वाफ रे ! नत्र त केपी ओलीले यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
सारांश
- भारतले छ महिना नाकाबन्दी लगाउँदा चुप लागेको नेपाली कांग्रेस निकटका बुद्धिजीवीहरुमा यतिबेला राष्ट्रवादको भूत नराम्ररी सवार भएको छ।
- उनीहरुले सामाजिक सञ्जालमा व्यक्त गरेका भनाइहरु हेर्दा लाग्छ, यिनीहरु छन् र न यो राष्ट्र जोगिएको छ ।
- वाफ रे !
भारतले छ महिना नाकाबन्दी लगाउँदा चुप लागेको नेपाली कांग्रेस निकटका बुद्धिजीवीहरुमा यतिबेला राष्ट्रवादको भूत नराम्ररी सवार भएको छ। उनीहरुले सामाजिक सञ्जालमा व्यक्त गरेका भनाइहरु हेर्दा लाग्छ, यिनीहरु छन् र न यो राष्ट्र जोगिएको छ । वाफ रे ! नत्र त केपी ओलीले नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने ठोस अस्त्र नपाइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिएको नागरिक अभिनन्दन एउटा राम्रो मसला भएको छ। लेखक, पत्रकार, बुद्धिजीवी, पेसाकर्मी, डाक्टर, नागरिक अधिकारकर्मी आदिको आवरणमा रहेका कांग्रेसका मानिसहरुकोे छट्पटी हेर्दा उनीहरुलाई मोदी नआइदिए हुन्थ्यो, नेपाल–भारत सम्बन्ध नसुध्रिदिए हुन्थ्यो भन्ने लागेको रहेछ भनेर बुझ्न सकिन्छ। विगतमा प्रधानमन्त्रीका रुपमा ओलीले भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गर्दा ‘भारतसँगको सम्बन्ध बिगार्यो’ भन्ने यी बुद्धिजीवीहरुलाई अहिले सपार्दा झन् औडाहा भएको छ।
यिनीहरुलाई लागेको थियो, ओली लुरुलुरु भारत गएपनि मोदी कहाँ यति छिटो आउँछन्? तर, विगत केही समययता देशमा यिनीहरुले नसोचेकै मात्र भइरहेको छ। यसपटक पनि त्यस्तै भयो, मोदी आए, नेपालको प्रसंशा गरे, बिग्रिएको सम्बन्ध सहज बनाउन भूमिका निर्वाह गरेर फर्किए।
निश्चय पनि भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका बारेमा नागरिकस्तरबाटै प्रश्नहरु उठेका छन्। भारत पुग्दा हाम्रा प्रधानमन्त्रीको नागरिक अभिनन्दन भएको थिएन, मोदीको अभिनन्दन गर्नैपर्ने केही बाध्यता थिएन। उनी धार्मिक यात्रामा आएका थिए, त्यसैमा रमाउन दिँदा हुन्थ्यो। सरकारी वार्ता, वक्तव्यका कामहरु छँदै थिए। तर, मोदी जनकपुर जाने भएपछि त्यहाँ केही न केही कार्यक्रम राख्नु नै पर्थ्यो। विगतका रक्सौलबाट पसेर वीरगन्ज हुँदै सडक यात्रा गर्ने, साइकल बाँड्ने जस्ता कुराको साटो मञ्चमा राखेर माला लगाइउनेमा सीमित गरिनुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ। साथै, मधेसी दलहरुको सरकार भएको प्रदेश-२ मा अलिअलि उनीहरुले भने अनुसार नै हुन्छ भन्ने बुझेर पनि बुझ पचाउन पाइँदैन। जनकपुरमा अभिनन्दन भएपछि सम्भवतः राजधानीमा सन्तुलनका लागि त्यसकै कपी गरिएको होला।
मेरो विचारमा प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गर्नु आवश्यक छैन। क-कसलाई नागरिक अभिनन्दन गर्ने भन्नेबारेमा हामीले ‘प्रोटोकल’ बनाउनुपर्छ। गत वर्ष भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको थियो। त्यस्तो अभिनन्दन राष्ट्रपतिमा सीमित गर्नुपर्छ, कार्यकारीलाई होइन ।
एजेन्डाका रुपमा मोदीको भ्रमणमा कुनै विवादास्पद कुराहरु भएका छैनन्। नेपालले आफ्ना प्राथमिकता र जोडका बारेमा राम्ररी कुरा राखेको छ। १३ बुँदे संयुक्त वक्तव्य बोझिला औपचारिक शब्दहरुले भरिएको छैन, बरु त्यसले समय सीमासहितका केही प्रतिबद्धता बोकेको छ। सम्झौता हुने, कार्यान्वयन नहुने रोगबाट आक्रान्त नेपाल–भारत सम्बन्धलाई अलिकति भए पनि यसले गति दिने विश्वास गर्न सकिन्छ।
बरु नेपाली नेताहरुले भारतीय उच्च नेतृत्वसमक्ष आफ्ना कुरा प्रस्ट रुपमा राखेका छन्। प्रधानमन्त्री ओलीले नेपाले भोग्नुपरेका डुबान समस्या, भारतीय नोटको सटही, सम्झौता कार्यान्वयन नहुने अवस्था जस्ता विषयमा खुलेर कुरा गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले त विराटनगरमा रहेको भारतीय दूताबासको फिल्ड कार्यालय हटाउन र सीमामा देखिएका विवाद समाधान गर्न कुरा राखेको सार्वजनिक भएको छ। के यस्ता कुरा भारतसमक्ष राख्नु र उसलाई महसुस गराउनु लम्पसारवाद हो?
