वृद्ध भत्ताका सुत्राधार अधिकारीकाे विगतदेखि वर्तमानसम्म
सारांश
- काठमाडौं।
- ०५१ सालतिर नेपाली समाजमा कम्युनिष्टको सरकार आयो भने ७० वर्ष उमेर पुगेका बुढापाकालाई गोली हानेर मार्छ भन्ने भ्रम व्याप्त थियो।
- राजनीतिक रुपमा तत्कालीन नेकपा एमाले नै कम्युनिष्ट पार्टीका रुपमा चर्चामा थियो।
काठमाडौं। ०५१ सालतिर नेपाली समाजमा कम्युनिष्टको सरकार आयो भने ७० वर्ष उमेर पुगेका बुढापाकालाई गोली हानेर मार्छ भन्ने भ्रम व्याप्त थियो। राजनीतिक रुपमा तत्कालीन नेकपा एमाले नै कम्युनिष्ट पार्टीका रुपमा चर्चामा थियो। २०४८ सालमा आम निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याएर एकमना सरकार गठन गरेको थियो।
सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। पार्टीभित्र चर्को गुटबन्दी थियो। त्यही बेला हो कांग्रेसभित्र छत्तिसे र चौहत्तरे भन्ने गुट सृजना भएको । पार्टीभित्रको विवादले उग्ररुप लिएपछि निर्वाचन भएको तीन वर्षपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीमा निही अधिकार भन्दै संसद विघटन गरे। प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राजा वीरेन्द्रले नयाँ निर्वाचनको मिति तोके। तोकिएकै समयमा निर्वाचन भयो। तर निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन्। तर तत्काली एमाले संसदमा सबैभन्दा ठूलो दलका रुपमा उदायो।
ठूलो दलको हैसियतमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार गठन गर्यो। उक्त सरकारका अर्थमन्त्री थिए, भरतमोहन अधिकारी। नौ महिनासम्म सररकारको नेतृत्व गरेका मनमोहन अधिकारी नेतृत्वको सरकारलाई चर्चित र लोकप्रिय बनाउने काम भने तत्कालीन अर्थमन्त्रीका रुपमा भरतमोहन अधिकारीले गरेका थिए। भरतमोहन, मनमोहनका भाइ हुन्। अर्थमन्त्रीका रुपमा अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र वृद्धभत्ताजस्ता लोकप्रिय आर्थिक तथा सामाजिक कार्यक्रमको सुरुवात गरेका थिए।
७० वर्ष उमेर पुगेका बुढाबुढीलाई कम्युनिष्ट सरकारले गोली हान्न भन्ने भ्रम समाजमा व्याप्त गरेका बेला अधिकारीले अर्थमन्त्री हुँदा २०५१ सालमा ल्याएको ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ जस्ता कार्यक्रम लोकप्रिय भएका थिए । लोकप्रिय बजेट ल्याउने अधिकारीको जन्म महोत्तरीको भ्रमरपुरामा १९९३ साल वैशाख २२ गते भएको हो। अधिकारी पछि मोरङको विराटनगर–१० मा बस्न थालेका हुन्।
१५ वर्षको उमेरमै २००८ सालमा राजनीतिमा प्रवेश गरेका अधिकारीले आधा शताब्दीभन्दा बढी समय नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रियतासाथ योगदान पु¥याए। आन्दोलनका क्रममा चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका अधिकारी मोरङ जिल्लाबाट वि.सं. २०४८, २०५१ र २०५६ गरी तीनपटक प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भए। उनी २०६४ सालमा संविधानसभा सदस्य बनेका थिए।
अधिकारी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि ‘नेपाल अधिराज्यको संविधान २०४७’ निर्माण आयोगको सदस्य थिए।
तीनपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
उनले तत्कालीन नेकपा (एमाले)को पाँचौँ, छैटौँ, साताँै र आठाँै महाधिवेशनमा मूल आयोजक समितिको संयोजक भएर काम गरेका थिए। छैटौँ, सातौँ र आठाँै महाधिवेशनबाट स्थायी कमिटीमा निर्वाचित भएका अधिकारीले २०७१ सालको नवौँ महाधिवेशनमा पार्टी राजनीतिबाट अवकाश लिने घोषणा गरेका थिए।
त्यसपछि लेखन र अध्ययनमा लागेका अधिकारीका नेपालमा औद्योगिकीकरणका समस्या, मेरो जीवनयात्रा, मेरो जीवनयात्रा–भाग २ लगायत लेखरचना प्रकाशित छन्। अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक अधिकारी कानुन व्यवसायी पनि थिए । उनै अधिकारीकोे शनिबार राति निधन भएको छ।
फोक्सो र मुटु रोगबाट पीडित अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे निधन भएको हो। गएको माघ २४ देखि ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका अधिकारीको विगत दुई सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
दिवंगत अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि धुम्बाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा बिहान ९ देखि १२ बजेसम्म राखिने छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम रहेको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनका श्रीमती ओमकुमारी अधिकारी एवं तीन छोरी डा. लुना अधिकारी, लीमा अधिकारी र लीजा अधिकारी छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया