एभिन्यूज टेलिभिजनलाई स्पष्टिकरण, ३ दिनभित्र जवाफ दिन निर्देशन
सारांश
- प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।
- उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकार सुशिल पाण्डेले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो ।
- एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।
प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।
उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकार सुशिल पाण्डेले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो । एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।
कार्यकर्तालाई संयमित रहन निर्देशन
समाजवादी पार्टी नेपालले एक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो ।
अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ । सो पार्टीले पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्या्दित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिलसमेत गरेको छ ।
आइतबार सकस राजनीति नाम राखिएको एउटा कार्यक्रममा कार्यक्रम सञ्चालक सुशील पाण्डेले अभद्र व्यवहार गरेको भन्दै कार्यक्रमका अतिथि उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्यक्रम नै बहिस्कार गरेर माइक फालेर हिडे । कार्यक्रम सञ्चालक पाण्डेले यादवलाई उनको नवगठित पार्टी र सरकार मुछिएको भष्टाचारको विषयमा प्रश्न गर्दा सञ्चालकको प्रश्न गर्ने शैली ठाडो र अभद्र भएको भन्दै यादव रन्किएका थिए ।
प्रतिक्रिया