मोदीको भ्रमणका क्रममा सबभन्दा चित्त दुखेको कुरा हो, राष्ट्रवादमाथिको भद्दा मजाक। ‘ओलीको राष्ट्रवाद पनि देखियो, लम्पसारवादको नयाँ नमुना, राष्ट्रवादको धोती खुस्कियो’ भन्ने जस्ता अभिव्यक्तिहरु खासगरी कांग्रेस निकट बृत्तबाट यसपटक आश्चर्य लाग्ने गरी प्रकट भए। आफ्नो निम्तो मानेर आएका पाहुनालाई स्वागत सत्कार गर्नु सरकारको कर्तव्य थियो। त्यसैलाई लिएर ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउनेहरुलाई कुण्ठाग्रस्तबाहेक केही भन्न सकिन्न।
नेपालले आफ्नो संविधान आफैँ बनाएवापत भारतले लगाएको नाकाबन्दीका लागि मोदीले माफी माग्नुपर्छ भन्दै त्यसो गराउन नसकेकोमा पनि ओलीको आलोचना गरिएको छ। कुटनीतिमा कति काम भनेर होइन, गरेर देखाइन्छ। युद्धरत अवस्थामा पनि दुई देशको नेतृत्वका बीचमा कुराकानी हुन्छन्, भ्रमण आदानप्रदान हुन्छन्। नाकाबन्दीबाट भारतलाई कति फाइदा घाटा भयो, स्वयम् भारतलाई थाहा छ। आज भारत नाकाबन्दी लगाउनु गलत थियो भन्ने बुझाइमा पुगेको छ। भनिरहनै परेन, त्यसको परिणाम हाम्रो चुनावले देखाइसकेको छः नाकाबन्दीको विरोध गर्ने कम्युनिस्टहरुलाई करिब दुई तिहाई जनताले समर्थन गरे, नाकाबन्दीको समर्थन गर्ने कांग्रेसलाई नराम्रोसँग हराए।
नाकाबन्दी गरेर देखाएको अर्घेल्याइँका लागि भारतले मूल्य चुक्ता गर्नैपर्छ, क्रमशः गरिरहेको छ। आज एकाएक ओलीसँग निकट हुन खोजेर उनको पहिलो भ्रमण दिल्लीमै गराउनुपर्ने, त्यसको एक महिनापछि नरेन्द्र मोदी दौडिँदै नेपाल आउनुपर्ने, भाषणका क्रममा पटकपटक नेपाल र नेपालीको स्वाभिमानको प्रशंसा गर्नुपर्ने नाकाबन्दीकै प्रायश्चित होइन र?
भारतले भनोस् वा नभनोस्, त्यहाँका कुनै प्रधानमन्त्रीले माफी मागुन् वा नमागुन्, नाकाबन्दी भारतले नेपालका विरुद्धमा गरेको गल्ती थिएन, अपराध थियो। यो कुरा बुझ्न भारतलाई केही समय लागेमा आश्चर्य मान्नु पर्दैन। किनभने, हाम्रै देशको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसलाई त नाकाबन्दी भन्नका लागि दुई वर्ष लाग्यो भने भारतले तात्तातै भनिहाल्छ भन्ने अपेक्षा कति पूरा होला?
