४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
४० वर्षपछि धावनमार्ग कालोपत्रे गर्न सुरु, विमानस्थल १० घन्टा बन्द हुने

सारांश

  • काठमाडौँ।
  • देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि पहिलोपटक पूर्ण रूपमा नयाँ किसिमले कालोपत्रे गर्न सुरु भएको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा सोमबारदेखि धावनमार्गसहित ‘ट्याक्सी वे’को कालोपत्रे गर्न सुरु गरेको हो।
काठमाडौँ। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ४० वर्षपछि पहिलोपटक पूर्ण रूपमा नयाँ किसिमले कालोपत्रे गर्न सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा सोमबारदेखि धावनमार्गसहित ‘ट्याक्सी वे’को कालोपत्रे गर्न सुरु गरेको हो।
विमानस्थल सञ्चालनको समय घटाएर नै कालोपत्रे सुरु गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सोमबारदेखि करिब तीन महिनाका लागि विमानस्थल १० घन्टा बन्द रहनेछ । विमानस्थल आइतबारसम्म बिहान ५ बजेदेखि राति ३ बजेसम्म २२ घन्टा सञ्चालन हुँदै आएको थियो । सोमबारदेखि भने बिहान ८ बजेदेखि राति १० बजेसम्म १४ घण्टा मात्र सञ्चालन हुनेछ । कालोपत्रको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुनेछ ।
विमानस्थलको कालोपत्रे पुरानो भएको र यसले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले पूर्ण रूपमा नयाँ कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको हो । गत पुसमा प्राधिकरणले कालोपत्रेका लागि चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार ७० दिनभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि प्राधिकरणले तीन महिनाको समय उपलब्ध गराएको छ ।
कालोपत्रेको काम सुरु भएपछि उडान पनि प्रभावित हुने भएका छन् । खास गरी बिहानीको समयमा हुने आन्तरिक उडानहरूको तालिकासमेत फेरिएको छ । त्यस्तै कतिपय अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई त्यसैअनुसार तालिका व्यवस्थापनको लागि आग्रह गरिएको विमानस्थलले जनाएको छ । काठमाडौँ विमानस्थलबाट बिहान लुक्ला उडान गर्ने सबै तालिका रामेछाप विमानस्थलबाट गर्ने गरी सारिएको छ ।
प्राधिकरणका अनुसार करिब तीन हजार ५० मिटर लम्बाइको धावनमार्गमा हरेक दिन करिब ७० मिटरका दरले नयाँ कालोपत्रे हुनेछ । पुरानो कालोपत्रे उप्काएर त्यसै दिन नै कालोपत्रे गरेर अर्को दिनका लागि उडान योग्य बनाइने प्राधिकरणले जानकारी दिएको छ ।
कालोपत्रेको काम सुरु भए पनि वायुसेवा सञ्चालक सङ्घले सोमबार एक विज्ञप्ति जारी गर्दै तीन महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द गरिने जनाएको छ । त्यस्तै सङ्घले यस अवधिमा प्राविधिक कारणले उडान तालिका रद्ध हुन पुगेमा अर्को डिले उडान पाउने सम्भावना नरहेको समेत जानकारी गराएको छ । यसबीचमा करिब २० प्रतिशत आन्तरिक उडान कटौती गर्नुपर्ने अवस्था रहेको सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?