्रतिशत सजाय कम हुने उल्लेख थियो।
काठमाडाै, ३१ वैशाख। साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्याका ६३ प्रतिवादीमध्ये सम्बीर तोलाङ्गे र विष्णुबहादुर खड्काले यसअघि पाउने भनिएको ५० प्रतिशत सजायँ छुट नपाउने भएका छन्।
मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठककाअनुसार सुरुमा दायर मुद्दामा ३ जना अभियुक्तको नाममा ५० प्रतिशत सजाय कम हुने उल्लेख थियो। घटनामा संलग्न भएर प्रहरीको नियन्त्रणपछि अनुसन्धानलाई सघाएको र अदालतमा समेत साबिती बयान दिने वचन दिएका उनीहरुलाई ५० प्रतिशत छुट दिने सहमति भएको थियो।
तर आरोपी तोलङ्गे, खड्काले अदालतमा बयान फेरेपछि आइतबार कानुनले तोकेअनुसारकै सजाय माग गर्दै पूरक अभियोग दर्ता गरिएको छ। ‘तीन अभियुक्तको नाममा पूरक अभियोग दर्ता गरिएको छ’, पाठकले भने।
उनकाअनुसार मोरङ प्रहरीको रायअनुसार सरकारी वकिलको कार्यालयले तोलाङ्गे र खड्काले अनुसन्धानमा सहयोग गरेका आधारमा अदालतमा कम सजाय गर्न माग गरिएको थियो। अदालतमा उनीहरुले यातना दिएर बयान गराएको भन्ने झुटो बयान दिएपछि उनीहरूमाथि पूरै सजाय माग गरिएको हो।
प्रतिवादी तोलाङ्गेविरुद्ध कर्तव्य ज्यान महलको १३ ९४० अनुसार ज्यान मार्न उक्साएको आरोपसहित ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ र यही मुद्दाअन्तर्गत खड्कालाई अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानबाहेकको मुद्दा दायर गरिएको छ।
प्रतिवादीका तर्फबाट बहस
साढे ३३ किलो सुन र सनम शाक्यको हत्याका ६३ प्रतिवादीमध्ये पक्राउ परेका ३० जनाको प्रतिरक्षात्मक बहसका लागि काठमाडौंबाट चार जना महँगा वकिलहरु झिकाइएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदाका सरकार महान्यायाधिवक्ता रमण श्रेष्ठ, एमालेको तर्फबाट काठमाडौं–१ मा उम्मेदवार चर्चामा आएका बरिष्ठ अधिवक्ता शम्भु थापा बहसका लागि विराटनगर आएका छन्।
उनीहरूले बहस गर्दै प्रमाण भेटिएको मात्राको मात्रै बिगो दाबी गरिनुपर्ने भन्दै पक्राउहरुलाई साधारण तारिखमा छाड्न माग गरेका छन्।
साढे ३३ किलो सुनसँग जोडिएर हत्या भएको पक्षलाई कमजोर बनाउँदै अनावश्यक व्यक्तिलाई फसाउने गरी मुद्दा चलाइएको उनीहरुले तर्क गरेका छन्। सुन काठमाडौंमा भित्रिएको कुरा अभियोगमा उल्लेख गरेर मोरङ जिल्ला अदालतमा मुद्दा चलाउनु क्षेत्राधिकारभन्दा बाहिर भएको समेत उनीहरुले दाबी गरेका छन्।
आइतबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, राजु बस्नेत र यदुनाथ खनालले ११ जना प्रतिवादीको रक्षात्मक बहस गर्दै हत्यासँग जोडिएको मुद्दालाई अवैध सुन पैठारी र निकासीसँग जोडिएको बताएका थिए।
४ जनै अधिवक्ताले अभियोगमा भनेजस्तो ०७२ सालदेखि ०७४ सम्म आएको भनिएको सुन कता छ रु भन्ने विषय नखुलाई बिगो माग दाबी गर्न नमिल्ने राय व्यक्त गरे। उनीहरूको प्रमाण भेटिएको वा हिसाब खुलेको प्रमाणलाई मात्रै आधार मानेर बिगो माग दाबी गर्नुपर्नेमा जोड थियो।
भन्सारबाट आउने सुनमा प्रहरी किन दोषी ?
प्रतिवादीमध्ये मोहन काफ्लेको घरबाट बरामद भएको हिसाब खाताको जाँच परीक्षण प्रतिवेदनले भनेअनुसार मात्रै बिगो वा जरिमाना वा सजाय हुनुपर्ने दाबी गर्दै अधिवक्ताले सुन भन्सारबाट आउने जिकिर गरे। उनीहरूले ज्यान मारेको अभियोगमा मात्रै मुद्दाको सुनुवाई हुनुपर्नेसमेत माग गरेका थिए।
वरिष्ठ अधिवक्ता थापाले सुनका लगानीकर्ता भुजुङ गुरुङ र प्रहरी उपरीक्षक विकासराज खनालको बचाउमा बहस गर्दै कतै नाम नजोडिएका गुरुङलाई अभियोग लगाउनै नमिल्ने दाबी गरेका थिए। यसैगरी, प्रहरी उपरीक्षक खनाललाई जबर्जस्ती अभियोग लगाइएकाले त्यसो गर्न नपाउने तर्क गरे।
सुन आएकै छैन: रमण श्रेष्ठ
पूर्वमहान्यायाधीवक्ता एवं माओवादी अध्यक्ष दाहालका कानुनी सल्लाहकार रमनकुमार श्रेष्ठले भुजुङ गुरुङ, अवकासप्राप्त डिआइजी गोविन्द निरौला र प्रहरी उपरीक्षक विकासराज खनालको पक्षमा बहस गर्दै ज्यान मरेको कुरा छाडेर हुँदै नभएको सुनको पछाडि लागेको तर्क गरे। उनले गुरुङले सुन ल्याएको भन्ने कतै खुल्न नसक्ने र बहालमा छँदा निरौला र कार्यरत रहँदा खनालको संलग्नताको आधार मोबाइलमा भएको सम्पर्क मात्रै मान्न नहुने जिकिर गरे।
उनीहरूले बाहिर सञ्चारमाध्यमले भनेकै आधार वा प्रहरीले पत्रकारलाई दिएको सूचनाको आधारको भरमा आएका समाचार गलत रहेको बताए। प्रहरी उपरीक्षक खनालकै पक्षमा अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बहस गर्दै भन्सारबाट आउने सुन प्रहरीसँग जोडेर हेर्न नमिल्ने तर्क गरेका थिए।नेपालखबरमा समाचार छ । उनले सुन भन्सारबाट आउने र त्यो अवैध हुने भएकाले आफ्नो काम छाडेर प्रहरी एयरपोर्ट नपुग्ने बताए।
वरिष्ठ अधिवक्ता राजु बस्नेतले विमानस्थलका कर्मचारी बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीर तोलाङ्गे दोराम खत्री, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा र हेमन्त गौतमको बचाउ गर्दै बहस गरेका थिए। उनले प्रतिवादीमध्ये कर्तव्य ज्यानमा संलग्न भनिएका मोहन काफ्ले र टेकराज मल्लले दिएको बयानमा आफैं सुन बाहिर ल्याएको उल्लेख भएकाले एयरपोर्टका कर्मचारीको संलग्नता खुल्ने पुष्टि हुन नसक्ने दाबी गरे।
प्रतिवादीका तर्फबाट ४ दर्जनभन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका छन्। ४ जना वरिष्ठ अधिवक्ताको बहस आइतबार सकिएसँगै आज सोमबार अन्य अधिवक्ताको बहस हुनेछ।
प्रतिक्रिया