भारतीय नाकाबन्दी नेपाली जनजनका मनमा खिल बनेर गढेको छ। लोकमानसिंह कार्की आफ्ना विरुद्ध किन खनिए भन्नेबारेमा सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कोषराज वन्तले सुनाएको एउटा प्रसंग स्मरणीय छ। नाकाबन्दीविरुद्ध आयोजित प्रदर्शनमध्ये भारतले स्कुले वालबालिकाहरुको जुलुश नहोस् भन्ने चाहेको रहेछ। कारण के रहेछ भने, आज स्कुलमा पढ्दै गरेका १०–१५ वर्षका बच्चाहरुले आफू भारतीय नाकाबन्दीका विरुद्ध (अझ भारतका विरुद्ध) त्यसरी जुलुशमा गएको आजीवन भुल्दैनन्। भोलिका दिनमा देश चलाउने यिनैमध्येबाट हो। मनमा त्यस्तो कुरा गढिसकेपछि सधैंभरि आफूलाई गार्हो पर्छ भन्ने भारतलाई परेको रहेछ। तर, उसको चाहना पूरा भएन र काठमाडौँमा लाखौं बालबालिकाले विद्यालय पोशामा प्रदर्शन गरे। यो छाप कसैले मेटाउन सक्ने छैन।
भारतसँगको सम्बन्धका बारेमा प्रधानमन्त्री ओली आफैं संवेदनशील छन्। नाकाबन्दीका बेला कठोरतापूर्वक बोल्दा पनि उनले कुनै आधारमा नटेकेर बोलेका थिएनन् र अहिले व्यवहार गर्दा पनि बिनाआधार गरेका छैनन्। जस्तो, भारतीय पक्षको चाहना अरुण तेस्रो जलस्रोत आयोजनाको शिलान्यास ओलीको भ्रमणका बेला दिल्लीबाटै गर्ने भन्ने थियो। आयोजना नेपालमा बनेपनि त्यसको ‘रिमोट कन्ट्रोल दिल्लीमै छ भन्ने सन्देश जान्छ’ भन्दै ओली स्वयमले त्यो मानेनन्। ‘दिल्लीबाट अरुण तेस्रो शिलान्यास होला, अनि देख्यौ ओलीको राष्ट्रवाद?’ भनौंला भन्ने पर्खेर बसेकाहरुलाई ओलीले निराश बनाए। देख्दा सामान्य लागेपनि भित्रभित्रै यस्ता तमाम कुराहरुका बारेमा ओली स्वयम्ले ध्यान पुर्याएका छन्। जस्तो, ओली ‘रामायण सर्किट उद्घाटन गर्न जनकपुर पुगे, मोदीलाई स्वागत गर्न विमानस्थल पुगेनन्। समय नपुगेर उनी विमानस्थल नगएका होइनन्। यस्ता कुरामा उनले ध्यान पुर्याएका छन् ।
मोदीको नेपाल भ्रमणको बेला जसरी राष्ट्रवाद शब्द प्रयोग गर्दै ओलीमाथि प्रहार गरिएको छ, यसले उनलाई केही फरक पार्ला नपार्ला। तर हाम्रो राष्ट्रिय भावनामाथि चाहिँ आघात पुर्याउँछ। कुनै पनि मुलुकका बासिन्दाका लागि राष्ट्रवाद यति सस्तो र भद्दा हुनै सक्दैन।
(विष्णु रिजालले नेेपाल खबरमा लेखेका छन । )
Titus Thami
ए मेरा नेपाल अामाका वीर सेना हाे के तपाईं हाम्रो पुखाले कमाई राखेकाे विश्व थकाउने बाहादुरिलाई माटाेमा मिलाइएको हाे?
Shahi Mukeshwor
aba ta bhayena hai ati bhayo rajtantra farkauunu paryo haI nepali janta yo kp oli pani chor deshdohi bhatuwa niskiyo ……..
Raghunath Mishra
DARSAN…बर्तमान सरकार र सम्माननिय प्रधानमंत्री केपी ओलीज्यू बिरुद्ध धारेहात लगाई उछितो काड्ने गोयबल्सका खनातीतुल्य प्रोपोगाण्डा मास्टरहरु चारथरी छन् १)नाकाबन्दीको सिधा वा घुमाउरो समर्थन गर्नेहरु,जो युरोपियन युनियन,क्रिश्चियन मिशन,अमेरिकन लगायत जातिय हिंसा भड्काउने षडयन्त्रमा तल्लिन छन,पश्चिमा आईएनजिओ मार्फत देशको सूचना बेचेर अरबौं डलर हसुर्ने यस्ता चीनबिरोधी फ्रि तिब्बतवाला वास्तविक राष्ट्रघातीहरु ओलीज्यूप्रति आगो ओकल्दैछन २) चीनसँग ओली सरकारको सुमधुर सम्बन्ध बिगार्न चाहने भारतिय खुफिया संस्था रअका अण्डर कभर एजेन्टहरु पाकेटमारले भर्खरै पर्स चोरिएको पिडीत पेसेन्जरलाई बगलीमारा भन्दै झम्टिए झैं ओली मोदीको काखपोल्टामा लुट्पुटिएको फजूल हाहाकार मच्चाउँदै छन् ३)राष्ट्रीय राजनीति,अन्तर्राष्ट्रिय मामिला,बदलिंदो विश्व व्यवस्थाको छेउटुप्पो नबुझेका एकाथरी राजनीतिक दूधे बालकहरु छन्,जो घिसेपिटे अखबारी र साहित्यिक चेतनाको निम्छरो बलमा ठसठसी.