होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
४५ पटक हेरिएको
Shares
होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्

सारांश

  • काठमाडौं, २२ फागुन – कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला रु पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ?
  •   सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ ।
  •  आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, २२ फागुन – कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला रु पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ?  सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्रविधि र हुन्डी कारोबारीको प्रयोग कसरी भइरहेको छ भन्ने तथ्यसमेत उजागर गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

स्नातक सकेका २५ वर्षीया दुई युवतीले फेसबुके साथीको फन्दामा परेर ५१ लाख रुपैयाँ गुमाएको यो प्रतिनिधि कथाले ‘डिजिटल डिभाइस’ मार्फत ठगीधन्दा बढिरहेको देखाउँछ । त्यस्ता पासोमा पढेलेखेकै व्यक्तिसमेत कसरी फसिरहेका छन् भन्ने पनि बुझाउँछ ।

पर्वत, कुर्घा स्थायी घर भई काठमाडौंको तीनकुनेमा बस्दै आएका पबी क्षत्री र लक्ष्मीदेवी चपार्इं छिमेकी र सहपाठी थिए । उनीहरू दुवै खुब मिल्थे । करिब दुई महिनाअघि एक दिन पबी बेलायती नागरिक बताउने ब्रायन लुसिया बकार नामको फेसबुक अकाउन्टसँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको संवाद केही दिनमै मित्रतामा बदलियो । ब्रायनले एक दिन पबीलाई भने, ‘तिमीलाई उपहारस्वरूप ४४ हजार पाउन्डसहित केही सुन र हीराको हार पठाउँदै छु ।’ यस्तो खबर पाएको केही दिनमै पबीलाई हवाट्स एपमार्फत भारतबाट खबर आयो, ‘तिम्रो साथीले करिब एक करोड मूल्यबराबरको बहुमूल्य उपहार पठाएको छ । भन्सार क्लियरेन्स गर्न केही रकम चाहिने भयो ।’

उपहार आएको विश्वासमा पबीले भारतीय नागरिक बताउने ती व्यक्तिले भनेअनुसार रकम पठाउन थालिन् । तर भन्सारबाट उपहार छुटाउन धेरै पैसा लाग्ने थाहा पाएपछि पबीले साथी लक्ष्मीसँग साझेदारी गरिन्, उपहार ल्याउन दुवै मिलेर रकम खर्चिने र उपहार हात परेपछि बाँडेर लिने। प्रहरीका अनुसार यी दुवैले विभिन्न ९ पटक गरी ५१ लाख रुपैयाँ पठाएका थिए । पछिल्लो पटक भारतबाट फोन गर्नेले अब अन्तिम पटक थप ५ लाख भारु पठाइदिए उपहार भन्सारबाट छुटाउन सकिने बताएपछि युवतीहरू आफूहरू ठगिएको निष्कर्षमा पुग्दै महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।

प्रहरीका अनुसार कुल रकममध्ये लक्ष्मीले १२ लाख ६० हजार रुपैयाँ खर्चेकी थिइन् भने अरू रकम पबी स्वयंको। अनौठो त यो छ कि सामान्य आर्थिक हैसियतका यी दुवै युवतीले उपहार प्राप्तिको आसमा आफन्त, चिने–जानेकासँग आफूहरू विदेश जान लागेको र रकम अपुग भएको भन्दै पैसा उठाएका थिए । त्यतिले नपुगेर ब्याजमा समेत पैसा लिएका थिए।
प्रहरीका अनुसार युवती र ब्रायनबीच सुरुमा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीपछि हवाट्स एपमा सम्पर्क भएको थियो । पीडित युवतीबाट पैसा पठाउने क्रममा विभिन्न ९ तहमा मान्छे सक्रिय भएको अनुसन्धानमा देखिएको छ । परिसरका प्रवक्ता डीएसपी मोहन थापाका अनुुसार ‘ठगीको यो घटनामा नेपालभित्र र बाहिर बस्ने धेरै जनाको संलग्नता विभिन्न तहमा भएको देखिन्छ ।’ पीडित युवतीहरूलाई भारतीय नागरिकले हवाट्स एपमा फलानो व्यक्तिलाई रकम दिनु, उसैले पैसा यता पठाइदिन्छ भनेका थिए ।

त्यसपछि दुई युवतीले नागार्जुन ४ सीतापाइला बस्ने कुरियर कम्पनीका सञ्चालक जयराम कार्कीलाई ४ पटक पैसा दिएको देखिन्छ । जयरामले आफूले उक्त रकम सुनसरी, धरान घर भई खिचापोखरीमा दुर्गा ट्रेड इन्टरनेसनल नामक कस्मेटिक होलसेल पसलका सञ्चालक नारायण अग्रवाललाई दिएको बताएका छन् । अग्रवालले पटक–पटक गरेर ४६ लाख रुपैयाँ भारतको दिल्लीमा बस्ने पंकज अग्रवाललाई पठाइदिएको बताएका छन् । दिल्लीमा बस्ने पंकज पनि हुन्डीकै कारोबारी रहेको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार नारायण हुन्डी कारोबारीसमेत हुन् । उनी खाडीदेखि युरोप र अमेरिकाबाट समेत हुन्डीमा रकम ल्याउने काममा संलग्न भएको भेटिएको छ । प्रहरीले उनको पसलबाट १५ लाख ६२ हजार ९ सय २० रुपैयाँ बरामद गरेको छ । युवतीहरूले भारतमा रकम पठाउन विभिन्न मनी ट्रान्सफरको पनि प्रयोग गरेको देखिन्छ । तर काठमाडौंबाट पठाइएको रकम विभिन्न नेपाली हुँदै भारत पुगेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भारतीयले भनेअनुसार युवतीहरूले पाँचथरको फिदिम बस्ने बुढामाया थाम्सुहाङ, सुशीला थाम्सुहाङ, विमला थाम्सुहाङ, साधना किलिङका नाममा पटक–पटक गरेर ४ लाख रुपैयाँ पठाएका थिए ।

बेलायती नागरिक बताउने ब्रायनले हवाट्स एपमा युवतीसँग नेपालीमा पनि धेरथोर कुराकानी गरेको देखिन्छ । उपहार भारत आएको बताउनेले पनि नेपाली मिश्रित भाषामा कुरा गरेको देखिन्छ । प्रहरीका अनुसार ठगीको सञ्जालमा नेपालीहरूको पनि संलग्नता देखिएको छ । ब्रायनको फेसबुक सर्च गरेर प्रहरीले उनी सक्कली हुन् वा नक्कली भनेर अनुसन्धान थालेको छ । अहिले उसको फेसबुक अकाउन्ट निष्क्रिय छ । अनुसन्धानमा संलग्न अधिकारीले कोही नेपालीले नै ब्रायनका नाममा नक्कली अकाउन्ट बनाएर ठगीको पासो थापेको हुन सक्ने अनुमान गरे ।

विभिन्न विदेशी नाममा नक्कली फेसबुक अकाउन्ट, भाइबर र ह्वाट्स एपमार्फत उपहार वा चिट्ठा परेको लोभ देखाउँदै ठगी गर्नेको गिरोह नै सक्रिय भएको प्रहरीको ठम्याइ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Innocence Heart

    अलिकति Human sense लगाउन न सक्ने मुलाहरु लाइ के भन्नु हो। २१ औं शताब्दीमा पनि Eye cover लगाएको घोडा जस्तो। हुनछ नि अलिकति त।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?