तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
३० पटक हेरिएको
Shares
तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै

सारांश

  • काठमाडौं।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ।
  • विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छैन्।

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ। विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छैन्। यही असोज २५ र २६ गते राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तत्कालको लागि सुन्दर देखाउन केही काम भएको थियो।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार हाल गरिएको सौन्दर्यको कार्यलाई यथावत राख्दै बाँकी काम अघि बढाइने छ। डङ्गोलले भने,“सङ्घीय सरकारले स्थानीयवासीलाई मुआब्जा दिनुपर्छ, मुआब्जाको विवाद हटेसँगै कामपाले निर्माणको कार्य अघि बढाउँछ।” निर्माणको लागि कामपाले वार्षिक रुपमा बजेट पनि छुट्याउँदै आएको छ।

पाँच वर्ष पहिले नै कामपाले नक्साङ्कनको काम सम्पन्न गरी मण्डल निर्माण गर्ने भनेको थियो। तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएकोे मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको हो।

अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग छ भन्दै स्थानीयवासीले अडान लिँदै आएका छन्। पच्चीस घरधनीले अहिलेसम्म मुआब्जा लिएका छैनन्। उनीहरुले पहिलेको मुआब्जा पुनः मूल्याङ्कन गर्नुपर्ने समेत माग गरेका छन। कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्न लागेको हो।

पहिले नै कामपाले बोलपत्रको आह्वान गर्ने तयारीसमेत गरिसकेको थियो । प्रदेशसभा सदस्य पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उनले ‘काठमाडौँका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिएका थिए। योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ। मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ। मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिने छ।

मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीनवटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ। हरेक वर्ष बजेट छुट्याउँदै आएको कामपाले चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन पनि गरेको छ।

मुआब्जाका विषयमा कुरा मिलेको खण्डमा आवश्यकताअनुरुप बजेट थप्न सकिने पनि कामपाले जनाएको छ। राष्ट्रपति सीको भ्रमणको समयका लागि भन्दै कामपाले पहाडको डिस्को जस्तो बनाई चारैतिर विभिन्न किसिमका सजावटका बिरुवा र फूल रोपी सजावटको काम गरेको छ। गत वर्ष भदौमा भएको विमस्टेक सम्मेलनमा पनि यस स्थानको बाहिरी भागलाई सुन्दर बनाउने कार्य यसरी नै गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?