राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता
सारांश
- काठमाडौं।
- राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ।
- मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो।
काठमाडौं। राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो।
एकतापछि पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ। पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए। उनले भने,‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ।’
मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पारे ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको वैकल्पिक शक्ति निर्माणको महान उद्देश्यसहित बहुजातीय लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई मियो बनाएर नैतिक इमान्दारिता सहितको राजनीतिक संस्कृति कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकीकरण भएको घोषणाको जानकारी दिन चाहन्छौ ।’
कार्यक्रममा पार्टीका नेता मेखराज परियार (खाती) ले पार्टीले पूर्ण समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, समानता र समाजवादको लक्ष्य लिएको सुनाए । त्यस्तै, बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाईने उनको भनाई छ ।
कार्यक्रममा पार्टीका बरिष्ठ नेता डिके बुद्धिष्ट, अर्का नेता यामबहादुर बुढाथोकी र केन्द्रिय सदस्य निर्मल मग्रातीलगायतले पार्टीको भावी योजना र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
ठूला सत्ताधारी दलहरूले बहुलतालाई नकारी एकल नश्लीय सोचमा देशलाई अशान्तितर्फ धकेल्ने चेष्टा गरिरहेको पनि उक्त पार्टीले आरोप लगाएको छ । सत्तासीन दलहरूमा मुलुक निर्माण गर्ने दक्षता र आचरण दुवै नभएको पनि उसले आरोप लगाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया