उपेन्द्र यादवलाई सरकारमा बसिरहन नैतिक संकट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
उपेन्द्र यादवलाई सरकारमा बसिरहन नैतिक संकट

सारांश

  • काठमाडौं।
  • संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ ।
  • समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन्।

काठमाडौं। संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन्। सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन्।

सरकार र नेकपाले समाजवादीलाई वास्ता गर्न छोडे पनि समाजवादीले सरकार नछोड्ने जनाएको छ। समाजवादीका एक नेताले संविधान संशोधनको सर्तसहित सरकारमा सहभागी भएकाले संशोधनको काम पूरा गराउन सरकारमा बसिराख्ने बताए । पार्टीले अहिले सरकार छोड्ने निर्णय नगरेकाले सरकारमै बसेर संघर्ष गरिराख्ने समाजवादी पार्टीको रणनीति रहेको छ ।

गत ३ असोजमा सरकारले संविधान दिवस भव्य रूपमा मनाउँदै गर्दा सत्ता साझेदार समाजवादीले बहिष्कार गर्यो । संविधान दिवस मनाउँन छोडेर उपप्रधान तथा कानुनमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा गएका थिए ।

उनको दल समाजवादी पार्टीले देशैभरि संविधान दिवस बहिष्कार गर्यो । प्रदेश २ सरकारका मुख्यमन्त्री एवं समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका लालबाबु राउतले संविधान दिवस बहिष्कार मात्रै गरेनन्, संविधानका विरुद्धमा आयोजित कार्यक्रममा सहभागी भएर संविधान र संघीय सरकारको चर्को आलोचनासमेत गरे ।

यादव विदेश भ्रमणमा रहेकै बेला यता संविधान दिवस सरकारले भव्य रूपमा मनाउँदै थियो । तर, समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा संविधानको मस्यौदासमेत गरेका डा. बाबुराम भट्टराईले समाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा संविधान र संघीय सरकारको आलोचनामा समय खर्च गरे ।

पछिल्लो समय बसेको समाजवादी पार्टीको संघीय परिषद् बैठक र केन्द्रीय कमिटी बैठकमा सरकार र नेकपाको आलोचना गरिएपछि प्रधानमन्त्री ओली झन्झ रुष्ट भए । तर, सरकार छोड्ने भट्टराईको प्रस्ताव यादवले अस्वीकार गर्दै सरकारमै बस्ने निर्णय गराए । सत्तासाझेदार दलको जस्तो व्यवहार नदेखिएपछि समाजवादीलाई वास्ता गर्न छोडिएको वालुवाटार स्रोतको भनाइ रहेको छ ।

सरकारमै सहभागी भए पनि समाजवादी पार्टीका नेताले सार्वजनिक कार्यक्रममा सरकारको आलोचना गर्नबाट पछि हटेका छैनन् । प्रतिपक्षी दलको जस्तै संविधानदेखि सरकारसम्मको विरोध गर्न थालेपछि प्रधानमन्त्री ओलीले समेत समाजवादीलाई वास्ता गर्न छोडेको ओली निकटका एक नेताले बताए ।

पछिल्लो समय मन्त्रीपरिषद् पुनर्गठन गर्दै गर्दा प्रधानमन्त्री ओलीले समाजवादीसँग कुनै सल्लाह गरेनन् । स्वास्थ्यमन्त्री रहेका यादवलाई कानुनतर्फ सरुवा गरे । त्यतिबेला उनी भारत भ्रमणमा रहेका थिए । स्वास्थ्य राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई पदमुक्त गरियो । त्यतिबेला यादव वीरअस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

यस्तै, सरकारले नियुक्ति गर्ने प्रमुख पदको विषयमा समाजवादीसँग सल्लाह नै नगरी सरकारले नियुक्त गर्न थाल्यो । महत्वपूर्ण विषयमा समेत समाजवादीसँग कुनै सल्लाह नगरी नेकपा र सरकार अगाडि बढ्न थालेको छ ।

राष्ट्रिय सभाको रिक्त सदस्यका निमित हुने निर्वाचनका लागि समेत नेकपाले समाजवादीसँग सहकार्य नगरी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) सँग सहकार्य गर्ने सहमती गर्यो । जब कि राष्ट्रिय सभा निर्वाचनका लागि समाजवादीसँग मिलेर जाने तयारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । तर, यादव बंगालादेश भ्रमणमा जादै गर्दा प्रधानमन्त्री ओलीले राजपासँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमती गरे। एकपछि अर्काे गर्दै समाजवादी पार्टीलाई बेवास्ता गर्न थालेपछि उपेन्द्र यादवलाई सरकारमा बसिरहन नैतिक संकट पैदा भएको छ।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?