कन्दै औंसी पूर्णेमा ताई न तुईको लेख लेख्छन,त्यस्ता कच्चा ग्यानका पण्डितहरुले सामाजिक संजालमा राष्ट्रवादी र जनमुखी ओली सरकारबिरुद्ध झाडाबान्ता गर्दैछन ४) दुष्प्रचारको कुहिरोमा काग झैं रुमल्लिएका सोझा,अकिंचन तर भ्रमित राष्ट्रवादीहरु फट्टिचर प्रोपोगाण्डा किंगहरुको ओलीबिरोधी बोलीमा नजानेरै लोली मिलाउँदै बिभिन्न मिडीयामा लौ बित्याँस पर्यो भन्दै डाँको छाडेर रुँदैछन्/पछिल्लो समय अमेरिकन ट्रम्प प्रसाशनसँग सम्बन्ध.चिसिएपछी मोदी पुनः एसियन ब्लकमा उभिएर चिनिया राष्ट्रपति सी जिन पिंग र रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग हात मिलाउन बाध्य भए/यतिबेला सी,पुटिन,किम,मुन,सिन्जो आबे,यर्दोगान,रुहानी,असद,डुटुर्गे,अब्बासी,ओली लगायत राष्ट्रवादी शासकहरु पश्चिमा प्रायोजित युद्ध,बिभाजन,ड्रग्स तस्करी,हतियार कारोबार,साम्प्रदायिक भिडन्त,ईसाई मिसन बिरुद्ध युनिफाईड,शान्त,बलियो र विकसित एसियाको पक्षमा खडा भएपछी बगलबाट अलगिएको एकलकाँटे बाँदरको नियति नभोग्न मोदी पनि त्यहाँ कुम जोड्न पुगेका हुन्/कोरियाली प्रायद्विपमा शान्तिको नवकिरण देखिनु,ईजरायल ईरान तनावमा अमेरिकन खेल्ने स्पेस घटाउन पुटिनको सक्रियता,चीन भारत तनाव सिथिलीकरण र सम्बन्ध सुधार,चीनको चाहना अनुरुप नेपाल,चीन भारतको बिचमा त्रिदेशीय विकास साझेदारी निर्माण हुनुले पश्चिाहरुको निद हराम भयो/अमेरिकन युरोपियन पावर सेन्टरलाई रिप्लेस गर्दै उदाएको चीन रुस नेतृत्वको समाजवादमुखी नयाँ विश्व व्यवस्थामा जोडिएर देशको रक्षा र विकासमा लम्किएको ओली बिरुद्ध हलाहल काटकुट बिष ओकल्नेहरु नेपालको शान्ति,स्थिरता,समृद्धि र विकासका कट्टर बैरी हुन्/समाजवादका ज्यानी दुश्मन उनीहरु चिनीया रेल र तेल नेपालमा भित्रिएर देश र जनता धनी र बलियो भए आफ्नो देशद्रोही धन्दाको सटर बन्द हुने खतराले विक्षिप्त भई ओली सरकारबिरुद्ध बर्बराउँदै छन्/सच्चा देशभक्त समाजवादीहरु एकगठ भएर ईण्डो वेस्ट श्यालहुईंयालाई डिफ्युज पारौं/आउनुस,यो कालो गोयबल्स प्रचारको विषालु जहर पिएर बरु आधुनिक निलकण्ठ बनौं र महान मातृभूमि नेपालको सुरक्षा र विकास गरौं/
Ajay Sharmasharma
जनकपुर को र काठमाडौं को चाबि त भारतिया प्रधानमन्त्री लाइ बूझाइ यो नेपाल रास्टिय बैक मा रद्दि को टोकरी मा रहेका भारू नोट किन बूझाइन सरकार
राज बिरजंग राणा
बिरोध ओलीको होइन एडमिन ज्यु र छिमेकी राष्ट्रय भारत को पनी होइन तपाइ यस्तो बखेड़ा झिकेर आफुलाइ बुध्दीजिबी साबित गर्न न खोज्नुस। तपाईहरु को पेसा भनेको दुत लाइ दुत र पानी लाइ पानी भनेर छुट्याउनु पर्ने हो। र त्यो नै सच्चा देश भक्त पत्रकारको को धर्म हो। हेर्नुस त त्यहॉ नेपाली राष्ट्रय झण्डाको को रुप…के तपाइ यो कुरालाइ सहजै स्वीकार्नु हन्छ त? कृपया तपाइहरुको ठुलो भुमिका छ तसर्थ सोचेर लेख्ने गर्नु पर्यो… जय नेपाल
Suresh Shrestha
Ole la fari kun thau dena lagaxa bharat lai