आज पोखरामा बैठक , नेपालका प्रस्तावमा भारत सकारात्मक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
आज पोखरामा बैठक , नेपालका प्रस्तावमा भारत सकारात्मक

सारांश

  • काठमाडौं १० माघ ।
  • नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ।
  • नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो।

काठमाडौं १० माघ । नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ। नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो। दुवै सम्झौतामा बिहीबार सहमति हुने भएको छ।

ऊर्जा, सिंचाइ तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरेले नेपालले उठाएका प्रमुख मुद्दामा भारत सहमत भएको र बिहीबार हुने सचिवस्तरीय बैठकले अन्तिम टुंगो लगाउने बताए। घिमिरेका समकक्षी तथा भारतीय विद्युत् सचिव अजय भिल्लले पनि उक्त कुरालाई पुष्टि गरे।

भारतीय विद्युत् सचिव भिल्लले आफ्नो देशको उद्देश्य नेपालसित भारतीय विद्युत् प्रसारण लाइनलाई एकाकार गराउनु रहेको बताए। ‘नेपाल–भारतको ग्रीड सिन्क्रोनाइसन (आबद्ध) गर्नु अहिलेको मुख्य कार्य हो,’ सचिव भिल्लले बुधबार दुई देशबीच भएको वार्तापछि अन्नपूर्णसित भने, ‘हामी पूर्ण प्रतिबद्ध छौं कि नेपाल र भारतबीच द्विपक्षीय विद्युत् प्रणाली सबै प्रकारले जोडिओस् र नेपालले पनि आफ्नो आन्तरिक प्रसारण लाइन सुदृढ गरोस्।’

बुधबार बैठकको नेतृत्व गरेकी भारतीय विद्युत् मन्त्रालयकी सहसचिव भारतीले पनि नेपाल र भारतबीच आगामी दिनमा विद्युत् व्यापार र आपसी सहयोग घनिष्ठ हुने बताइन्। ‘११ केभीबाट सुरु भएको हाम्रो यात्रा अब ४०० केभी र त्योभन्दा माथि क्षमतामा हुनेछ,’ भारतीय पक्षको नेतृत्व गरेकी भारतीले बैठकपछि भनिन्।

बुधबार दुई देशबीच भएको वार्तालाई बिहीबार हुने सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ। ऊर्जा सचिव घिमिरेले इनर्जी बैकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी भारतीय निर्देशिकाबारे अनुमोदन हुने बताए। बुधबार भएको वार्तामा नेपाल—भारत इनर्जी बैकिङ र सीमापार विद्युत् प्रसारण लाइन निर्माण मुख्य एजेन्डा थिए।

अघिल्लो महिना नयाँ दिल्लीमा भएको नेपाल भारत ऊर्जा आदानप्रदान समितिको १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङका लागि सहमति जनाएको थियो। उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

बुधबार भएको सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) बैठकको नेतृत्व ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले गरेका थिए। बुधबार बैठकमा सन् २०१७ को फेब्रुअरीमा काठमाडौंमा भएको सचिवस्तरीय र गत १६ अप्रिल २०१८ मा नयाँ दिल्लीमा भएको पाचौं सहसचिवस्तरीय (जेडब्लूजी) बैठकका निर्णयका समीक्षा भएको थियो।

यो बैठकमा विद्यमान ढल्केबर (नेपाल)—मुजफ्फपुर (भारत) ४०० केभी प्रसारण लाइनलाई २२० केभी र ४०० केभीमा सञ्चालन गर्नेबारे छलफल भयो। त्यसैगरी बुटबल गोरखपुर प्रसारण लाइनबारे पनि सघन छलफल भएको र बिहीबार टुंगो लाग्ने अपेक्षा गरिएको ऊर्जा सचिव घिमिरेले बताए। अन्नपूर्णपोष्टबाट

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?