३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
सारांश
- काठमाडौं – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ।
- न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो।
- आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ। न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो। आजको नागरिक दैनिकमा खबर छ ।
सुन तस्करीका मुख्य अभियुक्तलाई छाड्ने जिल्ला अदालत र उच्च अदालतविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुगेको थियो। जिल्ला अदालत र उच्च अदालतले गत वर्ष साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त रोशन भनिने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने निर्णय गरेका थिए।
प्रहरीले सुन तस्करीका मुख्य अभियुक्त मानेका भुसाललाई जिल्ला अदालत काठमाडौंले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय अन्तरकालीन आदेशविरुद्धको निवेदनसहित सर्वोच्च पुगेको हो।
सुन तस्करी र संगठित अपराध संलग्न व्यक्तिलाई जिल्ला अदालतले थुनछेक बहसमै धरौटीमा रिहा गर्नु गलत निर्णय भएको भन्दै गत बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो।
घटना यस्तो थियो…
२०७३ साल पुस २१ गते गैरकानुनी बाटोबाट नेपाल भित्रिँदै गरेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो।
त्यसपछि ब्युरोले १७ करोड बढी रुपैयाँ बिगो दाबी गर्दै ३३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। भुसाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए। केही समयपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए। त्यसपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
प्रतिक्रिया